News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनल खेल २०८२ चैत २८ गते साँझ ५ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट बास्केटबल क्लबबीच हुनेछ।
- फाइनलअघि दिउँसो सेलेब्रेटीहरू सम्मिलित खेलमा कलाकार सुशान्त केसी एण्ड फ्रेण्ड्स र जाभा एण्ड फ्रेण्ड्सको टिमबीच प्रतिस्पर्धा हुनेछ भनी नेपाल बास्केटबल संघ अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिनुभयो।
- आर्मीले लिग चरणमा १४ मध्ये १३ खेल जितेर शीर्ष स्थान हासिल गरेको छ भने गोल्डेनगेटले १२ खेल जितेर दोस्रो स्थानमा रहँदा फाइनलमा आर्मीले तीन पटक गोल्डेनगेटलाई हराएको छ।
२८ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल (एचजेएनबीएल) २०२६ को उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट बास्केटबल क्लब भिड्दैछन् ।
फाइनल खेल आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । आर्मी विनोद महर्जनको कप्तानीमा कोर्ट उत्रनेछ भने गोल्डेनगेटको कप्तानी सुदिप पौडेल क्षेत्रीले गर्नेछन् ।
फाइनलअघि दिउँसो सेलेब्रेटीहरू सम्मिलित खेल हुने नेपाल बास्केटबल संघ (नेबा) अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए । जसमा कलाकार सुशान्त केसी एण्ड फ्रेण्ड्सको टिम भर्सेस जाभा एण्ड फ्रेण्ड्सको टिमबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो पटक क्वालिफायर्स प्रतियोगितामार्फत पनि टिम छनोट गर्दै हिमालयन जाभा नेसनल बास्केटबल लिग आयोजना गरिएको हो ।
जसमा यस पटक ८ टोली सहभागी थिए । डबल राउण्ड रोविन प्रणालीमा भएको एचजेएनबीएलमा लिग चरणमा कूल ५६ खेल भए । त्यसपछि प्लेअफ चरणमा तीन खेलपछि आर्मी र गोल्डेनगेट फाइनल पुगेका हुन् ।
आर्मीले लिग चरणमा १४ मध्ये १३ खेल जित्दै शीर्ष स्थानमा रहँदा गोल्डेनगेटले १२ खेल जित्दै दोस्रो स्थानमा लिग सकाएको थियो ।
यही दुई टोलीबीच पहिलो क्वालिफायर खेल हुँदा आर्मीले गोल्डेनगेटले हराएर फाइनलमा स्थान बनाएको हो । लिगमा शीर्ष दुईमा रहेकोले गोल्डेनगेटले पहिलो क्वालिफायरमा पराजित भएपनि अर्को अवसर पाउँदा दोस्रो क्वालिफायरमा टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै फाइनल पुगेको हो ।
आर्मी र गोल्डेनगेटबीचको चौथो भेट
यस संस्करणमा आर्मी र गोल्डेनगेटबीच यो चौथो खेल हुनेछ । यसअघि लिग चरण र प्लेअफमा गरी यी दुई टोली तीन पटक भिडेका थिए । जसमा तीनै खेल आर्मीले जितेको थियो ।
लिग चरणमा आर्मीले गोल्डेनगेटलाई पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा आर्मीले रोमाञ्चक खेलमा गोल्डेनगेटलाई ८०-७१ ले पराजित गरेको थियो ।
आर्मीले लिग चरणमा १३ खेल जित्दा टाइम्स बास्केटबल क्लबलसँग एक खेल मात्र हारेको थियो । गोल्डेनगेटले फाइनलसम्म आइपुग्दा तीन खेल हारेको छ र तीनै खेलमा आर्मी विरुद्ध नै थियो ।
अब फाइनलमा आर्मी आफ्नो लय कायम राख्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । उता गोल्डेनगेट गत वर्ष भएको हिमालयन जाभा बास्केटबल लिगमा उपविजेता बनेको थियो र यस पटक उपाधि जित्ने लक्ष्यमा छ ।
साविक विजेता टाइम्सलाई पराजित गरेपछि गोल्डेनगेटको मनोबल पनि उच्च छ र फाइनलमा आर्मीसँग बदला लिने योजनामा छ ।
अब फाइनलमा आर्मीले लय कायम राख्दै गोल्डेनगेटलाई चौथो पटक हराएर उपाधि जित्ला वा गोल्डेनगेटले तीन हारको बदला फाइनलमा लिँदै उपाधि उचाल्ला त्यसका लागि फाइनल खेलको अन्तिम नतिजा कुर्नुपर्नेछ ।
हिमालयन जाभा नेसनल बास्केटबल लिग
फाइनल खेल : आर्मी भर्सेस गोल्डेनगेट
स्थान : दशरथ रंगशाला कभर्डहल, त्रिपुरेश्वर काठमाडौ
मिति : २०८२ चैत २८ गते
समय साँझ : ५ बजे
प्रतिक्रिया 4