+
+
Shares

स्थिर सरकारपछि नेपालमा लगानीमैत्री वातावरण सुदृढ : राजदूत शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि भारतका राजदूत डा. शंकर प्रसाद शर्माले नेपालमा लगानीको अनुकूल वातावरण सुदृढ बन्दै गएको उल्लेख गर्नुभयो।
  • राजदूत शर्माले स्थिर सरकार गठनपछि व्यापार, लगानी र आर्थिक गतिविधि विस्तारका लागि उपयुक्त समय आएको बताउनुभयो।
  • एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले नेपाल–भारतबीच लगानी विस्तारका लागि सेतुको भूमिका खेल्ने योजना बनाएको छ।

२३ चैत, मुम्बई । भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्माले नेपालमा लगानीको अनुकूल वातावरण क्रमशः सुदृढ बन्दै गएको उल्लेख गर्दै भारतीय तथा प्रवासी नेपाली व्यवसायीलाई नयाँ अवसर खोज्न र सहकार्य विस्तार गर्न आग्रह गरेका छन्।

राजदूत शर्माले हालै सम्पन्न निर्वाचनपछि नेपालमा दुईतिहाइ नजिकको बहुमतसहित स्थिर सरकार गठन भएको उल्लेख गर्दै अब व्यापार, लगानी र आर्थिक गतिविधि विस्तारका लागि उपयुक्त समय भएको बताए। ‘पहिले अस्थिर सरकारको गुनासो थियो, अब त्यो अवस्था हट्दै गएको छ,’ उनले भने ।

भारतमा रहेका प्रवासी नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ईसीसीआई)– मुम्बई शाखाद्वारा थाणेमा आयोजित ‘इन्डो–नेपाल बिजनेस ट्रेड तथा ट्रेड प्रमोसन इनिसिएटिभ’ कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शर्माले नेपालमा हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार गठन भएको र यसले लगानीका लागि विश्वासिलो वातावरण सिर्जना गरेको बताए ।

राजदूत शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि तथा डिजिटल सेवा विस्तारमा जोड दिइरहेको बताउँदै यसले लगानीकर्ताहरूका लागि सहज र विश्वासिलो वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी तथा सूचना प्रविधि क्षेत्रलाई उच्च सम्भावना बोकेका क्षेत्रका रूपमा उल्लेख गरे । ‘नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ’ उनले भने ।

कार्यक्रममा एभरेस्ट चेम्बरका केन्द्रीय अध्यक्ष युवराज बरालले नेपालमा लगानीका सम्भावनाबारे जानकारी दिँदै नेपाल र भारतबीच लगानी विस्तारका लागि ईसीसीआईले सेतुको भूमिका खेल्ने बताए । उनका अनुसार चेम्बरले लगानीसम्बन्धी सम्भावना र प्रक्रियाबारे विस्तृत अध्ययन गरिरहेको छ।

भारतमा नेपाली भाषीहरूको उल्लेखनीय उपस्थिति रहेको उल्लेख गर्दै उनले यसबाट दुवै देशले लाभ लिन सक्ने धारणा व्यक्त गरे । हाल १४ भन्दा बढी राज्यमा सक्रिय रहेको ईसीसीआईले आगामी दिनमा अन्य राज्यहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी दिए ।

कार्यक्रममा ईसीसीआई मुम्बई शाखा संस्थापक तथा संरक्षक राजकुमार बरालले प्रवासमा रहेका नेपाली व्यवसायीहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमकै क्रममा ईसीसीआई महाराष्ट्र शाखाले सुनील बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको थियो। बराल पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
संस्थाका अन्तराष्ट्रिय संयोजक मनोज कोटलले नेपाल–भारतबीचको ऐतिहासिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धबारे प्रकाश पार्दै प्रवासी नेपाली व्यवसायीहरूको नेटवर्कलाई नेपालको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष भरत कृष्ण रावलले दुई देशबीच भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनको महत्त्वमा जोड दिए । कार्यक्रममा अखिल भारतीय ट्रान्सपोर्ट वेलफेयर एसोसिएसनका अध्यक्ष तथा बीआरएल लजिष्टिक लिमिटेडका प्रबन्ध निर्देशक अशोक गोयल लगायतको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ईसीसीआई मध्यप्रदेश र गुजरात शाखाका सदस्यहरूको समेत सहभागिता थियो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?