२१ चैत, सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नेपाली विषयको दोस्रो दिनको परीक्षामा अनुगमन गर्दै प्रशासनले सिरहामा कडाइ गरेको छ ।
शुक्रबार गरिएको अनुगमनsf क्रममा जिल्लाका ९ वटा परीक्षा केन्द्रबाट १९४ मोबाइल फोन र २ थान स्मार्ट वाच बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
परीक्षा मर्यादा उल्लंघन भएको पाइएपछि मोबाइलसहित भेटिएका २ जना केन्द्राध्यक्ष र अन्य ४ जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
निष्कासित हुनेमा बालमन्दिर माध्यमिक विद्यालयका केन्द्राध्यक्ष संजय यादव र जनता माध्यमिक विद्यालय फुलबरियाका केन्द्राध्यक्ष रामकिशोर यादव रहेका छन् ।
इकाइ प्रमुख दीपक राज कनौलीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले परीक्षा अमर्यादित बनाउने प्रयास देखेपछि तत्काल कारबाही गरेको हो ।
विगतमा सिरहाका परीक्षा केन्द्रहरूमा सेटिङ, प्रभाव र विचौलियाको सक्रियता देखिँदै आएको थियो, जसले परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो । यस वर्ष त्यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाइएको छ ।
यस वर्ष सिरहाबाट कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्, जसमा १० हजार ६२५ जना साधारण र ४१२ जना प्राविधिक धारका छन् । परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन् । जिल्लामा ५१ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया 4