News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
- सोमबार साँझ ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
- दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ चैत, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
जिपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको बताइएको छ ।
घाइते हुनेहरूमा स्याङ्जा बिरुवा गाउँपालिका–४ का ८ वर्षीया एन्जल नेपाली, १३ वर्षीय कृष्चल दर्जी, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल छन् ।
यसैगरी पुतलीबजार नगरपालिका–७ की ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली, कास्की पोखरा महानगरपालिका–११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा–१५ की ६० वर्षीया बिमला गुरुङ र पोखरा–१७ की ५६ वर्षीया सिता वाग्ले पनि घाइते छन् ।
उद्धारका लागि प्रहरी निरीक्षकसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4