+
+
Shares
विदेशी राजदूतहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ :

‘नेपालले सन्तुलित कूटनीति अपनाउँछ, शान्ति साझा प्राथमिकता हुन्छ’

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन्।
  • प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए।
  • सरकारले युद्धका कारण पर्न सक्ने समस्याको बारेमा परराष्ट्र मन्त्रालयबाट नियमित जानकारी र ब्रिफिङ लिइरहेको छ।

२५ चैत, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै अहिले विश्वमा चलिरहेको युद्धको अवस्थालाई पनि इंगित गरेका थिए । यस्तो अवस्थामा नेपालले विदेशमा रहेका नेपाली श्रमिक तथा नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

सरकारले युद्धका कारण पर्न सक्ने समस्याको बारेमा परराष्ट्र मन्त्रालयबाट नियमित जानकारी र ब्रिफिङ लिइरहेको छ ।

प्रधानमन्त्री शाहले चुनावपछि जनताले गरेको नयाँ अपेक्षालाई पुरा गर्नका लागि सरकार बनेकोले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता रहेको धारणा कूटनीतिज्ञहरू समक्ष राखेका थिए ।

सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थिए । राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थितिमा भएको ब्रिफिङमा प्रधानमन्त्रीले सबै राजदूतहरूको भनाई सुनेका थिए ।

प्रधानमन्त्री शाहले यसपटक विगतका प्रधानमन्त्री भन्दा केही भिन्न अभ्यास गरे । प्रधानमन्त्रीले व्यक्तिगत रुपमा पनि राजदूतहरूलाई कूटनीतिक ब्रिफिङ गर्नु अघि नै भेट्ने गरेका थिए । तर बालेनले कसैलाई पनि अहिलेसम्म व्यक्तिगत रुपमा भेटेका छैनन् । पराराष्ट्रमन्त्री शिशिर खनालसँग मात्र राजदूतहरूले भेट्न पाएका छन् ।

यसअघि राजदूतहरू गेटक्र्यास नै गरेर प्रधानमन्त्री कार्यालय र निवासमा पुग्ने गरेका थिए। यसपटक कूटनीतिक आचार संहित कडाईकासाथ पालना गर्ने सरकारको योजना छ ।

त्यसैले मन्त्रीहरूलाई पनि प्रोटोकल नाघेर भेटघाट नगर्ने भन्दै बुधबारै परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रशिक्षण समेत दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?