News Summary
Generated by OK AI. Editorially reviewed.- हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ शुक्रबार ५१ औं जन्मदिन मनाउँदैछन् र फिल्म क्षेत्रबाट बधाई प्राप्त गर्दैछन्।
- दीपकराज गिरीले माग्ने बुढासँग ८ वटा सफल फिल्म दिएको स्मरण गर्दै दुई दशक लामो मित्रताको कुरा बताए।
- केदार चार महिनादेखि अमेरिकामा छन् र छोरीको उपचारका कारण चाँडै फर्किने तयारीमा छन् भने दीपकराज टोलीले नयाँ फिल्म छायांकनका लागि उनको पर्खाइमा छ।
काठमाडौं । हाँस्य कलाकार तथा अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ शुक्रबार ५१ औं जन्मदिन मनाउँदैछन् । जन्मदिन अवसरमा उनलाई फिल्म क्षेत्र र प्रशंसकबाट बधाई तथा शुभकामनाको ओइरो छ ।
उनी निकट कलाकार दीपकराज गिरी, जितु नेपालसहितले पनि केदारलाई आफ्नो अनुभव र स्टाइलमा बधाई दिइरहेका छन् । दीपकले माग्ने बुढासँग ८ वटा सफल फिल्म दिएको स्मरण गर्दै सम्बन्धको दियो बलिरहने बताएका छन् ।
दीपक लेख्छन्, ‘ एउटै क्षेत्रका मान्छे यति लामो र घनिष्ठ सम्बन्ध हुनै सक्दैन भन्छन् । तर, हामी २ दशक सँगै कुम मिलाएरै हिड्यौ ! सुरूमा डराइ डराइ मिलेर फिल्म बनायौं । ८ वटा सफल चलचित्रहरू हाम्रा पोल्टामा आए ! यो दुर्लभ नै हो ,एउटै कलाकार लगातार ८ सफल फिल्म सँगसँगै निर्माण र अभिनय गर्ने मौका…। यो यात्रामा हामी कहिले बाझ्यौं होला । कहिले मन पनि दुखायौं होला, तर मित्रताको धागो कहिले चुँडिएन !’
दीपकले सेयर गरेको फोटोमा उनीसहित केदार र जितु पनि छन् ।
जितुले पनि माग्ने बुढासँगको फोटो सेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । संघर्षकालिन समयका किस्सा सम्झिँदै जितुले आफू केदारको खानपान, अनुशासन र अभिनय देखेर प्रभावित भएको बताएका छन् । दीपाश्री निरौलाले पनि जन्मदिनको शुभकामना दिएकी छन् ।
यी चारैजनाले ‘छक्कापञ्जा’जस्ता हिट सिरिज दिएका छन् ।
अमेरिकाबाट कहिले फर्किन्छन् ?
केदार झन्डै ४ महिनादेखि अमेरिकामा छन् । उनी कहिले आउँछन्, यकिन भैसकेको छैन । यद्यपि, उनकी श्रीमती तथा अभिनेत्री सीतादेवी तिमल्सिनाले केदार चाँडै देश फर्किने बताएकी छन् ।
छोरी बिरामी भएपछि उपचारमा खट्नुपर्ने भएकाले फर्किन ढिलाइ भएको उनको भनाइ छ । ‘छोरीलाई सन्चो छैन । पेट दुखेको छ । उहाँ चाँडै आउनुहुन्छ’ सीतादेवीले भनिन् ।
अर्कोतर्फ, ‘छ माया छपक्कै २’ सहित दीपकराज टोली छायांकन थाल्ने तयारीमा छ । जसका लागि समूहले माग्ने बुढालाई कुरिरहेको छ । १५ बैशाखदेखि छायांकन थाल्ने निधो पनि भैसक्यो ।
सो बेलासम्म पनि माग्ने बुढा आउँछन् वा आउँदैनन् जवाफ दीपकसँग पनि छैन । ‘अहिले हामी धेरै विकल्पहरूमा काम गरिरहेका छौं । परिस्थितीअनुसार अघि बढ्छौं । सकेसम्म मिलेर काम गर्ने हो’ उनले भने ।
केही दिनमा यसबारे टुंगो लाग्ने दीपक बताउँछन् । केदार अभिनित पछिल्ला दुई फिल्म ‘माग्ने राजा’ र ‘जेरी अन टप’ दुवै घरेलु बक्सअफिसमा सफल रहे ।
प्रतिक्रिया 4