+
+
Shares

प्रदीप अधिकारीको अनुसन्धान राडारमा देखिएका नवीनराज बस्नेत स-परिवार जर्मनी गए

बस्नेत कतार एअरवेजको क्यूआर ६४७ नम्बरको फ्लाइटमार्फत शुक्रबार साँझ जर्मनी उडेका हुन् । उनी श्रीमती एलिसा गौतमसहित जर्मनी गएको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ चैत ३० गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँगको सम्बन्धमा रहेका ठेकेदार नवीनराज बस्नेत २७ चैतमा परिवारसहित जर्मनी गएका छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पक्राउ गरेका अधिकारीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसमेतको अनुसन्धान भइरहेको छ।
  • अनुसन्धानले अधिकारीलाई धम्क्याउने, तान्त्रिक प्रयोग गर्ने र उग्रवादी संगठन खोलेर धम्की दिने प्रयास भएको देखाएको छ।

३० चैत, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारीसँगको सोझो कनेक्सनमा देखिएका ठेकेदार नवीनराज बस्नेत  विदेश  गएका छन् ।

अधिकारीसँगको कनेक्सनबारे अनलाइनखबरले समाचार प्रकाशन गरेको तीन दिनपछि उनी बाहिरिएका हुन् । दोलखा घर भई हाल भक्तपुरको एक हाउजिङमा बस्दै आएका ३७ वर्षीय बस्नेत १० अप्रिल अर्थात् २७ चैत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको पाइएको छ ।

उच्च स्रोतका अनुसार बस्नेत कतार एअरवेजको क्यूआर ६४७ नम्बरको फ्लाइटमार्फत शुक्रबार साँझ जर्मनी उडेका हुन् । उनी श्रीमती एलिसा गौतमसहित विदेश गएको भेटिएको छ । कतार एअरवेजको प्यासेन्जर लिस्टको १३औं नम्बरमा बस्नेतको नाम छ ।

बस्नेतकै संलग्नतामा अधिकारीले मुद्दा  सामसुमका लागि शक्तिकेन्द्रमार्फत चलखेल गर्नेदेखि तान्त्रिक र अन्डरवर्ल्ड डनको नाम लिएर धम्क्याउने गरेकोबारे २४ चैतमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो ।

अनलाइनखबरसँगको कुराकानीमा आरोप अस्वीकार गरेका उनै बस्नेत तीन दिनपछि स–परिवार विदेश  गएको भेटिएको छ । स–परिवार विदेश  हिँडेपछि  उनीमाथि लागेको आरोप थप पुष्टि भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ मंसिरमा अधिकारीलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको थियो ।

भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा अनियमितता भएको आरोपमा पक्राउ परेका अधिकारी २१ मंसिरमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भए । नलिञ्चोक हेलिपोर्ट प्रकरणमा पक्राउ परेर कारागार चलान भएका अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारका दुई वटा मुद्दा पनि दायर भएको छ ।

नवीनराज बस्नेत

नलिञ्चोक हेलिपोर्ट र पोखरा विमानस्थल भ्रष्टाचारमा पक्राउ परी कारागारमा रहेका अधिकारीमाथि अहिले सम्पत्ति शद्धीकरणदेखि संगठित अपराध, आपराधिक लाभ लिन नहुने, आपराधिक षड्यन्त्र गर्न नहुने लगायतको कसुरमा अनुसन्धान भइरहेको छ ।

यही अनुसन्धानको क्रममा बस्नेत पनि जोडिएका हुन् । पहिल्यैदेखि चिनजानमा रहेका र अधिकारीसँग नजिक रहेर काम गर्दै आएका बस्नेतमार्फत अख्तियारलाई मिलाउन प्रयास गरिएको भेटिएको थियो ।

बस्नेत तिनै व्यक्ति हुन् जसले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।

अनलाइनखबरलाई प्राप्त अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे कुराकानी भएको प्रष्ट देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका थिए ।

प्रदीप अधिकारीले २३ नोभेम्बर २०२५ को राति ११:०७ बजे मात्रै ‘राजेश दाइसँग कुरा भयो’ भनेर नवीन बस्नेतलाई ह्वाट्स एपमा म्यासेज गरेको देखिन्छ ।

म्यासेजमा बस्नेतले ११:१० को राति कुर्दै छु, भित्र किचेनमा भनेर जवाफ फर्काउँछन् । बस्नेतले अर्को म्यासेज पठाउँछन्– बासँग पनि भेट्छु । दाइ, मसँगै छौं ।

२५ नोभेम्बरको राति ११:१० बजे बस्नेतले अधिकारीलाई ह्वाट्स एपमा म्यासेज गर्दै ‘गति छाडेर भए पनि गर्छु दाइ, टेन्सन नलिनू’ भनेर म्यासेज पठाउँछन् ।

यो प्रयासबाट अख्तियारको मुद्दा सामसुम पार्न असफल भएपछि उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्नेसम्मका काम भएको अनुसन्धानबाट खुलेको छ ।

उग्रवादी संगठनको लेटर प्याडसमेत बनाएर बस्नेतले नै अधिकारीलाई ह्वाट्स एपमा पठाएको देखिन्छ । डीएफएल (डिजिटल फरेन्सिक ल्याब) रिपोर्टअनुसार उक्त लेटर प्याड बस्नेतको मोबाइल नम्बरबाट ह्वाट्स एपमार्फत प्रदीप अधिकारीलाई पठाएको खुलेको छ ।

यही लेटर हेडमार्फत एक सूचना निकाल्दै प्रकाश पाठकले अख्तियार प्रमुखसमेत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । तत्काल राजीनामा नदिए मार्ने धम्की पाठकले भिडियोमार्फत नै दिएका थिए । यसरी धम्की दिन लगाउन पाठकलाई २ करोडको सुपारी दिएकोसमेत पाइएको छ ।

तान्त्रिक विधिबाट आरोप मुक्त हुने उपाय पनि प्रदीप अधिकारीले गरेका थिए । भारतको आसाम राज्यको गुवाहाटीमा रहेको कामाख्या देवी मन्दिरको गुरु बताउने भारतीय तान्त्रिक बाबा ४३ वर्षीय सरया किन्नेरा (जय जगदब्बे) नाम गरेका तान्त्रिक बाबाको प्रयोग गरेको देखिन्छ ।

जय जगदम्बे बाबालाई अख्तियार प्रमुख राईको फोटो पठाई चम्टा (तान्त्रिक विधिबाट हानि–नोक्सानी) गर्न लगाएको भेटिएको छ । त्यसपछि जय जगदम्बेले अख्तियार प्रमुख राईको प्रतिमा बनाई तान्त्रिक तन्त्र–मन्त्र गर्दै हतियारले घोचेर आगोमा जलाएको भिडियोसमेत तान्त्रिक बाबाले अधिकारीलाई पठाएको भेटिएको छ ।

अहिले ‘फरार’ बस्नेत तिनै व्यक्ति हुन् जो सांसद ‘अपहरण’ गरेर काठमाडौं ल्याएको भनिएको घटनामा पनि जोडिएका व्यक्ति हुन् ।

२०७७ वैशाख १० मा तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा महोत्तरी पुगेर सांसद तथा पूर्वस्वास्थ्य मन्त्री सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको थियो । यो घटनामा अहिले फरार भएका बस्नेत पनि जोडिएका थिए । यसअघि बस्नेतको नाम गुण्डागर्दी पृष्ठभूमिका व्यक्ति पनि जोडिँदै आएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?