News Summary
Generated by OK AI. Editorially reviewed.- चार्ली टेलरले भनेका छन्– नेपाली युवा विश्वका नेता हुन् र नेपालमा जेनजी आन्दोलनपछि संवैधानिक प्रक्रियाबाट नयाँ सरकार सत्तामा आएको छ।
- जेनजी आन्दोलन रेडिट र डिस्कर्ड जस्ता सामाजिक सञ्जालबाट आह्वान भएको थियो र युवाले डिजिटल स्पेसलाई आन्दोलनको मुख्य हतियार बनाएका थिए।
- जेनजी आन्दोलनपछि बनेको सरकारले संविधानको घेराभित्रै चुनाव सम्पन्न गराएको र डिजिटल प्रचारले चुनावी प्रतिस्पर्धामा ठूलो भूमिका खेलेको छ।
२९ चैत, काठमाडौं । केही दिनअघि बीबीसी वर्ल्ड सर्भिसका कार्यकारी निर्माता चार्ली टेलरले हामीसँगको कुराकानीमा भनेका थिए– नेपाली युवा विश्वका नेता हुन् ।
नेपालमा गत भदौमा भएको जेनजी आन्दोलनलाई नजिकबाट नियालेका चार्लीका आफ्नै अनुभव छन् । जस्तो, पछिल्ला केही वर्षमा बंगलादेश, केन्या, मोरक्को, माडागास्कर, फ्रान्सलगायत धेरै देशमा भएका युवा आन्दोलनलाई उनले नजिकबाट हेरे । आन्दोलनका विभिन्न प्रकृति र तरिकाबारे बुझे ।
चार्लीको अनुभवले भन्छ– नेपाल मात्र त्यस्तो देश हो जहाँ आन्दोलनपछि संवैधानिक प्रक्रियाबाट चुनाव भयो र युवाका भावना अनुरूपकै नयाँ सरकार सत्तामा आयो । यिनै कारण नेपाल अहिले विश्वभरका मानिसका लागि, विशेषगरी ती देशहरूका लागि जहाँ यस्तै आन्दोलन भएको छ, एउटा उदाहरण र उत्सुकताको विषय बनेको छ ।
‘नेपालका युवा अहिले विश्वका नेता हुन् । संसारले नेपाललाई हेरिरहेको छ,’ उनले भने ।
चार्ली जस्ता कयौं देशी–विदेशी अध्येताहरूको चर्चाको केन्द्रमा रहेको युवा आन्दोलनको सुरुवात आफैँमा पृथक छ । सम्भवत: पहिलोपटक कुनै आन्दोलन ‘रेडिट’ मार्फत आह्वान भएको थियो । तत्कालीन सरकारले सामाजिक सञ्जाल नियमनको नाममा जसरी यसमाथि प्रतिबन्ध लगायो, त्यो नै ‘ट्रिगर प्वाइन्ट’ बनेको यो आन्दोलनमा डिजिटल स्पेसलाई नै युवाले हतियार बनाइदिए ।
तत्कालीन समयमा प्रतिबन्धित रेडिटबाटै युवाले ‘नेतातन्त्र’ विरुद्ध आन्दोलनको विगुल फुके । रेडिटमा ‘नेपाल सोसल’, ‘नेपाल’ जस्ता कम्युनिटीमा जोडिएका युवाहरूले ८ सेप्टेम्बरमा भष्ट्राचार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताउँदै सो अभियानलाई तताए ।
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप ।’
जेनजीले आन्दोलन आह्वान गर्दा यस्तै नाराहरू दिएका थिए । माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेका युवाले सडकसम्म आमयुवालाई ल्याउन सामाजिक सञ्जालको भरपुर प्रयोग गरे । आन्दोलनको नेतृत्व कसले गर्छ, थाहा थिएन । कसले सम्हाल्छ थाहा थिएन ।
तर, उद्देश्य थियो– सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ ।

चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेन्ड’ होस् या सडक आन्दोलन, जेनजीले घोषणा गरिसकेका थिए, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ । जेनजीले यसरी सामाजिक सञ्जाल तताइरहँदा अघिल्ला पुस्ताका अधिकांशले यो आन्दोलनले नयाँ पुस्ताको राजनीतिक चेतना स्तरलाई मापन गर्ने बताइरहे ।
कति संख्यामा युवा सडकमा उत्रन्छन् भन्ने कुनै आकलन थिएन । त्यसैले यदि युवाहरू साँच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले सरकारलाई मात्र होइन, सिङ्गै राजनीतिक संस्कृतिलाई चुनौती दिन सक्ने अनुमान थियो ।
नभन्दै त्यस्तै भयो । सामाजिक सञ्जालको बलमा जुटेका युवाले भदौ २३ गते माइतीघर–बानेश्वरका गल्ली–गल्लीमा प्रतिरोधका आवाज घन्काए । नेतृत्वविहीन मानिएको यो आन्दोलनलाई कतिपयले ‘एल्गोरिदम मुभमेन्ट’ पनि भन्न भ्याए । सामाजिक सञ्जालमा फ्लायरहरू आउन थालेपछि त्यसकै भावनाले सबैलाई स्वतस्फूर्त एकजुट बनाएको तर्क सुनिए ।
युवा विश्लेषक नवीन तिवारी भन्छन्, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा कसैले घरघर गएर बोलाएको होइन । युवाहरू स्वतस्फूर्त आफैँ ‘मोटिभेट’ भएर सडकमा उत्रिए । यसमा समाजिक सञ्जालको नेक्ससले काम गर्यो । आफ्नो भावनासँग मिल्ने फ्लायरहरू सञ्जालमा आउन थालेपछि हरेक युवाले सेयर/पोस्ट गर्न थाले । सोही कारण २३ गतेको उपस्थिति र आक्रोश देखियो ।’
हुन पनि २३ भदौको आन्दोलनको झिल्को रेडिटमा देखिए पनि सबैभन्दा प्रभावशाली प्लेटफर्म भने ‘डिस्कर्ड’ बन्यो । आम–समाजका लागि रेडिट र डिस्कर्ड दुवै नयाँ प्लेटफर्म थिए । रेडिट युवाहरूले छद्म नाम राखेर आफ्ना भावना पोख्ने प्लेटफर्म थियो भने डिस्कर्ड भिडियो गेम खेल्नेहरूको मञ्च थियो । सोही प्लेटफर्मबाट युवाहरू संगठित बने ।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’ लगायतमा पनि इनरुवा, धरान जस्ता शहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएको थियो । न कुनै राजनीतिक दल, न कुनै विद्यार्थी संगठनको झण्डा । स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजिज्’ लगायतका नारा दिएको थियो ।

फेसबुक, इन्स्टाग्राम लगायतका ‘स्टोरिज’मा पनि यो अभियानले व्यापकता पायो । जस्तो, आन्दोलनका अघिल्लो दिनसम्म ‘स्टोरी’मा यसमा एउटा पोस्ट राखियो, जसमा सबैलाई रिपोस्ट गर्न अनुरोध गरिएको थियो । यसरी पोस्ट गरिएका स्टोरीमा जाँदा ‘एड योर्स’ भन्ने बटन देखिन्थे । त्यसमा थिचेपछि आफ्नो फेसबुक स्टोरीमा पनि सोही कुरा पोस्ट हुन्थ्यो । यी कुराले पनि आन्दोलनमा युवाको आम–सहभागिता बढाउन भूमिका खेल्यो ।
त्यस्ता पोस्टमा लेखिएको थियो, ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिए पनि नेताहरू हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौँ– इनफ इज इनफ ।’
सँगसँगै आन्दोलनमा बल पुर्याएको थियो, टिकटक लगायतका प्लेटफर्ममा फैलिएको ‘नेपोबेबी’ ट्रेन्डले । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको थियो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरियो ।
यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भए । ह्यासट्याग ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ जस्ता अभियान चलाइयो । नेताका छोरीछोरीको विदेश सयर, विलासी सामान प्रयोगदेखि अन्य ऐस–आराम देखाइँदा नागरिकका छोराछोरी विदेशिइरहेको, काठका बाकसमा लास भित्रिएको अनि गाउँघरमा दु:ख पाएका दृश्य देखाइयो ।
‘हाम्रो कर कहाँ जान्छ ?’ भन्दै डिजिटल स्पेसबाटै सत्तालाई प्रश्न गरियो । संसद् भवनभित्र सांसद उभिएका दृश्य राखेर ‘द स्ट्यान्डअप कमेडी सर्कस’ भन्दै हालियो । पत्तै नपाई युवाहरूको डिजिटल मोर्चा बन्दै थियो, जुन विदेशमा अभियानबाट प्रभावित भएको पनि देखिन्छ ।

जस्तो, नेपालअघि फिलिपिन्स र इन्डोनेसियामा पनि यस्तै ट्रेन्ड चलेको थियो ।lifestylecheckPH नामक सब–रेडिटमा सहित अन्य सामाजिक सञ्जालमा त्यहाँका जेनजीहरुले फिलिपिन्समा आफ्ना नेताहरूको विलासितालाई सार्वजनिक गरे थिए ।
फिलिपिन्समा पनि बाढी नियन्त्रणका आयोजनामा भएको भनिएको अनियमितताबारे सार्वजनिक छानबिन तीव्र थियो । त्यसैले त्यहाँ पनि रेडिट जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर ठेकेदार र सरकारी अधिकारीका सन्तानको विलासी जीवनशैली युवाहरूले सार्वजनिक गरेका थिए ।
त्यस्तै, इन्डोनेसियाका पूर्वराष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि उत्पन्न विवादले उग्र रूप लियो । त्यसपछि त्यहाँ पनि सुरु भएको थियो– नेपो बेबी ट्रेन्ड ।
यसरी विश्वव्यापी बनिरहेका यस्ता ट्रेन्डको लहरो नेपालसम्मै तानियो । यही लहरोले आक्रोशित बनेका युवामा घिउ थपिदियो– सरकारले गरेको सामाजिक सञ्जाल बन्दको निर्णयले ।
यसरी सामाजिक सञ्जालको बलमा सडकमा उत्रिएका युवाको आन्दोलनलाई डोहोर्याउने माध्यम बन्यो, डिस्कर्ड । भदौ २३ मै १९ जना युवा मारिएको खबर आएपछि सामाजिक सञ्जाल झन् तात्तियो । भोलिपल्ट (भदौ २४) को आन्दोलनमा तोडफोड र आगजनीका योजना पनि डिस्कर्डबाटै फैलन थाले ।
डिस्कर्डमा ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ लगायतका सर्भर सक्रिय थिए । यसमा युथ अगेन्स्ट करप्सन अहिलेका गृहमन्त्री सुधन गुरुङबाट सञ्चालित ‘हामी नेपाल’को थियो । युवा हव नामको सर्भर पनि २२ गते बाटै नै एक्टिभ भएको थियो । तिनै सर्भरहरूबाट भदौ २४ गतेको विद्रोहका लागि को, कहाँ र कतिबेला कसरी भेला हुने भन्ने कुरा फैलिएको थियो ।
जेनजी आन्दोलनपछि बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि यसबारे बोलेको छ । आयोगको प्रतिवेदनअनुसार, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको तयारी र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक भयो । यसबारे आयोगले मिथ्या सूचना र घुसपैठको जोखिम शीर्षकमा छुट्टै घटना विश्लेषण गरेको छ ।
आन्दोलनमा क्रममा होस्टलमा बलात्कार भएको र मृत्यु संख्या बढाइचढाइ गरिएको मिथ्या सूचना फैलिएको र त्यसले भिडलाई उत्तेजित बनाएको पनि प्रतिवेदनमा छ । यसको लागि डिस्कर्डका सर्भरहरूबाट विभिन्न ठाउँको नाम राखी विभिन्न प्रयोजनका लागि च्यानलहरू निर्माण गरिएको थियो ।
यसरी आन्दोलनबाट तत्कालीन सत्ता ढलेपछि देश एक किसिमको राजनीतिक संक्रमणबाट गुज्रनुपर्ने अवस्थामा पुग्यो । त्यो अवस्थामा अन्तरिम सरकार गठनको लागि पनि डिस्कर्डकै प्रयोग युवाहरूले गरे । एकातिर जंगी अड्डामा चल्दै गर्दा यता डिस्कर्डमा भावी प्रधानमन्त्रीबारे छलफल चल्दै थियो । सोही प्लेटफर्ममा प्रधानमन्त्रीको लागि भोटिङ नै चल्यो ।
अन्तत: जेनजीले इतिहासलाई नै चकित तुल्याउने गरी डिस्कर्डमै मतदान गरेर बहुमतलाई स्वीकार्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरे । सोहीअनुसार कार्की देशको प्रधानमन्त्री बनिन् ।
कार्की नेतृत्वको सरकारको दायित्व संविधानको घेराभित्रै रहेर तोकिएको समयमा चुनाव सम्पन्न गराउनु थियो । सरकारले तोकिएकै समयमा चुनाव सम्पन्न त गरायो, तर यसको प्रतिस्पर्धामा पनि डिजिटल भूगोल सबैभन्दा शक्तिशाली बनेर उभियो । सामान्य र परम्परागत प्रचारशैलीलाई किनारामा धकेल्ने गरी ‘वार–रुम’ खडा भए । विशेषगरी बहालवाला प्रधानमन्त्री बालेन शाह र उनकै पार्टी रास्वपा यसमा सबैभन्दा अगाडि देखियो ।
अन्य पार्टीका नेता/कार्यकर्ता पनि कम देखिएनन् । रास्वपा समर्थकहरूले ‘घण्टी डट वेबसाइट’ ल्याएपछि चुनावी प्रचार थप रोचक देखियो । यो खोलेपछि रास्वपाको चुनाव चिह्न घण्टी देखिने र मोबाइल हल्लाउँदा घण्टी बज्ने गरी बनाइएको थियो । यसले सामाजिक सञ्जालदेखि घरदैलोमा पनि व्यापकता पायो ।
नेपाली कांग्रेस पनि के कम ? सभापति गगन थापामाथि लाग्ने गरेको बाख्राको आरोपलाई राजनीतिक पूँजीमा बदल्न कार्यकर्ताले ‘मटन डट वर्ल्ड’ बनाइदिए । उक्त साइट खोल्दा ‘मटनकाजीलाई भोट किन दिने ?’ भन्दै थापाका एजेन्डा राखिएको थियो । त्यस्तै, अंग्रेजीमा गोट (G.O.A.T) लाई यसकारण मत दिनुहोस् भन्दै थापाका विगतका इतिहास र भविष्यका योजना राखिएको थियो ।
यसरी नेता/कार्यकर्ताको जुहारी मैदानमा भन्दा धेरै यसपटक सामाजिक सञ्जालमै देखिए । बाहिर शान्तिपूर्ण देखिए पनि चुनावभर सञ्जाल भने शान्तिपूर्ण देखिएन । टिकटक/रिल्सदेखि विभिन्न माध्यमलाई राजनीतिक दलले आफ्नो हतियार बनाए । यसका लागि सबैभन्दा सक्रिय देखिए, युवा पुस्ता ।
डिजिटल स्पेसलाई विद्रोहको नयाँ मोर्चाको रूपमा स्थापित गरेका युवाले अब चुनावी प्रतिस्पर्धा पनि डिजिटल भूगोलमा धेरै हुने संकेत देखाइसकेका छन् । पर्याप्त आधार नदेखिए पनि क्लिक फार्मिङ र बट फार्मिङका बहस पनि यसपटकको चुनावमा यत्रतत्र देखिए । कतिपयले त एल्गोरिदमले चुनावी नतिजालाई नै प्रभावित पारेको बताएका थिए ।
डिजिटल प्रविधि विज्ञ तथा दूरसञ्चार प्राधिकरण पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल अब यी कुरालाई नजरअन्दाज गर्न नहुने बताउँछन् । ‘एल्गोरिदमले अब हाम्रो बानी, रुचि, दिनचर्या सिकिसक्यो । यद्यपि, त्यो ‘फिड’ पनि हाम्रै व्यवहारको प्रतिविम्ब हो,’ खनालले भने, ‘अब यही कुरा राजनीतिमा पनि लागु हुन्छ । भदौ २३/२४ को आन्दोलन होस् वा पछिल्लो चुनाव, दुवैमा सोसल मिडियाले मान्छेको सोचाइ र निर्णयमा ठूलो भूमिका खेलेको देखियो । जब सबैको हातमा स्मार्टफोन छ र दिनको घन्टौं समय सोसल मिडियामा बित्छ, त्यो प्रभावलाई अब कम आक्नु हुँदैन ।’

त्यस्तै, युवा विश्लेषक नवीन तिवारी पनि डिजिटल स्पेसमा खेल्दै हुर्किएको यो पुस्ता आइसकेकाले परम्परागत शैलीमा ब्रेक लागेको बताउँछन् ।
उनका अनुसार, हिजोका दिनसम्म पार्टी संरचना जुन तरिकाले बन्थ्यो, अहिले आएको नयाँ पार्टीको हकमा पनि त्यो देखिएन । पुराना पुस्ताका मान्छेका अनुभव सुन्दा उनीहरू गाउँ पुग्थे । टोलटोलमा संगठन विस्तार गर्थे । तर अहिले नयाँ भनिएको दल रास्वपाको उदयको आधार नै सामाजिक सञ्जाल बन्यो ।
‘हिजोको दिनको स्कुलिङ र आजको फरक छ । हिजोको तुलनामा आज हरेक व्यक्ति आफैँ कन्टेन्ट राख्न सक्छ । सामान्य मान्छे पनि सेलेब्रटी बनिरहेको छ,’ तिवारीले भने, ‘मान्छे जति पपुलर बन्छ, उसको समर्थक र आलोचक बढ्छ । आजको डिजिटल स्पेसले सबैलाई यसबारे सचेत गरायो । र, सबैले यसैलाई आफ्नो प्रचारको हतियार बनाए ।’
बालेन शाह उदयको उदाहरण दिँदै तिवारीले थपे, ‘हिजोको दिनमा कुनै नेतासँग जोडिनको लागि विचार वा केही मान्यता मिल्नुपर्थ्यो । तर अहिले लाइक, कमेन्ट, सेयर र सोसल मिडिया प्रोफाइल हेरियो । बालेन हिजोका दिनमा कुनै राजनीतिक फिगर होइनन् । र्यापर हुँदाहुँदै एकाएक काठमाडौंको मेयर भए, अहिले प्रधानमन्त्री बने ।’
त्यसैले अबको समयमा डिजिटल स्पेसलाई कम आक्न नहुने र यस्ता सञ्जाल नै आधुनिक समयमा निर्णायक मोर्चा रहने तिवारीको तर्क छ ।
जेनजी अगुवा तनुजा पाण्डे परम्परागत शैलीमा जानुभन्दा डिजिटल स्पेसको प्रयोगले प्रचारप्रसारमा सहज हुने र आर्थिक बोझ पनि कम हुने भएकाले यसप्रति आकर्षण बढेको बताउँछिन् । उनका अनुसार, भौतिक रूपमा सिभिक स्पेस सबैको पहुँचमा हुँदैनन् । कति आर्थिक कारण, कति भौगोलिक कारण– आमयुवाका लागि सहज पहुँचमा छैनन् ।
त्यसैले यो पुस्ताले सामाजिक सञ्जाललाई नै प्रतिरोधको नयाँ हतियार बनाएको पाण्डेले बताइन् । यो वर्ष नै हेर्दा पनि आन्दोलनदेखि चुनावसम्मै सामाजिक सञ्जाल नयाँ मोर्चाको रूपमा खडा भयो । चाहे विद्रोहको होस् या चुनावी मोर्चा, यी सबैले डिजिटल स्पेस यसका आधार बन्दै गएको देखिन्छ ।
‘…किनकि, यसले रियल टाइममा बहस छेड्छ । इन्स्टान्ट कम्युनिकेसन हुन्छ । सबै भूगोललाई एकैपटक जोड्छ,’ कारण खुलाउँदै पाण्डेले भनिन्, ‘जबकि, यसअघि पहिला योजना बनायो, अनि कार्यान्वयनमा जाँदा केही समय लाग्ने हुन्थ्यो । तर अहिले सञ्जालको सहारा लिँदा पैसा कम लाग्छ । प्रचार छिटो हुन्छ । नेटवर्क बनाउन पनि सहज हुन्छ । पेम्प्लेट बाँड्नभन्दा फ्लाइर बनाउन युवालाई सहज बनायो । त्यसैले डिजिटल स्पेस युवामैत्री बन्दै गएको छ भन्न सकिन्छ ।’
प्रतिक्रिया 4