+
+
Shares

उद्योग मन्त्रालयको अवैतनिक काम गर्थे सुशान्त, मन्त्री नियुक्त भइन् गौरीकुमारी

वैदिकले आयल निगम, कम्पनी रजिष्ट्रारका उपल्लो तहका कर्मचारीसँग पनि छलफल गरेको स्रोतको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले १३ चैतमा पदको शपथ लिएको दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका थिए।
  • रास्वपा सांसद सुशान्त वैदिकलाई उद्योग मन्त्रालयमा प्रधानमन्त्रीको अघोषित रुपमा काममा खटाइएको थियो।
  • शुक्रबार मन्त्री नियुक्त गर्दा गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ।

२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदको शपथ लिएको दिन (१३ चैत) मा मन्त्रीहरू नियुक्त गर्दा रक्षा सहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने आफूसँगै राखेका थिए ।

प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रधानमन्त्रीको अघोषित रुपमा काममा भने रास्वपा सांसद सुशान्त वैदिकलाई खटाएका थिए । तर, शुक्रबार दुई मन्त्रालयको जिम्मेवारी तोक्दा प्रधानमन्त्री शाहले गौरीकुमारी यादवलाई मन्त्री बनाए ।

नवनियुक्त मन्त्री यादव महोत्तरी–४ बाट निर्वाचित भएकी हुन् । निर्वाचन सकिएलगत्तै अर्थमन्त्रीमा समेत चर्चा पाएका वैदिकलाई उक्त मन्त्रालय ‘हेर्न गरी’ प्रधानमन्त्री शाहले खटाएका थिए । प्रधानमन्त्रीको निर्देशन अनुसार सांसद वैदिक पछिल्लो दिनमा नियमित जस्तै मन्त्रालय जाने गरेको मन्त्रालय स्रोतको दाबी छ ।

वैदिकले सचिव, सहसचिव, महाशाखाका प्रमुख लगायतसँग व्रिफिङ लिने र समस्या समधानका लागि गर्नुपर्ने विषयमा राय लिने समेत गरेका थिए ।

उनले मन्त्रालय सुधारका लागि गर्नुपर्ने कार्यहरूमा आफ्ना विचार राख्नुका साथै उच्च तहका कर्मचारीको राय लिने गरेको उपल्लो तहका एक कर्मचारीले जानकारी गराए ।

वैदिकले आयल निगम, कम्पनी रजिष्ट्रारका उपल्लो तहका कर्मचारीसँग पनि छलफल गरेको स्रोतको दाबी छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका आठवटा महाशाखाका प्रमुखसँग पनि वैदिकले छलफल गरेका थिए ।

मन्त्रालयका एक उच्च तहका कर्मचारीले अनलाइनखबरसँग भने, ‘मन्त्रालयका समस्या र गर्न सकिने कामका बारेमा उहाँले जानकारी लिनुभएको हो । मन्त्रालयभित्र गर्न सकिने सुधारका विषयमा पनि कर्मचारी राय परामर्श लिनु भएको थियो ।’

वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्स (एनएचएच) बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र तत्कालीन माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीका आर्थिक तथा विकास विज्ञका रूपमा उनले काम गरेका थिए ।

प्रधानमन्त्री शाहले शुक्रबार दुईजना मन्त्री नियुक्त गर्दा भने वैदिक परेनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भइन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव बने ।

चुनाव हुनु केही दिन मात्रै अघि रास्वपा प्रवेश गरेर निर्वाचित भएकी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

महोत्तरीका रास्वपा सभापति शुभम यादवका अनुसार उनी सामाजिक कार्यहरुमा संलग्न हुँदै आएकी थिइन् । महोत्तरी सभापति यादवले अनलाइनखबरसँग भने,‘पहिले उहाँले सक्रिय राजनीति गर्नु भएको थिएन । समाजसेवाका कामहरु गर्दै आउनु भएको हो ।

उनका श्रीमान शिवजी यादव भने जसपा पार्टीमा संलग्न थिए । श्रीमती गौरीकुमारीले रास्वपाबाट निर्वाचित भएपछि पति यादव पनि रास्वपातिर नै लागेको जिल्ला सभापति शुभम यादवले जानकारी गराए ।

नवनियुक्त मन्त्री यादवले आइएस्सी सम्मको अध्ययन गरेकी छन् । महोत्तरी संग्रामपुरकी ५४ वर्षीय यादव फराकिलो मतान्तरले निर्वाचित भएकी थिइन् । उनले ३० हजार १३२ मत प्राप्त गरेर निर्वाचित हुँदा दोस्रो स्थानको मत पाउने जसपाका सुरेन्द्रकुमार यादवलाई झण्डै २२ हजारको मतान्तरले पछि परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?