+
+
Shares
विशेष रिपोर्ट- :

प्रदीप अधिकारीको अनुसन्धान ‘राडार’ मा नवीनराज बस्नेत

अख्तियारको मुद्दा सामसुम पार्न गति छाडेरै लाग्ने वचन

अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे कुराकानी भएको प्रष्ट देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका छन् । तर अनुसन्धान अधिकारीहरू भने बस्नेतले बासम्मको पहुँच नपुर्‍याएको बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ चैत २४ गते २१:१७

२४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ मंसिरमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गर्‍यो ।

भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा अनियमितता भएको आरोपमा पक्राउ परेका उनी २१ मंसिरमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भए । नलिञ्चोक हेलिपोर्ट प्रकरणमा पक्राउ परेर कारागार चलान भएका अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा पनि दायर भयो ।

नलिञ्चोक हेलिपोर्ट र पोखरा विमानस्थल भ्रष्टाचारमा पक्राउ परी कारागारमा रहेका अधिकारीमाथि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले एकसाथ तीन वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमा ज्यान मार्ने उद्योग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर छन् ।

यी मुद्दामा अनुसन्धान गर्दा प्रहरीले अधिकारीका विषयमा नयाँनयाँ तथ्य फेला परेको छ । अहिले उनको कनेक्सन नवीनराज बस्नेत नाम गरेका व्यक्तिसँग देखिएको अनुसन्धानबाट खुलेको छ ।

गति छाडेरै मुद्दा मिलाउने बस्नेत प्रयास

लामो समयदेखि अख्तियारले अधिकारी जोडिएको नलिञ्चोक हेलिपोर्टदेखि पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको थियो । अख्तियारलाई प्रभावमा पारेर अनुसन्धान नै प्रभावित पार्ने प्रयासमा लागे पनि अधिकारी सफल हुन सकेका थिएनन् ।

पहिल्यैदेखि चिनजानमा रहेका र अधिकारीसँग नजिक रहेर काम गर्दै आएका नवीनराज बस्नेतमार्फत अख्तियारलाई मिलाउन प्रयास गरिएको अनुसन्धान रिपोर्टले देखाएको छ ।

बस्नेत तिनै व्यक्ति हुन् जसले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।

अनलाइनखबरलाई प्राप्त अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे कुराकानी भएको प्रष्ट देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका छन् ।

पोखरा विमानस्थल भ्रष्टाचारमा पनि मुछिए प्रदीप अधिकारी – Online Khabar
प्रदीप अधिकारी

प्रदीप अधिकारीले २३ नोभेम्बर २०२५ को राति ११:०७ बजे मात्रै राजेश दाइसँग कुरा भयो भनेर नवीन बस्नेतलाई ह्वाट्स एपमा म्यासेज गरेको देखिन्छ ।

म्यासेजमा देखिन्छ, ‘बस्नेतले ११:१० को राति कुर्दै छु, भित्र किचेनमा भनेर जवाफ फर्काउँछन् । बस्नेतले अर्को म्यासेज पठाउँछन् बासँग पनि भेट्छु । दाइ, मसँगै छौं ।’

यसअघि २२ नोभेम्बरमा अधिकारीले ‘केही प्रोग्रेस भयो त भाइ’ भन्दै म्यासेज पठाएको देखिन्छ । जहाँ बस्नेतले जवाफ फर्काउँदै ‘बाले नै गर्नुपर्ने भयो दाइ’ भनेर म्यासेज गरेको देखिन्छ, ‘आरएम हाम्रो कुरा त्यही आयो ।’

१७ नोभेम्बरमा बस्नेतले अधिकारीलाई म्यासेज पठाउँछन्, ‘यति साह्रो किन प्रेसर, रोकिन्छ, ढुक्क हुनु न ।’

अख्तियारले लाने मुद्दा रोकिनेबारे बस्नेतले अधिकारीलाई आश्वासन दिएको देखिन्छ । प्रदीपले ४ नोभेम्बर १२:२४ बजे नवीनलाई म्यासेज गर्छन्– हिजो ठोक्न ठिक्क थियो रे फाइल ।

लगत्तै अर्को म्यासेज पनि गर्छन्– हिजो कुपन्डोल ।

४ नोभम्बरमै १२:१५ बजे अर्को म्यासेज प्रदिपले नवीनलाई पठाउँछन्– सीआईएए (अख्तियार)बाट लेटर लिएर आको छ रे फेरि ।

नवीनराज बस्नेत

नवीनले म्यासेज फर्काउँछन्– के लेटर ल्याएको दाइ ?

त्यसपछि उनीहरूबीच १ मिनेट ३८ सेकेन्ड अडियो कुराकानी हुन्छ ।

२५ नोभेम्बरको राति ११:१० बजे बस्नेतले अधिकारीलाई ह्वाट्स एपमा म्योज गर्दै ‘गति छाडेर भए पनि गर्छु दाइ, टेन्सन नलिनू’ भनेर म्यासेज पठाउँछन् ।

अधिकारीले ‘हस्’ भन्दै फर्काउँछन् । अख्तियारबाट मुद्दा मिलाउँछु भन्ने बस्नेत र राजेश बज्राचार्यको घर भक्तपुरको सूर्यविनायक–२ मा पर्छ । उनीहरू छिमेकी हुन् ।

अधिकारी र बस्नेतको ह्वाट्स एप संवादमा राजेश बज्राचार्य, बासम्मको कुरा भएको छ । तर अनुसन्धान अधिकारीहरू भने बस्नेतले बासम्मको पहुँच नपुर्‍याएको बताउँछन् ।

‘अधिकारीलाई ढुक्क पार्न उनले उच्चपदस्थको नाम लिँदै उनीहरूबाट मुद्दा  सामसुम पार्ने आश्वासन दिएको देखिन्छ । तर मुद्दाकै लागि भनेर बस्नेतले त्यहाँसम्म पहुँच पुर्‍याएको प्रमाण भने देखिँदैन,’ एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने ।

प्रदीपसँग भएको ह्वाट्स एप संवादबारे जिज्ञासा राख्दा बस्नेत सबैजसो कुरा अस्वीकार गर्छन् । ‘म गरिखाने मान्छे । अहिले पनि भैरहवा विमानस्थलमा मेरो काम भइरहेको छ । तपार्इंले भने जस्तो केही होइन,’ बस्नेतले अनलाइनखबरसँग भने ।

उग्रवादी संगठन खोलेर मार्ने धम्की

अख्तियारलाई प्रभावमा पारेर मुद्दा सामसुम गराउने प्रयास असफल भएपछि एकसाथ दुई वटा काम गरेको देखिएको छ । जसमा उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्नेसम्मका काम भएको अनुसन्धानबाट खुलेको छ ।

उग्रवादी संगठनको लेटर प्याडसमेत बनाएर बस्नेतले नै अधिकारीलाई ह्वाट्स एपमा पठाएको देखिन्छ । डीएफएल (डीजिटल फरेन्सिक ल्याब) रिपोर्टअनुसार उक्त लेटर प्याड बस्नेतको ९७०७७७७… नम्बरबाट ह्वाट्स एपमार्फत प्रदीप अधिकारीलाई पठाएको खुलेको छ ।

उक्त फोटो ओरिजिनल पीडीएफ फाइलमा रहेको र पछि जेपीजी इमेजमा पीडीएफबाट एक्स्ट्र्याक्ट गरेको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् । यता, प्रहरी समक्षको बयानमा भने बस्नेतले आफ्नै ह्वाट्स एपबाट पठाएको लेटर प्याडका बारेमा समेत थाहा नभएको जिकिर गर्दै बयान दिएका छन् ।

यही लेटर हेडमार्फत एक सूचना निकाल्दै प्रकाश पाठकले अख्तियार प्रमुखसमेत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । तत्काल राजीनामा नदिए ज्यान मार्ने धम्की पाठकले भिडियोमार्फत नै दिएका थिए ।

यसरी धम्की दिन लगाउन पाठकलाई २ करोडको सुपारी दिएकोसमेत पाइएको छ । सुरुमा १० करोडबाट बार्गेनिङ भएको २ करोडमा कुराकानी मिलेपछि पाठक धम्की दिन तयार भएका थिए ।

पाठक र अधिकारीसमेत पूर्व चिनजानका व्यक्ति हुन् । फिलिपिन्समा रहेका पाठकलाई रकम पठाउन अधिकारीले एक चिनियाँ व्यक्तिलाई प्रयोग गरेको भेटिएको छ । ती चिनियाँ नागरिकले हुण्डीमार्फत फिलिपिन्समा रहेका पाठकलाई रकम पठाएका थिए ।

उक्त रकम बुझेपछि आफूले एक करोड ६० लाखमा फिलिपिन्समा अपार्टमेन्टसमेत खरिद गरेको पाठकले बयानमा खुलाएका छन् । यो घटनामा पैसाको प्रलोभनमा पर्दा आफू प्रयोग भएको भन्दै पाठकले बस्नेत र अधिकारीले आफूलाई फसाएको बयान दिएका छन् ।

फिलिपिन्समा बसेर धम्की दिने पाठकलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिससमेत जारी भएको थियो । फिलिपिन्स प्रहरीले पक्राउ गरेका पाठकलाई नेपाल प्रहरीले २८ माघमा काठमाडौं ल्याएको थियो । पाठकमाथि अनुसन्धान जारी छ ।

पाठकलाई काठमाडौं ल्याएर अनुसन्धान गरेपछि यो धम्की र ज्यान मार्ने घटनामा अधिकारी र बस्नेतसमेत जोडिएका हुन् । यसबारे परिसर काठमाडौंले बस्नेतको पनि बयान लिएको छ । बयानका क्रममा उनले प्रकाश पाठकसँग आफ्नो चिनजान नै नभएको दाबी गरेका छन् ।

प्रदीप अधिकारीसँग भने चिनजान भएको र ह्वाट्स एपमा कुराकानी हुने प्रहरीसमक्ष स्वीकार गरेका छन् । तर आफूमाथि लागेको आरोपमा भेटिएका प्रमाण तथा च्याटबारे केही थाहा नभएको दाबी गर्दै बस्नेतले बयान दिएका छन् ।

तान्त्रिकको प्रयोग

विभिन्न प्रयास असफल भएपछि तान्त्रिक विधिबाट आरोप मुक्त हुने उपाय पनि अधिकारीले गरेको भेटिएको छ । भारतको आसाम राज्यको गुवाहाटीमा रहेको कामाख्या देवी मन्दिरको गुरु बताउने भारतीय तान्त्रिक बाबा ४३ वर्षीय सरया किन्नेरा (जय जगदब्बे) नाम गरेका तान्त्रिक बाबाको प्रयोग गरेको देखिन्छ ।

जय जगदम्बे बाबालाई अख्तियार प्रमुख राईको फोटो पठाई चम्टा (तान्त्रिक विधिबाट हानि–नोक्सानी) गर्न लगाएको भेटिएको छ । त्यसपछि जय जगदम्बेले अख्तियार प्रमुख राईको प्रतिमा बनाई तान्त्रिक तन्त्र–मन्त्र गर्दै हतियारले घोचेर आगोमा जलाएको भिडियोसमेत तान्त्रिक बाबाले प्रदीप अधिकारीलाई पठाएको भेटिएको छ ।

अधिकारीलाई हानि–नोक्सानी नहोस् भनेरै तान्त्रिक जय जगदम्बेलाई पूजापाठ गर्न लगाएको बस्नेतले बताएका छन् । ‘अख्तियारले अनुसन्धान गरिरहेको कुरा मैले निज प्रदीप अधिकारीबाट थाहा पाई उक्त मुद्दामा कुनै हानि–नोक्सानी नपुगोस् भन्ने हेतुले गुरुलाई ह्वाट्स एपमा फोन गरी पूजापाठ गर्न लगाएको हो,’ बस्नेतले प्रहरी समक्ष बयान दिएका छन् ।

यस विषयमा अनलाइनखबरले बस्नेतसँग सम्पर्क गर्दा उनले तान्त्रिक बाबालाई आफूले प्रदीप अधिकारीसँग चिनजान नगराएको दाबी गरे । ‘मैले तान्त्रिक बाबालाई अधिकारीसँग चिनजान गराएको होइन,’ बस्नेतले भने ।

अख्तियार प्रमुख राईलाई सिध्याउन भन्दै नेपाल झिकाइएका जय जगदम्बेलाई विमानस्थलमा प्रदीप अधिकारी र नवीनराज बस्नेतले स्वागत गरेका थिए ।

७ महिनामा बस्नेतले फेरे ६ मोबाइल

अहिले प्रहरीले बस्नेत केन्द्रित अनुसन्धान अघि बढाएको छ । उनको गतिविधि शंकास्पद देखिएपछि प्राविधिक विश्लेषण गरेर अनुसन्धान गर्दा बस्नेतको मोबाइल विवरण फेला पारेको छ ।

कतिसम्म भने, बस्नेतले ७ महिनाको अवधिमा ६ थान मोबाइल फेरेको पाइएको छ । २० जुन २०२५ मा बस्नेतले ए३२९७ मोडलको आइफोन १६प्रो म्याक्स चलाएका थिए । ३० सेम्टेम्बरमा ए ३५२६ मोडलको आइफोन १७ प्रोम्याक्स चलाएको भेटिएको छ । १७ नोभेम्बरमा २०२५ मा पनि यही फोन प्रयोग गरेको देखिन्छ ।

२४ जनवरी २०२६ मा भने बस्नेतले ए२८९४ मोडलको आइफोन १४ प्रोम्याक्स चलाए । २५ जनवरीमा फेरि यो मोबाइल परिवर्तन गर्दै ए३५२६ को आइफोन १७ प्रोम्याक्स चलाएको अनुसन्धानमा भेटिएको छ ।

यो मोबाइल चलाएको पाँच दिनमै ३० जनवरीमा उनले ए३५२५ को आइफोन १७ प्रो म्याक्स चलाएको विवरण भेटिएको छ ।

‘मोबाइल फेर्दै चलाउँदै गरेकाले उनीमाथि लागेको आरोपलाई थप पुष्टि गर्ने आधारहरू देखिएको एक अनुसन्धान अधिकृतहरूको बुझाइ छ ।

‘पाँच दिनमै फरकमा मोबाइल परिवर्तन गर्दै चलाउनु भनेको राम्रो नियतले होइन । अहिले हामीले जुन विषयहरूलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका छौं । ती विषय थप पुष्टि गर्ने आधार यस्ता घटनाले दिएको छ,’ एक अनुसन्धान अधिकृतले भने ।

विभिन्न प्रमाणहरूले बस्नेतसमेत अनुसन्धानको राडरमा तानिएका छन् । उनको बयान प्रहरीले लिइसकेको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?