News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भइरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गर्नुभयो।
- सरकारले अनैतिक कार्य गर्नेमाथि मात्र कानुनबमोजिम कारबाही गर्ने र सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्र बनाउने योजना रहेको उहाँले बताउनुभयो।
- वाग्लेले ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्न प्राथमिकता दिइएको र सम्पत्ति शुद्धीकरणमा अकाट्य प्रमाणका आधारमा मात्र अनुसन्धान अघि बढाइएको स्पष्ट पार्नुभयो।
२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको स्पष्ट पारेका छन् । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन आग्रह गरे ।
सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उनले अनैतिक कार्य गर्नेलाई मात्रै कानुनबमोजिम नै कारबाही हुने बताए ।
‘सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ’ उनले भने ‘पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ।’
सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको उनले बताए । तर यदि बजारमा कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार कारबाही हुने उनले स्पष्ट पारे ।
‘अहिले लगानीकर्ता प्यानिक हुन आवश्यक छैन, आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुने छन्’ उनले भने । नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने उनले स्पष्ट पारे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो, लगानीकर्ताले अध्ययन गरे हुन्छ । सेयर बजारप्रति हामी कति उदार छौँ, त्यसबाटै स्पष्ट हुन्छ’ उनले भने ।
बजारमा पनि सुनौला दिन आउने उनले बताए । अहिले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको उनले बताए ।
‘ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउने सवालमा कागजमा मात्रै कुरा गर्ने तर बाहिर नगर्ने गरेको भ्रम छ, हामी अहिले लागु पनि गर्ने चरणमा प्रवेश गरेका हौँ’ उनले भने । सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा मात्रै अहिले अघि बढेको उनले बताए ।
‘संस्था वा व्यक्ति छानेर दुखः दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ त्यो भनेको छाडा अर्थतन्त्र होइन’ उनले भने । न्याय निरूपणको काम अदालतबाट हुने भएकाले कसैलाई लक्षित गरेर कारबाही गर्ने नभई कानुनअनुसार अघि बढाउने उनको भनाइ छ ।
प्रतिक्रिया 4