News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको रुपनीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न १३ वटा प्लटहरू भाडामा उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ।
- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्राथमिकता प्राप्त र नेपाल सरकारबाट इजाजतपत्र पाएका उद्योगहरूलाई मात्र सहभागी हुन अनुमति दिएको छ।
- प्लटहरूको क्षेत्रफल ५ देखि ७ रोपनीसम्म रहेको र प्रस्ताव फाराम सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र खरिद गरी २२ औं दिन दिउँसो १२ बजेभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
३० चैत, काठमाडौं । सप्तरीको रुपनीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा नयाँ उद्योगहरू स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गा भाडामा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ।
औद्योगिक क्षेत्रभित्र विकसित गरिएका विभिन्न १३ वटा प्लटहरूमा उद्योग सञ्चालन गर्न इच्छुक उद्यमी तथा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरिएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको शाखा कार्यालय, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रले एक सार्वजनिक सूचना प्रकाशित गर्दै जग्गा भाडामा दिन लागिएको जानकारी दिएको छ ।
‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ (संशोधन सहित)’ को विनियम ५ बमोजिम प्राथमिकता प्राप्त र नेपाल सरकारबाट विधिवत इजाजत पत्र प्राप्त गरेका उद्योगहरू यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
भाडामा उपलब्ध गराइने जग्गाहरूमा उद्योगका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधारहरूको पूर्ण व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
जग्गासँगै सडक, विद्युत्, पानी र ढलको उचित प्रबन्ध मिलाइएकाले उद्यमीहरूलाई उद्योग स्थापना गर्न सहज हुने विश्वास लिइएको छ ।
सूचना अनुसार प्लट नम्बर १ देखि ७ सम्म, प्लट नम्बर ८, ९ र १० तथा प्लट नम्बर १४, १५ र १६ गरी कुल १३ वटा प्लटहरू भाडामा दिन लागिएको हो । यी प्लटहरूको क्षेत्रफल न्यूनतम ५ रोपनीदेखि अधिकतम ७ रोपनी बढीसम्म रहेको छ ।
इच्छुक उद्योगीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालयबाट प्रस्ताव फाराम खरिद गरिसक्नुपर्नेछ । खरिद गरिएको सिलबन्दी प्रस्ताव सूचना जारी भएको २२ औं दिनको दिउँसो १२ बजेभित्र पेस गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।
प्रस्ताव फाराम खरिद तथा बुझाउनका लागि सप्तरीको रुपनीस्थित शाखा कार्यालय वा काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
यस सम्बन्धी थप जानकारी तथा विस्तृत सर्तहरू औद्योगिक क्षेत्रको आधिकारिक वेबसाइट www.izml.gov.np कार्यालयको सूचना पाटीमा हेर्न सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4