+
+
Shares

देउवाको वक्तव्य : ‘सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी, मेरो जीवन खुला किताब जस्तो’

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते २१:५०

२५ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गरेका छन् ।

उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गरेका छन् ।

‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु’ उनले भनेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको वक्तव्य यस्तो छ :

आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागु भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।

शेरबहादुर देउवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?