News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा सहमतिमा संसदीय दलको नेता बनाउन छलफल चलिरहेको छ।
- समानुपातिक सांसद अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई संसदीय दलको नेता बनाउने प्रयास भइरहेको छ ।
- इलाम–१ बाट प्रत्यक्षतर्फ विजयी सांसद निश्कल राईलाई दलको नेता बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।
२४ चैत, काठमाडौं । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ ।
कांग्रेसका एक सहमहामन्त्रीले सहमतिमा संसदीय दलको नेता चयनका लागि पार्टीका शीर्ष पाँच नेताबीच छलफल भइरहेको जानकारी दिए । उनका अनुसार सोमबार सभापति, उपसभापति र महामन्त्रीहरू बीच दलको नेता चयनबारे छलफल भएको थियो ।
कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने भन्दै सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ को संयोजकत्वमा निर्वाचन समिति गठन गरेको सूचना चुहिएको थियो ।
तर, समिति गठनको विषयलाई कांग्रेसले औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन । संयोजक तोकिएका सहमहामन्त्री रसाइली पनि समिति गठनबारे अनभिज्ञता जनाउँदै आएका छन् ।
तर, कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगन थापाले दलको नेतामा चुनौती दिएका थिए ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई टिकट वितरण गर्दा देउवा र थापा दुबैको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग भएको थियो ।
केसी र आङ्देम्बे बलिया दाबेदार
समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाले हस्ताक्षर गरेका थिए ।
दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरू संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।
संसदीय दलको नेताका लागि विशेष महाधिवेशनमा सहभागी भएका र नियमित महाधिवेशनको अडानमा देखिएका नेताहरूले दाबी गरिरहेका छन् ।
दलको नेताका लागि केसी र आङ्देम्बेले दाबेदारी प्रस्तुत गरिरहेका छन् । नेता केसी संस्थापननिकट र आङ्देम्बे संस्थापनइतर समूहका नेताका रूपमा चिनिन्छन् ।
दुवै नेताहरू कांग्रेसका पूर्वसहमहामन्त्रीहरू पनि हुन् । केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद् मानिन्छन् । आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनमा सभासदको भूमिकामा थिए ।
पार्टीको १४ औं महाधिवेशनमा केसी डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र नरेन्द्र केरुङलाई दलको नेताका आकांक्षीका रूमा हेरिएको छ ।
कांग्रेसवृत्तमा इलाम–१ बाट प्रत्यक्षतर्फ विजयी सांसद निश्कल राईलाई दलको नेता बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।
प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चश्व, समानुपातिकतर्फ संस्थापनइतरका सांसद बढी
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १८ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २० जना निर्वाचित भएका छन् ।
दुबै प्रणालीअन्तर्गत निर्वाचित निर्वाचित कुल ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चश्व छ भने समानुपातिकतर्फ संस्थापनइतर समूहका सांसद बढी छन् ।
टिकट वितरणलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसदहरू छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सात जना मानिन्छन् ।
तर, पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको ध्रवीकरणले सांसदहरूको संख्याबारे एकिन भन्न सकिने अवस्था भने देखिदैन ।
१७ चैतमा इतर समूहले सांसदहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा २२ मध्ये ११ जनामात्रै उपस्थित थिए ।
तथापि, कार्यक्रम आयोजक इतर समूहका नेताहरूले कतिपय सांसदहरू उपत्यका बाहिर रहेका, कतिपयलाई समानुपातिकतर्फका सांसदलाई संस्थापन पक्षले डर–त्रास देखाएको र कोशी तथा कर्णाली प्रदेशका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ ले छलफलका लागि बोलाएका कारण उपस्थिति कम भएको दाबी गरेका थिए ।
टिकट वितरण र समानुपातिकतर्फको अन्तिम परिणामलाई आधार मान्दा प्रत्यक्षतर्फ विजयी १२ र समानुपातिकतर्फ चार जना सांसद संस्थापनतिर छन् ।
प्रत्यक्षतर्फ निर्वाचित प्रकाशसिंह कार्की (सोलुखुम्बु), नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), निश्कल राई (इलाम–१), मो. फिरदोश आलम (रौतहट–२), र अभिषेकप्रताप शाह (कपिलवस्तु–३) संस्थापन पक्षीय सांसद हुन् ।
यस्तै मोहन आचार्य (रसुवा), खड्ग शाही (मुगु), बासना थापा (दैलेख–१), भरतकुमार स्वार (अछाम–१), भरतबहादुर खड्का (डोटी) र जनकराज गिरी (बाजुरा) संस्थापन पक्षका मानिन्छन् ।
समानुपातिक प्रणालीबाट निर्वाचित अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक पनि संस्थापन पक्षीय सांसदहरू हुन् ।
देउवा समूहबाट प्रत्यक्षतर्फ पाँच जनाले चुनाव जितेका छन् । विशेष महाधिवेशनको विपक्षमा रहेका केही नेताहरूलाई सभापति थापाले प्रत्यक्षतर्फ टिकट दिएका थिए । जसमध्ये देउवानिकट पाँच जना निर्वाचन भएका थिए ।
देउवा समूहबाट प्रत्यक्षतर्फ मनाङबाट टेकबहादुर गुरुङ, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपति रोकाया, जाजरकोटबाट खड्कबहादुर बुढा र सुर्खेत–१ बाट विष्णुबहादुर खड्काले चुनाव जितेका हुन् ।
समानुपातिकतर्फ देउवा समूहबाट १० जना सांसद् बनेका छन् । जसमा भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, शाहजान खातुन, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया (उर्मिला) र हरिनादेवी कामी रहेका छन् ।
कोइराला समूहबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ छ गरी सात जना सांसद छन् । प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका थिए ।
यस्तै गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी (उप्रेती), डा.प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव समानुपातिकतर्फ विजयी भएका थिए ।
प्रतिक्रिया 4