+
+
Shares

अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १२:२३

२८ चैत, काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने बताएको छ ।

वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबीच अध्यागमनले यस्तो स्पष्टीकरण दिएको हो ।

विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानीलगायतका न्यूनतम आवश्यक कागजात बाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख गरिएको छ ।

अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुनअनुसार प्रक्रिया स्पष्ट गरेको हो ।

विभागका अनुसार गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णय तथा विद्यमान कानुनी व्यवस्थाअनुसार भिजिट भिसामा विदेश जाने नेपालीका हकमा कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पुग्नेछ ।

यस्तै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा श्रम स्वीकृति र राहदानीलगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाइएको छ ।

विभागले विदेश जाने नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह समेत गरेको छ ।

यसअघि वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू हुनेगरी हवाई टिकट, त्यसको बिल तथा म्यानपावरलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?