+
+
Shares

मदनकृष्णले दलित समुदायसँग मागे माफी, भन्छन्- जातीय एकतामा राष्ट्रियता बलियो हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १५:००
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत अहिलेको राजनीतिक परिवेश र नेतृत्व परिवर्तनमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।
  • श्रेष्ठले रवि लामिछानेको संसद भाषणलाई परिपक्व र गहकिलो भन्दै नयाँ पुस्ताले भविष्य निर्माण गर्ने सन्देश दिएको बताउनुभएको छ।
  • उहाँले दलित समुदायप्रति भएका अन्यायप्रति सामूहिक माफी माग्नुपर्ने र जातीय विभेदलाई असभ्य र अमानवीय व्यवहार बताउनुभएको छ ।

काठमाडौं । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत अहिलेको राजनीतिक परिवेश, नेतृत्व परिवर्तन र जातीय समानताको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजालमार्फत उनले सरकारले हालै दलित समुदायसँग माफी मागेको प्रसंग उल्लेख गरेका छन् ।

श्रेष्ठले केही वर्षयता समयले युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै त्यो परिवर्तन २०८४ मा हुने अपेक्षा गरिए पनि अहिले नै देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालै संसदमा रवि लामिछानेले दिएको भाषणलाई परिपक्व र गहकिलो भन्दै त्यसले देश नयाँ दिशातर्फ अघि बढ्ने संकेत दिएको बताएका छन् ।

उनका अनुसार उक्त सम्बोधनमा पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई स्वीकार गर्दै अब नयाँ पुस्ताले भविष्य निर्माण गर्ने सन्देश दिइएको थियो, जसलाई जनताले सकारात्मक रूपमा लिएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले आवेगभन्दा संयमता अपनाएर काम गर्नुपर्ने धारणा पनि उनले उल्लेख गरेका छन् ।

मदनकृष्णले दलित समुदायप्रति लामो समयदेखि हुँदै आएको अन्यायको प्रसंग उठाउँदै लामिछानेले सदनमै माफी माग्नु उदाहरणीय कदम भएको बताएका छन् । यस घटनाबाट आफू पनि प्रभावित भएको बताउँदै उनले आफ्नो तर्फबाट पनि विगतमा भएका विभेदप्रति सामूहिक रूपमा माफी माग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘मैले व्यक्तिगत रूपमा सबै जातजाति र भाषाभाषीलाई समान व्यवहार गरेको छु,’ उनले लेखेका छन्, ‘तर मेरा पूर्खाबाट कुनै अपमानजनक व्यवहार भएको हुन सक्छ, त्यसका लागि म माफी माग्छु ।’

श्रेष्ठले समाज अझ सभ्य र मानवीय बनाउन सबैले दलित समुदायसँग सामूहिक रूपमा माफी माग्नुपर्ने धारणा राखेका छन् । उनले “दलित” र “अछुत” जस्ता शब्द नै प्रयोग नगर्ने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्, किनकि यस्ता शब्दले विभेदलाई जिवित राख्ने तर्क उनको छ ।

उनले जातीय विभेदलाई ‘असभ्य र अमानवीय’ व्यवहार भन्दै यस्तो सोचबाट माथि उठ्न सबैलाई आग्रह गरेका छन् । टेलिफिल्म ‘१५ गते’को चर्चित गीतका पंक्ति सम्झिँदै राष्ट्रियताको मूल आधार नै पारस्परिक संवेदना र एकता भएको बताएका छन् ।

‘चोट मलाई पर्दा तिम्रो ज्यान दुख्छ भने, त्यही नै नेपाली राष्ट्रियताको चिन्ह हो,’ भन्दै उनले जोड दिएका छन्, ‘जातीय एकतामै बलियो राष्ट्रियता सम्भव हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?