News Summary
Generated by OK AI. Editorially reviewed.- चपल भादुरीले १६ वर्षको उमेरदेखि स्त्री पात्रहरूको अभिनय सुरु गरी सामाजिक तिरस्कार र बदलिँदो समयमा पनि आफ्नो अभिनय जारी राखे।
२०औं शताब्दीको मध्यतिर भारतको पश्चिम बङ्गालमा एउटा यस्तो समय थियो, जहाँ मञ्चका सबैभन्दा चर्चित नायिकाहरू पुरुष हुन्थे । अर्थात् पुरुषले नै महिलाहरूको भूमिका निर्वाह गर्थे ।
तीमध्येका सबैभन्दा चर्चित हुन्, चपल भादुरी । कुनै जमानामा उनलाई बङ्गाली रङ्गमञ्चको दुनियाँमा चपल रानी भनेर चिन्ने गरिन्थ्यो । उनी जात्राका एकछत्र रानी थिए । जात्रा भनेको एक प्रकारको घुमन्ते नाट्य परम्परा हो । यस्ता नाटक हेर्न ठूलै संख्यामा भीड जम्मा हुन्थ्यो ।
उनी रहेको बङ्गालको ग्रामीण क्षेत्रमा प्रचलित त्यस्ता जात्रा खुबै हुन्थ्यो । तिनमा संगीतसँगै मिथकहरू देखाइन्थ्यो । यद्यपि त्यस्ता गतिविधिमा महिलाहरूलाई सहभागी हुन अनुमति हुन्थेन । सार्वजनिक रूपमा नाचगान गर्न सामाजिक बन्देज नै थियो ।
त्यसैले महिलाका भूमिकाहरू पुरुषहरूले नै निभाउने गर्थे । अनि त्यस्तो पात्र निभाउने व्यक्तिलाई पुरुष रानी भनिन्थ्यो । चपल भादुरी यसै विधाका निर्विकल्प राजा वा भनौँ रानी थिए ।
सन् १९३९ मा कोलकातामा जन्मिएका चपलको रगतमै अभिनय थियो । उनकी आमा प्रभा देवी आफैँमा एक स्थापित रङ्गकर्मी थिइन् । १६ वर्षको कलिलो उमेरदेखि नै चपलले मञ्चमा पाइला टेकेका थिए ।
उनमा प्राकृतिक रूपमै स्त्रीसुलभ स्वभाव र कोमल आवाज थियो । त्यसले स्वभाविक रूपमा उनलाई स्त्री पात्रको भूमिकामा निभाउन मद्दत गर्थ्यो । यसैले उनी मञ्चमा उत्रिँदा वास्तविक महिलाभन्दा कम देखिँदैनथे ।
नारी अथवा महिला पात्र जस्तो देखिन उनले सुरुका दिनमा निकै संघर्ष गर्नु परेको थियो । घरि उनी लुगाका पुराना टुक्राहरूको प्रयोग गर्थे भने कहिले क्रिम, टिका आदि प्रयोग गर्थे ।
आफ्नो करियरको दौरानमा उनले रानी, देवी र वेश्यालयका मालिक्नीसम्मका भूमिका निभाएका छन् । उनी आफैंले अभिनयलाई लिएर नारीपन आफ्नो हिस्सा भएको बताउँथे । उनले निभाएका पात्रहरूले दर्शकलाई हँसाउनेसँगै रुवाउने पनि गर्थ्यो । कतिपयले त सोच्न बाध्य पार्थ्यो । त्यसैले त, जहाँ अन्य कलाकारहरूले समलिङ्गी वा तेस्रोलिङ्गी पात्रलाई उपहासको पात्र बनाउँथे, चपलले ती पात्रहरूमा इमानदारिता र साहस भरे ।
सामाजिक तिरस्कार र बदलिँदो समय
त्यतिबेलाको उच्च वर्ग व्यक्तिले जात्रालाई ग्रामीण र असभ्य विधा मान्थे । बेलायती प्रभावमा परेका सहरियाहरूले त अझ पुरुषले महिलाको आवाजमा बोल्नुलाई स्याल कराएको जस्तो भनी आलोचना गर्थे । तर, ग्रामीण जनताका लागि चपल भादुरी एक देवीसरह थिए ।
सन् १९६० को दशकको अन्त्यतिर समय बदलियो । महिलाहरू नै रङ्गमञ्चमा आउन थाले । बिस्तारै जुँगा भएका रानीहरूलाई समाजले स्वीकार्न छाड्यो । एक पटक नाटक प्रदर्शनकै क्रममा चपललाई दर्शकले माटोको कपले हानेर स्टेजबाट अपमानित गर्दै बाहिर निकालेका पनि थिए । त्यो घटना उनको करियरको सुरुवाती समयको हो ।
सफलताको शिखरबाट झरेपछि चपलको जीवन कष्टकर बन्यो । उनका समकालीन धेरै कलाकारहरू गरिबीमा हराए । कोही सिलाइ बुनाइ गर्न थाले । कसैले चिया पसल थापे त कोहीले आत्महत्यासम्म गरे । चपलले भने हरेश खाएनन् । उनले पुस्तकालयमा सफाइ गर्ने काम गरे । एक समय उनले सडकमा शीतला माता (एक लोक देवी) को भेषमा हिँडेर मान्छेहरूलाई आशीर्वाद दिँदै खाना र केही पैसाका लागि भिक्षा समेत मागे ।
त्यसैगरी चपलको निजी जीवन पनि उत्तिकै जटिल बन्यो । उनले आफ्नो प्रेम र यौनिकताका बारेमा कहिल्यै माफी मागेनन् । उनलाई प्रशंसकहरूबाट प्रेम प्रस्ताव र सम्बन्धका अफरहरू आउँथे । उनको एक व्यक्तिसँग ३० वर्षभन्दा लामो प्रेम सम्बन्ध रह्यो । यद्यपि ती व्यक्तिको आफ्नै परिवार र सन्तान थिए । चपलले आफ्नो जीवनमा कहिल्यै तेस्रो लिङ्ग वा यस्तै कुनै आधुनिक लेबल लगाउन चाहेनन् । उनी आफूलाई मात्र आफू भएको भन्न रुवाउँथे ।
तर, असफलता पनि क्षणिक मात्र रह्यो । सन् १९९९ मा नवीन किशोर र पछि चलचित्र निर्देशक कौशिक गाङ्गुलीले चपलको जीवनमा आधारित डकुमेन्टी र चलचित्रहरू बनाएपछि उनले पुनः चर्चा पाए । नयाँ पुस्ताका लागि उनी एक ‘क्वीर आइकन’ र साहसी व्यक्तिको रूपमा उदाए ।
आज ८० वर्षको उमेरमा चपल भादुरी कोलकाताको एउटा वृद्धवृद्धालाई राखिने केन्द्रमा बस्छन् । उनी आफ्नो पुरानो घरबाट टाढा छन् । तर उनका सम्झनाहरू अझै ताजा छन् ।
लेखक सन्दीप रोयले आफ्नो नयाँ पुस्तक ‘चपल रानी : द लास्ट क्विन अफ बेङ्गाली’ मार्फत उनको असाधारण यात्रालाई दस्तावेजिकरण गरेका छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4