२३ चैत, काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानले अमेरिकाको एक एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्यो । विमान खसेपछि त्यसमा रहेका चालक दलका सदस्यलाई बचाउन अमेरिकी सेनाले ४८ घण्टा लामो अत्यन्तै जोखिमपूर्ण ‘रेस्क्यु अपरेसन’ चलाउनुपर्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मिसन सफल भएको र आफ्ना अधिकारीलाई सुरक्षित निकालिएको पुष्टि गरेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अमेरिकाले साहसिक काम गरेको भन्दै ट्रम्पको प्रशंसा गरेका छन् ।
यद्यपि, यो सफलताका बीच अमेरिकाका लागि केही गम्भीर चुनौती र सन्देशहरू पनि सतहमा आएका छन् ।
के भएको थियो घटना ?
गत शुक्रबार इरानले आफ्नो भूमिमा प्रवेश गरेको अमेरिकाको अत्याधुनिक ‘एफ–१५ ई’ लडाकु विमान खसालेको थियो । आइतबार बिहान राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै एक घाइते पाइलटलाई सुरक्षित उद्धार गरिएको बताएका थिए । उनले यसलाई ‘बहादुरी र कौशलको अद्भुत प्रदर्शन’ भनेका छन् ।
यस अभियानमा इजरायलले पनि सहयोग गरेको बताइएको छ, जसका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई बधाई दिएका छन् ।
यस घटनाले मुख्य चार सन्देश दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ती सन्देशहरु यस्ता छन्–
१. इरान अझै पराजित भएको छैन
अमेरिकी राष्ट्रपतिले यसलाई ठूलो सैन्य विजयका रूपमा प्रस्तुत गरे तापनि, ४८ घण्टासम्म चलेको यो नाटकीय घटनाले इरान अझै पनि अमेरिकालाई ठूलो क्षति पुर्याउन सक्षम छ भन्ने देखाएको छ । ५ हप्तादेखि जारी युद्धमा इरानले अमेरिकी विमान खसाल्नुले उसको प्रतिरोध क्षमता जीवितै रहेको प्रमाणित गर्छ ।
२. इरानको जमिनमा ओर्लिनु सहज छैन
इरानले खसालेको अमेरिकाको ‘एफ–१५ ई’ विमानका एक पाइलटलाई बचाउन अमेरिकाले आफ्नै दुईवटा विमान नष्ट गर्नुपरेको थियो । ह्वाइट हाउसले इरानको खार्ग टापु कब्जा गर्ने वा जमिनमुनि रहेको युरेनियम भण्डार नियन्त्रणमा लिने योजना बनाइरहेका बेला यो घटनाले इरानको जमिनमा ओर्लिन अमेरिकालाई कति महँगो पर्नसक्छ भन्ने संकेत गर्दछ ।
३. अमेरिकी विमान खसालिनु एक दुर्लभ र ठूलो मनोवैज्ञानिक धक्का
सन् २००३ को इराक युद्धपछि पहिलो पटक शत्रु राष्ट्रले अमेरिकी युद्धक विमान खसालेको हो । अमेरिका र इजरायलको तुलनामा इरान कमजोर मानिए पनि, २३ वर्षपछि अमेरिकी विमान खसाल्न सफल हुनुले विश्वभर एउटा नयाँ न्यारेटिभ स्थापित गरिदिएको छ । यसबाट अमेरिकी विमान खसालिनु एक दुर्लभ र ठूलो मनोवैज्ञानिक धक्का भएको टिप्पणी हुने गरेको छ ।
४. अमेरिकी–इजरायली वायुसेनाको सुरक्षा रणनीतिमा प्रश्न
अहिले अमेरिका र इजरायलले इरानमा दैनिक ३०० देखि ५०० पटक बमबारी गरिरहेका छन् । तर, एफ–१५ ई जस्तो शक्तिशाली विमान खसालिएपछि उनीहरूको हवाई वर्चस्व अजेय नरहेको स्पष्ट भएको छ । यो घटनाले अमेरिकी र इजरायली वायुसेनाको सुरक्षा रणनीतिमाथि प्रश्न उठाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सोमबार ओभल अफिसमा सैन्य कमाण्डरहरूसँग पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । यो घटनाले मध्यपूर्वको युद्धलाई थप जटिल र आक्रामक मोडमा लैजाने निश्चित देखिएको छ ।
प्रतिक्रिया 4