२१ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको दाबी गरिरहँदा त्रिपुरासुन्दरी भने अझै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
मन्त्रालयका अनुसार देशभरका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी रिक्त रहेका १४५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको छ । तर, उपसचिवस्तरको दरबन्दी रहेको त्रिपुरासुन्दरी नगरपालिकामा भने सातौँ तहका अधिकृतले निमित्तका रूपमा कार्यालय सञ्चालन गरिरहेका छन् ।
जिल्लाका अन्य स्थानीय तहहरूले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पाइसक्दा त्रिपुरासुन्दरी भने अझै वञ्चित छ ।
आठ स्थानीय तह रहेको जिल्लामा अन्य सात स्थानीय तहले भने दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पाइसकेका छन् ।
लामो समय प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेको त्रिपुरासुन्दरीमा गत असोजमा मन्त्रालयले दरबन्दी अनुसार उपसचिव नोखीराम वलीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको थियो ।
पठाएको केही महिनामै उनको सरुवा भयो । त्यसपछि रिक्त भएको उक्त पालिकामा गत पुस १८ गते शाखा अधिकृत हरिबहादुर खत्रीलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो ।
पठाएको झण्डै एक महिनासम्म स्वास्थ्यको समस्या देखाई खत्री त्यहाँ जान मानेनन् । पछि पालिकाका जनप्रतिनिधिले आउनु पर्यो भनी दबाब दिएपछि उनी गएका थिए । उनी गएको केही दिनमा उनको पदस्थापना भयो । त्यसपछि उनी पनि सरुवा भए ।
प्रमुख प्रशासकीय अधिकृत रिक्त भएर कामकाजमा समस्या भएपछि कार्यपालिकाले निर्णय गरेर पालिका भित्रका सबै भन्दा सिनियर कर्मचारी स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुलाई निमित्तको जिम्मा दिन भन्दै मन्त्रालयलाई परिपत्र गरेको थियो । अहिले उनै पनेरुले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।
नयाँ सरकार गठन लगत्तै सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाली रहेकी मन्त्री प्रतिभा रावलले देशभरका ७५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति गरेको दाबी गरे पनि त्रिपुरासुन्दरीमा कोही नखटाइएको त्रिपुरासुन्दरी एक वडा अध्यक्षले जानकारी दिए । ‘नयाँ सरकारले रिक्त रहेका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको दाबी गरे पनि त्रिपुरासुन्दरीमा भने पठाएको छैन’, उनले भने, ‘हाम्रो पालिकामा पनि दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइन्छ कि भन्ने चाहिँ लागेको थियो तर कोही खटाइएन ।’
त्रिपुरासुन्दरीमा लामो समयदेखि स्थायी अधिकृत नहुँदा प्रशासनिक कामकाज प्रभावित बनेको छ भने सेवा प्रवाह, योजना कार्यान्वयन र निर्णय प्रक्रियामा ढिलाइ भइरहेको त्रिपुरासुन्दरीका स्थानीयवासीको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत नटिक्दा आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा अहिलेसम्म त्रिपुरासुन्दरीले पुँजीगततर्फ कुल बजेटको ५.२ प्रतिशत मात्रै खर्च गरेको छ ।
त्रिपुरासुन्दरीका नगर प्रमुख जनचन्द्र रोकायले पालिकामा खटाइएका जनप्रतिनिधि लामो समयसम्म नटिक्दा बजेट खर्च सोचेजस्तो हुन नसकेको स्वीकार गरे । ‘लामो समय प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सम्झौता देखि बजेट खर्चमा समस्य भइरहेको छ’, उनले भने, ‘खटाइएका कर्मचारी टिक्दैनन् नयाँ आउन मान्दैनन् अनि कसरी बढ्छ कामकाज ।’
स्थानीयका अनुसार पटक–पटक अधिकृत खटाइए पनि टिकाउ नहुने समस्या दोहोरिँदै आएको छ । यसले नगरपालिकाको समग्र कार्यक्षमता कमजोर बनाउने जोखिम बढाएको उनीहरूको भनाइ छ ।
सरकारले कागजमा कर्मचारी व्यवस्थापन पूरा भएको दाबी गरे पनि दुर्गम भेगका स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
त्रिपुरासुन्दरीको स्थानीयवासीले दुर्गम क्षेत्रमा स्थायी प्रमुख प्रशासकीय अधिकृतको सुनिश्चितता नगरेसम्म सेवा प्रवाह प्रभावकारी हुन नसक्ने बताएका छन् ।
प्रतिक्रिया 4