News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद जनकसिंह धामीले सीमा विवाद र खुला सीमाका कारण आफ्नो निर्वाचन क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गरिरहेको बताएका छन्।
- धामीले नेपालीहरूको हातमा लालपुर्जा भए पनि जग्गा भारतीयहरूको चलनभोगमा रहेको र भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको उल्लेख गरे।
- उनले खुला सीमाका कारण लागूऔषध ओसारप्रसार र दुर्व्यसनले युवाहरूको भविष्य जोखिममा परेको भन्दै उच्चस्तरीय कुटनीतिक पहल गर्न सरकारसमक्ष माग गरे।
२५ चैत, काठमाडौं । रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रका जनताहरू सीमा विवाद र खुला सीमाका कारण समस्यामा रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।’
धामी कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
आफ्नो क्षेत्रको समस्या संसद्मा राख्दै उनले भनेका छन्, ‘नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’
उनका अनुसार ३८ नम्बर छेउछाउ भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको छ । बेलौरी भन्सार स्तरउन्नती नहुँदा राजश्व संकलन न्यून रहेको पनि उनले बताए ।
क्वारेन्टाइनको व्यवस्था नहुँदा नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।
उनी थप्छन्, ‘खुला सीमाका कारण लागूऔषध ओसारप्रसार र दुर्व्यसनले युवाहरूको भविष्य जोखिममा छ ।’
सीमा क्षेत्र व्यवस्थापन नहुँदा स्थानीय किसान र व्यापारीहरू समेत मर्कामा रहेको उनले सुनाए ।
यी विवरण राख्दै उनले भनेका छन्, ‘अत सीमा समस्या र व्यवस्थापनका लागि उच्चस्तरीय कुटनीतिक पहल गरियोस् भनी सम्माननीय सभामुखज्यू र सदनमार्फत म सरकारसमक्ष माग गर्दछु ।’
प्रतिक्रिया 4