जेनेभा विश्वविद्यालयका वैज्ञानिकहरूले शरीरभित्र एउटा सानो कम्प्युटरझैँ काम गर्ने ‘स्मार्ट’ औषधि प्रणाली विकसित गरेका छन् । सिन्थेटिक डीएनएबाट बनेको यो औषधिले क्यान्सरका कोषिकालाई मात्र नष्ट गरेर स्वस्थ कोषिकालाई जोगाउँछ ।
यो खोज हालै प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर बायो टेक्नोलोजी’ मा प्रकाशित भएको छ ।
कसरी काम गर्छ ?
यो प्रणालीले कम्प्युटरको ‘लजिक गेट’ सिद्धान्तमा काम गर्छ । डिजिटल बैंकिङमा ‘टु–फ्याक्टर अथेन्टिकेसन’झैँ यो औषधि पनि त्यसरी नै सक्रिय हुन्छ :
डबल स्विच प्रणाली : औषधिमा फरक–फरक डीएनए रेखा हुन्छन् । जब यसले क्यान्सर कोषिकाको सतहमा रहेका दुईवटा विशिष्ट ‘मार्कर’ फेला पार्छ, तब मात्र यो सक्रिय हुन्छ ।
सटिक सक्रियता : यदि दुईमध्ये एउटा मात्र संकेत भेटियो वा संकेत भेटिएन भने औषधि निष्क्रिय रहन्छ । यसले गर्दा क्यान्सर नभएका स्वस्थ कोषिकाहरू सुरक्षित रहन्छन् ।
चेन रियाक्सन : क्यान्सर कोषिका भेटिने बित्तिकै यसले एक प्रकारको चेन रियाक्सन सुरु गर्छ । जसले गर्दा ट्युमर भएको ठाउँमा औषधिको मात्रा बढ्छ र उपचार बढी प्रभावकारी हुन्छ ।
यसका फाइदा
परम्परागत केमोथेरापीले क्यान्सरसँगै स्वस्थ कोषिकालाई पनि नष्ट गर्छ, तर यो स्मार्ट औषधिले भने स्वस्थ भागमा कुनै असर गर्दैन । त्यसैगरि, यो औषधि एन्टिबडीभन्दा धेरै सानो हुने भएकाले ट्युमरको भित्री भागसम्म सहजै पुग्नसक्छ ।
यसले एकैसाथ धेरै प्रकारका औषधि बोकेर लैजानसक्छ, जसले क्यान्सरले औषधिविरुद्ध विकास गर्ने प्रतिरोधी क्षमतालाई परास्त गर्न मद्दत पुग्छ ।
भविष्यको ‘प्रोग्रामेबल’ औषधि
यस अध्ययनका मुख्य लेखक प्रोफेसर निकोलस विन्सिन्जरका अनुसार अहिलेसम्म नयाँ औषधि डिजाइन गर्न कम्प्युटर र एआईको सहयोग लिनुपर्ने झन्झट पनि समाप्त भएको छ । अब यो औषधि आफैँले जैविक संकेत बुझेर हिसाब गर्न र बुद्धिमानीपूर्वक प्रतिक्रिया दिनसक्छ ।
यो प्रविधिले भविष्यमा ‘पर्सनलाइज्ड मेडिसिन’का लागि नयाँ ढोका खोलेको छ । वैज्ञानिकहरूले यसलाई थप परिष्कृत बनाउँदै लैजाने र भविष्यमा शरीरभित्रै निर्णय लिन सक्ने अझ जटिल ‘स्मार्ट’ औषधि बनाउने लक्ष्य राखेका छन् ।
प्रतिक्रिया 4