News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले बिसु चाड आठ दिनसम्म मनाउने गर्छन्।
- चाडको पहिलो दिन भूमिपूजा गरी खेतीपातीको आधार मानिने जमिनको पूजा गरिन्छ।
- चाडमा धनुषवाण प्रतियोगिता, वनभोज, पितृपूजा लगायत सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ।
२९ चैत, धनकुटा । मुलुकभरमा धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बिसु अर्थात् बैशाखे चाडको यतिबेला रौनक छ ।
नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुखशान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ । आठ दिनसम्म मनाइने यस चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो र प्रमुख पर्वका रूपमा विशेष धुमधामका साथ मनाउने गर्छन् ।
तर, यसपटक भने तिथी घटबढका कारण चाड चैत महिनामा परेको छ । विसु चाड रामनवमी पछिको दोस्रो सोमबारबाट सुरु भइ आठदिनसम्म अर्थात तेस्रो सोमबारसम्म मनाउने गरिएको किरातँ आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टबहादुर आठपहरियाले जानकारी दिए ।
चाडको पहिलो दिन सोमबार भूमिपूजाको रुपमा गरी खेतीपातीको आधार मानिने जमिनको पुजा गर्ने गरिएको छ । दोस्रो दिन मंगलबार आठपहरियाको देवस्थल मार्गाथानको सरसफाइ र लिपपोत गरिन्छ भने तेस्रो दिन मार्गाथानमा कुखुरा तथा सुँगुरको बलि चढाउने परम्परा रहेको छ ।
चौथो दिन राँगा र सुँगुरको भोज (भेजो) लगाउने चलन छ भने पाँचौँ दिन पितृपूजा गर्ने गरिएको छ । छैटौँ दिन वल्लोपल्लो गाउँका बुढापाका र युवायुवतीहरू भेला भई संयुक्त रूपमा वनभोज आयोजना गरी रमाइलोपूर्वक चाड मनाइन्छ । पछिल्लो समय बनभोज जाने चलन भने हराउँदै गएको छ ।
सातौँ दिन “ताराआप्मा” अर्थात् धनुषवाण प्रतियोगिता आयोजना गरिन्छ । विशेषगरी धनकुटाको बिहीबारे हटियास्थल नजिक रहेको मार्गाथान क्षेत्रमा यो प्रतिस्पर्धा हुने गर्दछ । यस क्रममा युवायुवतीहरूले लक्ष्यमा बाण प्रहार गर्दै आफ्नो सीप प्रदर्शन गर्छन्, जसले चाडमा थप रौनक ल्याउने गरेको छ । विगतमा धनुषबाण प्रतियोगिता जित्नेलाई पैसाको हारी माला लगाइदिने गरेको भएपनि अहिले हारी माला लोप भएकाले केही पुरस्कार दिने गरिएको समाजका केन्द्रीय अध्यक्ष आठपहरियाले जानकारी दिए । उनले समयसँगै यस अभ्यासमा केही परिवर्तन आए पनि यसको सांस्कृतिक महत्व अझै जीवित रहेको बताए ।
आठौँ तथा अन्तिम दिन मार्गाथानमा विशेष पूजा गरी वर्षभरि अन्नपात र बालीनाली राम्रो होस् भन्ने कामना गर्दै चाडको समापन चलन रहेको किरातँ आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सुर्य आठपहरियाले जानकारी दिए । साथै बैशाख पूर्णिमासम्म रोटेपिङ र लिंगेपिङ खेल्दै तथा कुलपितृको पूजा गरी पर्वलाई पूर्णता दिने गरिएको भएपनि पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ । यस अवधिमा देशविदेश तथा टाढाटाढा रहेका आठपहरियाहरू आफ्नो जन्मथलो फर्किने परम्पराले गाउँबस्तीलाई थप जीवित बनाउने गरेको छ । चाडमा विशेषगरी महिलाको सुख–समृद्धिका लागि घर तथा कोठेबारीमा पूजा गर्ने चलन पनि रहेको छ ।
आठपहरिया समुदायले बिसु चाडपछि भदौरे अर्थात न्वागी र मंसिरे अर्थात वाडाङ्मेट चाडसमेत विशेष रूपमा मनाउने गर्छन् । आठपहरियाले सबैभन्दा ठूलो चाड भने वाडाङ्मेटलाई मान्दछन् । वाडाङ्मेटमा पहिलो सन्तान जन्मेकोमा खुसीयाली तथा वर्षभरि बाबु वा आमा गुनाउनेका सन्तान तीन दिनको पैदल यात्रा गरेर सुनसरीको बराहक्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर केश दाह्री मुण्डन गरी सामूहिक रुपमा बरखी फुकाउने गर्दछन् । आफ्नै मौलिक पहिरनमा पुरुषहरूले इष्टकोट, दौरा सुरुवाल लगाउने तथा महिलाहरूले म्याख्ली, सिन र हारि धारण गर्ने गर्दछन् ।
धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया जातिको जनसंख्या करिब ६ हजारको हाराहारीमा रहेको छ ।
प्रतिक्रिया 4