News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कृतिशरत्न छुन्जुले भुटान प्रिमियर लिगको थिम्पु एफसीसँग अनुबन्ध गरेका छन्।
- थिम्पु एफसीले सोमबार कृतिशलाई भुटानमा स्वागत गरेको भिडियो पोस्ट गरेको छ।
- कृतिशले भुटानमा खेल्न उत्साहित रहेको र जित्नकै लागि खेल्ने बताए।
३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कृतिशरत्न छुन्जुले भुटान प्रिमियर लिग खेल्ने भएका छन् ।
भुटान प्रिमियर लिगको नयाँ टोली थिम्पु एफसीले नयाँ सिजनका लागि नेपालका कृतिशलाई अनुबन्ध गरेको छ । भुटान प्रिमियर लिगको क्वालिफायर्सबाट छनोट भएको थिम्पु एफसीले सोमबार कृतिशलाई भुटानमा स्वागत गरेको भिडियो पोस्ट गरेको छ ।
भुटानमा खेल्न आफू उत्साहित रहेको र जित्नकै लागि खेल्ने कृतिशले बताएका छन् । उनले टिमसँग राम्रो कम्बिनेसन मिलाएर खेल्ने बताए ।
२३ वर्षीय अट्याकिङ मिडफिल्डर कृतिशले केही समय स्थगित भएको राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) बाट खेलेका थिए । सुरुमा अन्जन विष्ट अनुपस्थित हुँदा कृतिशले एनआरटीको कप्तानी समेत गरेका थिए ।
नेपालको उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगेका कृतिशले नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको मार्की खेलाडी बनेका थिए ।
कृतिशले गत जुनमा एएफसी उसियन कप छनोटमा लाओस विरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट ४ खेल खेलेका छन् ।
उनले उमेर समूहमा साफ यू-२० च्याम्पियनसिप, एएफसी यू-२० एसियन कप छनोट र एएफसी यू-२३ एसियन कप छनोट पनि खेलेका छन् ।
प्रतिक्रिया 4