+
खेलकुद समीक्षा २०८२ :

नेपालको स्वर्णिम पहिचान बन्दै ट्रेल रनिङ

२०८२ चैत  २९ गते १८:४७ २०८२ चैत २९ गते १८:४७

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, प्राप्त उपलब्धि र पदकको आधारमा हेर्ने हो भने यस वर्ष ट्रेल रनिङमा नेपालले सबैभन्दा धेरै सफलता हात पार्‍यो ।

नेपालको स्वर्णिम पहिचान बन्दै ट्रेल रनिङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनमाया बुढाले स्पेनमा वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा महिलातर्फ ८२ किमिमा रजत पदक जितेकी छन् ।
  • प्रिया राईले हङकङमा भएको एसिया ट्रेल मास्टरमा लगातार दोस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाइन् ।
  • मनकुमार मगर, अर्जुन कुलुङ राई र सुमन कुलुङले विभिन्न अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गरे ।

२९ चैत, काठमाडौं । क्रिकेटमा टी-२० विश्वकप, फुटबलमा विवादै विवादले चर्चा पाएको वर्ष २०८२ मा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हात पार्ने देखि प्रभाव छोड्ने खेल बन्यो ट्रेल रनिङ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, प्राप्त उपलब्धि र पदकको आधारमा हेर्ने हो भने यस वर्ष ट्रेल रनिङमा नेपालले सबैभन्दा धेरै सफलता हात पार्‍यो ।

सुनमाया बुढाले वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको ऐतिहासिक रजत पदक र वर्ल्ड ट्रेल मेजर्सको उपाधि जितेकी प्रिया राईले कीर्तिमानी दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) उपाधि नेपाली अल्ट्रा ट्रेल रनरले हात पारेको ठूलो अन्तर्राष्ट्रिय सफलता हुन् ।

यस्तै राममाया बुढा, मनकुमार मगर, अर्जुन कुलुङ राई, सुमन कुलुङ लगायत ट्रेल रनरहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पारे ।

ट्रेल रनिङमा यस्ता उपलब्धि हात पार्ने र अन्तर्राष्ट्रिय रेसहरूमा दौडिरहने नेपाली धावकहरूको सूची लामै छ । तर मुख्य गरी माथि नाम उल्लेख भएका खेलाडीहरूले यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चर्चित बनाउने काम गरे ।

नेपालका पहाडी भूगोल, उच्च उचाइ र प्राकृतिक संरचनाले गर्दा ट्रेल रनिङमा नेपाली खेलाडीहरूलाई विशेष फाइदा पुर्‍याएको देखिन्छ ।

सुनमायाले स्पेनमा वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङमा जितेको ऐतिहासिक रजत पदकले नेपाललाई विश्व ट्रेल रनिङको नक्सामा बलियो रूपमा उभ्यायो । उनको उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली खेलकुदको सामूहिक गर्व हो ।

सुनमाया बुढा पछिल्लो समय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चित ट्रेल रनर हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न रेसमा दौडँदै उपाधि जितिसकेकी छिन् ।

वर्ष २०८२ मा पनि उनले आप्नो लय कायम राख्दै महत्वपूर्ण उपलब्धि हासिल गरिन् । यस वर्ष सुनमायाले मुख्य गरी दुई ठूला रेसमा ऐतिहासिक प्रदर्शन गरिन् ।

उनले असोजमा स्पेनमा भएको वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा नेपालका लागि ऐतिहासिक रजत जितेकी हुन् ।

उनले महिलातर्फ लङ डिस्ट्यान्सको ८२ किमीमा रजत जितेकी हुन् । सुनमायाले जितेको पदक नेपालबाट कुने पनि खेलाडीले वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलो पटक हो । च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र साङ्गे शेर्पाले सहभागिता जनाएका थिए ।

पुरुषतर्फ पनि नेपाली खेलाडीहरूको प्रदर्शन एसियन धावकहरूमध्ये उत्कृष्ट रहेपनि पोडियममा फिनिस गर्न भने सकेनन् ।

यस्तै सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना भएको अल्ट्रा ट्रेल १०० किमि रेसको उपाधि जित्दै वर्ल्ड ट्रेल मेजर्सको उपाधि पनि जितेकी थिइन् ।

चाइनिज कम्पनी कैलास फुगाले सुनमायाले प्रायोजन गर्दै आएको छ । जसले गर्दा उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहज भएको छ । जुम्लाबाट उदाएकी सुनमाया अहिले विश्व ट्रेल रनिङको स्टारको रुपमा स्थापित हुँदै नेपालको नाम चर्चित बनाइरहेकी छिन् ।

दिदी सुनमाया जस्तै बहिनी राममाया बुढाले पनि अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । वर्ष २०८२ मा राममायाले वर्ल्ड ट्रेल मेजर सर्ट डिस्ट्यान्समा समग्रमा दोस्रो स्थान हात पार्दा वर्षको अन्त्यमा चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरिन् ।

यस्तै प्रिया राई नेपाली अल्ट्रा ट्रेल रनिङमा अनसङ हिरोको रुपमा छिन् । पछिल्लो समय ट्रेल रनिङमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय सफलता हात पारिरहेका छन् ।

सुनमाया बुढा राममाया बुढा प्रिया राई मनकुमार मगर अर्जुन कुलुङ राई सुमन कुलुङजस्ता खेलाडीहरूले विदेशमा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसमा तुलनात्मक रुपमा प्रियाको कम चर्चा भएको देखिन्छ । उनले एसिया ट्रेल मास्टर्सको लगायता दोस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाइन् । उनी एसिया ट्रेल लगातार दुईपटक जसत्ने पहिलो र एकमात्र महिला धावक समेत हुन् ।

सुनमाया बुढा जस्तै अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी अर्की नेपाली धावक हुन प्रिया राई ।

प्रिया राईको लागि पनि वर्ष २०८२ विशेष रह्यो । उनले एसिया ट्रेल मास्टर (एटीएम) मा कीर्तिमान बनाइन् । यस वर्ष हङकङमा भएको एसिया ट्रेल मास्टरको उपाधि जित्दै प्रियाले लगातार दुई पटक यो प्रतियोगिता जित्ने कीर्तिमान बनाइन् । उनले यसअघिको संस्करण पनि जितेकी थिइन् । एटीएमको इतिहासमा लगातार दोस्रो पटक उपाधि जित्ने प्रिया पहिलो र एक मात्र महिला धावक हुन् । त्यो सौभाग्य नेपाली धावकले प्राप्त गर्नु नेपालको लागि पनि गौरवको विषय हो ।

यस्तै प्रियाले माघमा म्यानमारको कालावालमा कालाव अल्ट्रा ट्रेल रन अन्तर्गत ५० किमीमा स्वर्ण जितेकी थिइन् । प्रियाले निर्धारित दूरी ५ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पूरा गरेकी थिइन् । प्रियाले कोर्स रेकर्डसहित स्वर्ण जित्दै अर्को कीर्तिमान बनाएकी हुन् ।

यस्तै पुरुष अल्ट्रा धावकहरू मनकुमार मगर, अर्जुनल कुलुङ राई र सुमन कुलुङले पनि यस वर्ष राम्रो प्रदर्शन गरे ।

मनकुमार मगरले एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिप फाइनल्स २०२६ अन्तर्गत हङकङमा भएको दी ९ ड्रागन मनकुमार पहिलो भएका हुन् ।

५०/५० क्याटेगोरीको रुपमा रहेको यो विभामा रनरले पहिले ५० माईल दौडेपछि आराम गरेर फेरि ५० किमी दौडनुपर्छ । मन कुमारले सुरुको ५० माईल १० घण्टा २६ मिनेट ७ सेकेण्डमा पूरा गरेका थिए भने कूल दूरी भने १६ घण्टा ५४ मिनेट ४५ सेकेण्डाा पूरा गरे ।

मनकुमारले चैतमा अस्ट्रेलियामा सञ्चालन भएको बफेलो स्टेमपेड फेस्टिभल अन्तर्गत बफेलो स्टेमपेड १०० किमी दौडमा पनि दोस्रो स्थान हात पारेका थिए ।

उनी पुरुष तर्फ यू-२३ क्याटेगोरीमा १० घण्टा ३६ मिनेट ४५ सेकेण्ड समय सहित दोस्रो भएका थिए ।

अर्जुन कुलुङ राई

यस्तै अर्का धावक अर्जुन कुलुङ राईले पुषमा हङकङमा भएको द नर्थ फेस १०० किमी अल्ट्रा ट्रेल च्यालेन्ज दौडको उपाधि जितेका थिए ।

कठिन मानिने यस रेसमा अर्जुनलले निर्धारित १०० किमी दुरी अर्जुनले १२ घण्टा २ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

मन कुमार र सुमन कुलुङले स्पेनमा वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङमा पनि दौडेका थिए । जहाँ पुरुषतर्फ ८२ किमीमा सुमन ३२औं र मनकुमार ३६औं स्थानमा रहे ।

सुमन कुलुङले हङकङ र अष्ट्रियामा पनि ट्रेल रनिङमा भाग लिएका थिए । उनी वर्षको अन्तिममा भएको इस्ट्रिय १०० बाई युटिएमबीमा दोस्रो भएका थिए ।

ट्रेल रनिङ पछिल्लो समयमा नेपालमा राम्रो सम्भावना भएको साहसिक खेलको रुपमा रहेको छ । यस खेलमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

नेपालमा पनि मञ्जुश्री ट्रेल रेस, जुम्ला अल्ट्रा रारा म्याराथन देखि पोखरा, सिन्धुपाल्चोक, भोजपुर, सोलुखुम्बुमा विभिन्न अल्ट्रा ट्रेल रेसहरूको आयोजना हुँदै आएको छ ।

मञ्जुश्री र जुम्ला अल्ट्रा रारा एसिया ट्रेल मास्टरको क्वालिफिकेसन रेसको रुपमा रहेको छ । यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू अन्तर्राष्ट्रिय रेसमा पुग्नेछन् ।

ट्रेल रनिङ

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय