News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार सोमबार ८३.३३ अंकले बढेर नेप्से परिसूचक २७६० अंकमा पुगेको छ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास नफैलिन आग्रह गर्दै बजेट रुपान्तरणकारी हुने आश्वासन दिनुभएको छ।
- २६४ कम्पनीको मूल्य बढेको र सबै समूहका सूचक बढेका छन्, हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले बढेको छ।
२३ चैत, काठमाडौं । अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार ८३.३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो ।
अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए ।
आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिएका थिए । बजारमा आत्तिनु नपर्ने आशय दिएका थिए । त्यस्तै आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटमा पनि उनले रास्वपाको घोषणापत्रमा उल्लेख भएअनुसार बजार सुधारको काम हुने बताएका थिए । नेप्से पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पारेका थिए ।
अर्थमन्त्रीको आश्वासनले पनि आज बजार बढ्न मद्दत पुगेको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडको भयो ।
२६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ, एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ४.०३ प्रतिशत बढ्यो ।
बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ तथा व्यापार २.४० प्रतिशत बढे ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, शिवश्री हाइड्रोपावरको ९.५५ तथा हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य बढ्यो ।
अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा आज भने बिक्री चाप बढेको छ । कम्पनीको मूल्य १.६० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर छन् ।
प्रतिक्रिया 4