News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर भएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ६ बुँदे सुझाव दिएको छ।
- नयाँ सरकार गठनपछि नेप्से परिसूचक २९६० बाट २७ सय हाराहारीमा झरेको छ भने सोमबार प्रारम्भिक कारोबारमा सुधार देखिएको छ।
- एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई पूँजी बजारमा सहज प्रवेश र बाहिरिने व्यवस्था गर्न, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न र सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यविधि कार्यान्वयन गर्न सुझाव दिएको छ।
२३ चैत, काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ ।
नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ । सोमबारको प्रारम्भिक कारोबारमा भने बजारमा सुधार देखिएको छ ।
बिहान भएको भेटवार्ताका क्रममा एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा पूँजी बजार प्रवेश र बाहिरिने व्यवस्था गर्न सुझाव दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था छ ।
त्यस्तै गैरआवासीय नेपालीलाई सहज रुपमा दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गर्न, नयाँ बजेटमार्फत हाल कायम पूँजीगत लाभरलाई अन्तिम भनेर सम्बोधन गर्न माग गरिएको छ । सरकारी संस्थानहरुमा विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउन एसोसिएसनले माग गरेको छ ।
सेटलमेन्ट ग्यारेन्टी फन्ड प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको स्मरण गराउँदै सो कार्यविधि लामो समयदेखि कार्यान्वयनमा आउन नसकेकाले कार्यान्वयनका लागि नियामक निकायलाई निर्देशन गर्न एसोसिएसनले माग गरेको छ ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्ने सरकारको जिम्मेवारी रहेको बताउँदै सुशासनका काम धमाधम अघि बढ्ने उल्लेख गरे । अपराध गरेकालाई उन्मुक्ति नहुने तर कसैमाथि प्रतिशोध पनि नराखिने उनले बताए ।
रास्वपाको सरकार निजी क्षेत्रमैत्री रहेको र अर्थतन्त्रलाई सम्हाल्नेगरी रूपान्तरणकारी बजेट आउने वाग्लेले बताएका थिए ।

प्रतिक्रिया 4