News Summary
Generated by OK AI. Editorially reviewed.- मञ्जुश्री ट्रेल रेसको छैटौं संस्करण २०८३ वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
- प्रतियोगितामा १०० माइल्स, ८० किमी, ५० किमी, २० किमी र १० किमी गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।
- १०० माइल्स, ८० किमी र ५० किमी विधा अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघबाट मान्यता प्राप्त छन् ।
२२ चैत, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र चर्चित ट्रेल रेसमध्ये एक मानिएको मञ्जुश्री ट्रेल रेसको छैटौं संस्करण आगामी वैशाख पहिलो साता आयोजना हुने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिँदै प्रतियोगिता आगामी अप्रिल १७ देखि १९ (२०८३ वैशाख ४ देखि ६) सम्म सञ्चालन हुने जनाएको हो । रेस चन्द्रागिरीस्थित पातले वन रिसोर्टबाट सुरु भई काठमाडौं उपत्यकाका विभिन्न ट्रेल पार गर्दै पुनः सोही स्थानमा समाप्त हुनेछ ।
मञ्जुश्री ट्रेल रेसका अध्यक्ष नारायण आचार्यका अनुसार यस संस्करणमा पनि विगतझैँ १०० माइल्स, ८० किमी, ५० किमी, २० किमी र १० किमी गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।
रेस निर्देशक आदर्श मिश्रका अनुसार १०० माइल्स, ८० किमी र ५० किमी विधा अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघ (आईटीआरए) बाट मान्यता प्राप्त छन् । साथै, यी इभेन्टहरू युटिएमबी तथा एसिया ट्रेल मास्टर्स सिरिजअन्तर्गत पनि समावेश छन् । १०० माइल्स र ५० किमी एसिया ट्रेल मास्टर्सका लागि छनोट प्रतियोगिता रहनेछन् भने ८० किमी एसिया ग्रान्ड मास्टर्सका लागि छनोट हुनेछ । त्यस्तै, १०० माइल्स अल्ट्रा ट्रेल मोन्टा रोसा (युटिएमआर) का लागि पनि छनोट प्रतियोगिता रहने मिश्रले जानकारी दिए ।
हालसम्म प्रतियोगितामा ४८० नेपाली र १११ विदेशी गरी कुल ५९१ धावकले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ । औपचारिक दर्ता बन्द भइसके पनि केही खेलाडीका लागि पुनः सीमित अवसर खुला गरिएको मिश्रले बताए ।
मञ्जुश्री ट्रेल रेसमार्फत नेपालका धेरै अल्ट्रा धावक अन्तर्राष्ट्रिय स्तरमा परिचित भएका छन् । अर्जुन कुलुङ राई, मनकुमार रोका मगर, निर्मला राई, प्रिया राई र रसिला तामाङलगायत खेलाडीहरूले यस रेसमार्फत उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सफलता हासिल गरेका छन् ।
रेसकी ब्रान्ड एम्बासडर रसिला तामाङले ‘ग्रिनर फ्युचर’ अभियान सञ्चालन गर्दै ट्रेल रनिङलाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिएकी छिन् । उनका अनुसार धादिङको धुनीबेशी क्षेत्रमा हालसम्म तीन हजार बिरुवा रोपिएको छ र यो सङ्ख्यालाई १० हजार पुर्याउने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताबाट विदेशी धावक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्न सकिने तथा नेपाली धावकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिता आयोजना गर्न करिब ४० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि स्रोत अभावका कारण यस वर्ष २० देखि २५ लाख रुपैयाँभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष आचार्यले बताए । नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाले सहयोग गरेकोमा उनले आभार व्यक्त गरे ।
गत वर्ष नगद पुरस्कार राखिएको भए पनि यस पटक बजेट अभावका कारण नगद पुरस्कार नराखी गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ । आगामी संस्करणहरूमा भने पुनः नगद पुरस्कार समावेश गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
मञ्जुश्री ट्रेल रेस धार्मिक तथा ऐतिहासिक कथासँग समेत जोडिएको छ । मञ्जुश्रीसँग सम्बन्धित काठमाडौं उपत्यकाको उत्पत्तिको कथालाई आधार मानेर रेसको नामकरण गरिएको अध्यक्ष आचार्यले बताए ।
उनका अनुसार प्रतियोगिताको उद्देश्य साहसिक तथा वातावरणमैत्री खेलमार्फत पर्यटन प्रवर्द्धन गर्नु, नेपालको प्राकृतिक सौन्दर्य विश्वसामु प्रस्तुत गर्नु, स्थानीय समुदायका धावकलाई सशक्त बनाउनु तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु हो ।
“यो केवल प्रतिस्पर्धा मात्र होइन, दिगोपन र सचेतनाको अभियान पनि हो,” आचार्यले भने ।
सुरुवातमा ७ जनाबाट सुरु भएको यो रेस अहिले सयौँ सहभागी भएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा परिणत भइसकेको छ । आगामी दिनमा यसलाई अझ व्यापक बनाउने लक्ष्य आयोजकले लिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष नारायण आचार्य, रेस निर्देशक आशिष मिश्र, ब्रान्ड एम्बासडर रसिला तामाङ, बोर्ड सदस्य जीवन लामा, साशा श्रेष्ठ र दीवकर शाहलगायतले प्रतियोगिताबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया 4