२८ चैत, काठमाडौं । पाकिस्तानले शनिबार युद्धरत अमेरिका र इरानलाई वार्ताको टेबलमा राखेर इस्लामावादमा अतिथ्यता दिँदैछ । इरानी सभ्यता नै नष्ट पारिदिने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानको मध्यस्थतामा इरान राखेको नयाँ प्रस्तावपछि दुई हप्ताको युद्ध विराम गर्न राजी भएका थिए ।
यद्धपि हालसम्म शान्तिवार्ताका सबैजसो मुद्दाहरू भने सुल्झिसकेका छैनन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमार्फत इरानबाट १० सूत्रीय प्रस्ताव प्राप्त भएको बताएका छन् । त्यसैलाई उनले ‘वार्ताको व्यवहारिक आधार’ करार गरेका छन् ।
उता इरानका विदेश मन्त्री अब्बास अरागचीले भने अमेरिकाले १५ सूत्रीय प्रस्ताव पठाएको बताएका छन् ।
पाकिस्तानको मध्यस्थतामा आज सुरु हुने वार्तामा ट्रम्पले अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सलाई कमान सुम्पिएका छन् । उनका सहयोगीका रूपमा ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुसनर पठाएका छन् । उनीहरूको टोली शनिबार इस्लामावाद पुगिसकेको छ ।

पाकिस्तानले वार्ताकार र वार्तास्थलको सुरक्षाको बलियो प्रबन्ध मिलाएको बताएको छ । उसले दुवै पक्षलाई निश्चिन्त हुन आश्वास्त पनि पारिसकेको छ ।
के आउला नतिजा ?
ट्रम्पका शीर्ष वार्ताकारहरू सहमति जुट्नेमा विश्वस्त छन् । उनीहरूले यो वार्ताबाट सहमति जुट्ने र युद्ध समाप्त हुनसक्ने विश्वास प्रकट गरेका छन् ।
आधिकारिक तवरबाट अहिलेसम्म दुवै पक्षका प्रस्ताव पेस भइसकेका छैनन् । तर, एकअर्का पक्षले आफूसम्म अनौपचारिक रूपमा पुगेका प्रस्ताव सार्वजनिक गरिसकेका छन् ।
यद्यपि विश्व समुदायमा अझैपनि तमाम संशय भने उठिरहेकै छन् । यूएईका राष्ट्रपतिका एक वरिष्ठ कूटनीतिक सल्लाहकार अनवर गर्गशले कैयौं विवरण अझैँ प्रष्ट आइनसकेको बीबीसीसँग बताएका छन् ।
‘इरान, अमेरिका र पाकिस्तानका तर्फबाट विरोधाभाषी बयान आइरहेका छन्,’ गर्गशले भनेका छन्, ‘हामीलाई यी बयानका विवरणमा सामञ्जस्यता स्थापित गराउन र सम्झनुपर्ने जरुरी छ कि अगाडि बढ्ने सही तरिका के हो ?’
इस्लामावाद वार्तामा मुख्यत: चार विषयमा छलफल हुने देखिन्छ । र, ती चार विषयबारे सहमति कसरी जुट्छ भन्नेमा विश्व समुदायको चासो दिइरहेका छन् ।
इरानको परमाणु कार्यक्रम
अमेरिकाले इरानमाथि हमेसा परमाणु हतियारको विकासमा तीव्रता दिएको आरोप लगाउँदैआएको छ । उसले अहिलेको युद्धको मूल कारण नै त्यसैलाई भनिरहेको छ ।
यद्यपि इरानले बारम्बार त्यसको खण्डन गरिरहन्छ । अमेरिकी अधिकारीको दाबीमा पछिल्ला १२ दिन चलेको युद्ध तथा अमेरिका र इजरायलको हमलामा इरानको परमाणु कार्यक्रममा ठूलै नोक्सानी पुगेको छ । क्षतिग्रस्त परमाणु कार्यक्रमको प्रगति अझै पुरानै अवस्थामा पुर्याउन इरानलाई लामो समय लाग्ने अमेरिकाको दाबी छ ।
इरानसँग रहेको भनिएको ४४० किलो अत्यधिक विकसित युरेनियमको भविष्यबारे अनेक सन्देह अहिले पनि विद्यमान छन् । अमेरिकाले गतवर्ष इरानको इस्फहानस्थित परमाणु अनुसन्धान केन्द्रमा गरेको हमलामा त्यो युरेनियम भग्नावशेषमूनी दबिएको हुनसक्ने आशंका गरिन्छ ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले बुधबार पत्रकारसँग भनेका थिए, ‘त्यो युरेनियमलाई २४ सैँ घण्टा गहिराइमा दबाएर सुरक्षा गरिन्छ । इरानसँग कोही परमाणु हतियार छैनन् होला, बस यहीँ खत्म भइसके ।’
उता इरानले भविष्यमा हुनसक्ने कुनैपनि सम्झौतामा परमाणु अप्रसार सन्धि(एनपीटी)का शर्तअनुसार नागरिक प्रयोगका लागि युरेनियम सम्बर्धन आफ्नो अधिकार रहेको बताउँदै त्यसलाई स्वीकार गर्नुपर्ने भनिरहेको छ ।
ओमान युद्ध सुरु हुनुभन्दा पहिले नै अमेरिका–इरानबीच मध्यस्थता गरिरहेको थियो । उसले एक व्यवहारिक सम्झौता विचाराधीन रहेको बताएको छ ।
इरानको मागअनुसार इरानले युरेनियम एनरिचमेन्टका कुनैपनि रूपको अनुमति दिन अमेरिका तयार हुन्छ कि हुँदैन ? त्यो अहिलेको वार्ताको अहं प्रश्न हुनेछ ।
रिपोर्टअनुसार ट्रम्पको १५ बुँदै सर्तमा परमाणु अनुसन्धानसँग जोडिएका कैयौं विषय रहेको बताइएको छ ।
जसमा इरानले आफ्ना सबै परमाणु संयन्त्र नष्ट गर्नुपर्ने, इरानी धर्तीमा युरेनियम एनरिचमेन्ट बन्द गर्नुपर्ने, एनरिच्ड युरेनियमका भण्डार आफ्ना देशबाहिकर लैजानुपर्ने र अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने विषय रहेको भनिएको छ ।
इरानका मिसाइल र ड्रोन
इरानका मिसाइल र ड्रोनका मामिलामा ट्रम्पका सर्त निकै कठोर रहेको भनिएको छ । ती सर्तमा इरानले ब्यालिस्टिक मिसाइल बनाउन नपाउने, लामो दूरीका मिसाइलका उत्पादन रोक्नुपर्ने, मध्यपूर्वमा रहेका आफ्ना प्रोक्सी र सहयोगीलाई ड्रोन तथा सैन्य सहायता दिन बन्द गर्नुपर्नेलगायतका बुँदा छन् ।
अमेरिकासँगको युद्धका क्रममा इरानका उन्नत मिसाइल कार्यक्रमले ठूलो सुरक्षा कवचको काम गरेका थिए । त्यही कार्यक्रमको जगमा उसको परमाणु कार्यक्रम पनि विकसित हुनसक्थ्यो ।
पेन्टागनका दाबीमा अहिले इरानको त्यो सुरक्षा कवचको ठूलो हिस्सा नष्ट भइसकेको छ । अमेरिकी सेनाका सहायक चिफ अफ स्टाफ जनरल ड्यान केनले इरानका ८० प्रतिशत मिसाइल फ्यासिलिटीज नष्ट भइसकेको दाबी गरे । यस्तै ८० प्रतिशत हवाई सुरक्षा प्रणाली र ९० प्रतिशत हतियार कारखाना पनि नष्ट भइसकेको उनको दाबी छ ।
अघिल्ला वार्तामा इरानले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई सीमित पार्न गरिएका अमेरिकी प्रस्ताव इन्कार गर्दैआएको छ । अब बदलिएको परिस्थितिमा उसले मिसाइल र ड्रोन कार्यक्रममा प्रतिबन्ध लगाउने अमेरिकी सर्त मान्छ कि मान्दैन ? यो प्रश्न अहिलेको वार्ताको प्रमुख चासोको विषय हुनेछ ।
होर्मुज स्ट्रेट
अमेरिका–इरान वार्ताको अर्को महत्वपूर्ण कडी होर्मुज स्टे«ट पनि हुनेछ । इरानले हालसम्म यसलाई आफ्नो अस्तित्व र इरान रक्षाको हतियार बनाएको थियो । विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा निर्यात हुने समुद्रीमार्ग मानिने होर्मुज स्ट्रेट इरानकै नियन्त्रणमा छ ।
जारी संकटमा इरानले होर्मुजमा नाकाबन्दी गर्दा अहिले विश्वभर ऊर्जा संकट निम्तिएको छ भने, महँगी पनि चुलिएको छ ।

केही समाचारअनुसार पछिल्लो समय इरानले होर्मुजबाट प्रतिजहाज २० लाख अमेरिकी डलरसम्मको शुल्क अशुल्ने योजना नै बनाएको थियो । त्यो राजस्व ओमानसँग बाँडेर लिने इरानको योजना रहेको समाचार आएका थिए ।
उता अन्य खाडी देशले भने इरानको त्यो योजना अस्वीकार गर्दैआएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको त्यो कदमलाई पूरै अस्वीकार भने गरेका छैनन् । बरु अमेरिका र इरान मिलेर व्यवस्थापन गर्नसक्ने कुरा एबीसी न्युजले लेखेको छ ।
पछिल्लो साता बेलायतले होर्मुज स्ट्रेटबारे ४० भन्दा बण्ी देशसँग छलफलको अध्यक्षता गरेको थियो । त्यो बैठकमा सहभागी सबैले युद्ध समाप्त हुनुपर्ने कुरा राखेका थिए ।
अमेरिका र इरानबीचको वार्ताको एक मुद्दा होर्मुज स्ट्रेटको सहजता र व्यवस्थापनबारे पनि हुनसक्ने अनुमान गरिएको छ ।
लेबनान तनाव
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका लेबनानसहित अन्य सबै क्षेत्रमा युद्धविराम गर्न सहमत भएको बताएका थिए ।
इरानले सबै मोर्चामा शत्रुता समाप्त गर्नेमा जोड दिइरहेको छ । जसमा उसले लेबनानमा इजरायलले गरिरहेको हमला पनि रोक्नुपर्ने भनिरहेको छ ।
तर, इजरायल हालसम्म त्यो विषयमा सहमत छैन र हिजबुल्लाहका अखडा भन्दै लेबनानमा हमला जारी राखेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान–अमेरिकाबीचको युद्धविराम लेबनानमा लागु नहुने भन्दै आएका छन् ।
यो विषयमा पनि इस्लामावादमा हुने वार्तामा छलफल हुनसक्ने देखिन्छ ।
–बीबीसीको सहयोगमा
प्रतिक्रिया 4