२३ चैत, काठमाडौं । शिकागो विश्वविद्यालयका स्नातक तहका १० जना विद्यार्थीहरूले खगोल विज्ञानको क्षेत्रमा एउटा ठूलो सफलता हासिल गरेका छन् । उनीहरूले ब्रह्माण्डको उत्पत्ति ताका बनेको एउटा अत्यन्तै पुरानो तारा हाम्रो आकाशगंगा ‘मिल्की वे’भित्र घुमिरहेको अवस्थामा फेला पारेका छन् ।
यो तारा हाम्रो आकाशगंगामा जन्मिएको नभई छिमेकी ग्यालेक्सीबाट बसाइँ सरेर यहाँ आएकाले वैज्ञानिकहरूले यसलाई ‘एन्सियन्ट इमिग्रान्ट’ ताराको संज्ञा दिएका छन् ।
कसरी भयो यो खोज ?
प्रोफेसर एलेक्स जीको ‘फिल्ड कोर्स इन एस्ट्रोफिजिक्स’ विषय पढिरहेका विद्यार्थीहरूले स्लोन डिजिटल स्काई सर्भे (एसडीएसएस)को विशाल डाटासेट अध्ययन गर्ने क्रममा यो तारा फेला पारेका हुन् ।
विद्यार्थीहरू चिलीस्थित ‘लास काम्पानास अब्जर्भेटरी’मा अवलोकनका लागि गएका बेला २१ मार्च २०२५ को रात यो तारा (एसडीएसएस) जे०७१५-७३३४० पहिलोपटक उनीहरूको नजरमा परेको थियो ।
सुरुमा १० मिनेट मात्र अवलोकन गर्ने योजना भए पनि ताराको अनौठो प्रकृतिका कारण उनीहरूले लगातार तीन घण्टासम्म यसको अध्ययन गरेका थिए ।
किन विशेष छ यो तारा ?
१. अत्यन्तै शुद्ध बनावटस् यो तारा लगभग पूर्ण रूपमा हाइड्रोजन र हिलियमले बनेको छ । यसमा सूर्यको तुलनामा ‘धातु’ (हाइड्रोजन र हिलियमभन्दा गह्रौं तत्वहरू) को मात्रा मात्र ०.००५ प्रतिशत छ। यो अहिलेसम्म फेला परेका ताराहरूमध्ये सबैभन्दा कम धातु भएको तारा हो ।
२. ब्रह्माण्डको टाइम क्याप्सुलस् कम धातु हुनुको अर्थ यो तारा ब्रह्माण्डमा ताराहरू बन्ने सुरुवाती चरणमै बनेको हो । यसले ब्रह्माण्डको प्रारम्भिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिने छ ।
३. अर्को ग्यालेक्सीमा अवस्थित : युरोपेली अन्तरिक्ष एजेन्सीको तथ्याङ्क प्रयोग गरेर यसको मार्ग पछ्याउँदा यो तारा ‘लार्ज म्यागेलानिक क्लाउड’ नामक छिमेकी आकाशगंगाबाट अर्बौं वर्ष पहिले मिल्की वेमा आएको पुष्टि भएको छ ।
दुर्लभ रासायनिक सङ्केत
यस तारामा कार्बनको मात्रा यति कम छ कि अत्याधुनिक उपकरणले पनि त्यसलाई ठम्याउन सकेनन् ।
प्रोफेसर जीका अनुसार यस्तो विशेषता भएको तारा ब्रह्माण्डमा अहिलेसम्म एकपटक मात्र देखिएको थियो । यसले प्रारम्भिक ब्रह्माण्डमा ‘कस्मिक डस्ट’ को छिटाले तारा निर्माणमा कस्तो भूमिका खेलेको थियो भन्ने नयाँ आधार प्रदान गरेको छ ।
विद्यार्थीहरूको भविष्य
यो खोजमा संलग्न विद्यार्थीहरू नाताली ओरान्टिया र हा डो अब खगोल विज्ञानमै उच्च शिक्षा हासिल गर्ने तयारीमा छन् ।
एसडीएसएस-भीका निर्देशक जुना कोल्मेयरले विद्यार्थीहरूको यो सफलताले विज्ञानमा सबैको समान अधिकार रहेको र ठूला तथ्याङ्कको प्रयोगबाट नयाँ पुस्ताले संसारलाई चकित पार्न सक्ने प्रमाणित गरेको बताए ।
प्रतिक्रिया 4