News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पिउने पानीको बोतल र जारमा नयाँ लेबलिङ तथा गुणस्तर नियमन लागू गरेको छ।
- पानीको बोतलमा थप प्लास्टिकको नेकसिल प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र एम्बुसिङ वा स्क्रिन प्रिन्ट अनिवार्य गरिएको छ।
- जारमा खाद्य प्रविधि विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर र उत्पादक विवरण स्पष्ट देखिने गरी लेबलिङ गर्नुपर्ने व्यवस्था गरिएको छ।
३० चैत, काठमाडौं । सरकारले बजारमा उपलब्ध हुने पिउने पानी (बोतल तथा जार) को गुणस्तर सुनिश्चित गर्न भन्दै नयाँ लेबलिङ तथा गुणस्तर नियमन सम्बन्धी व्यवस्था लागु गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै पानीका बोतल र जारको प्याकेजिङमा फेरबदल गर्ने निर्णय गरेको हो ।
विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र नेपाल बोतल वाटर तथा नेपाल पानी उद्योग महासंघका प्रतिनिधिहरू सम्मिलित समन्वयतात्मक बैठकले उपभोक्ताको स्वास्थ्य र वातावरणलाई मध्यनजर गर्दै नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब पिउने पानीको बोतलमा बिर्को सिल गरिसकेपछि त्यसको माथि थप प्लास्टिकको ‘नेकसिल’ वा बाह्य प्लास्टिक लेयर प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
प्लास्टिकको थप प्रयोगले वातावरणीय प्रदूषण बढाउने भन्दै यसको सट्टामा अब उत्पादकहरूले बोतलको बिर्कोमै आफ्नो पहिचान खुल्ने गरी एम्बुसिङ, स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट अनिवार्य रूपमा गर्नुपर्नेछ ।
यस्तो व्यवस्था कार्यान्वयन गर्न उद्योगीहरूलाई सूचना जारी भएको मितिले ३५ दिनको समयावधि प्रदान गरिएको छ । यससम्बन्धी विस्तृत प्राविधिक मापदण्ड भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्ने बताइएको छ ।
त्यसैगरी, पिउने पानीको जारको हकमा पनि नयाँ नियम कडाइका साथ लागु हुने भएको छ । अबदेखि जारमा उत्पादकले आफ्नो विवरण स्पष्ट देखिनेगरी एम्बुसिङ वा स्क्रिन लेबलिङ गर्नुपर्नेछ ।
जारमा अनिवार्य रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर र उत्पादक कम्पनीको नाम, ठेगाना वा सबै विवरण समेटिएको लोगो उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ उत्पादन हुने जारहरूको हकमा यो व्यवस्था तत्कालै लागु हुनेछ भने पुराना जारहरूको व्यवस्थापन र पूर्ण कार्यान्वयनका लागि उद्योगीहरूलाई ६० दिनको समयसीमा दिइएको छ ।
यस नियमको कार्यान्वयन भए–नभएको अनुगमन गर्न वाणिज्य विभाग, वातावरण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा बजार निरीक्षण गर्नेछन् ।
प्राविधिक पक्षहरूका सम्बन्धमा खाद्य प्रविधि विभागले थप सूचनाहरू जारी गर्नेछ । तोकिएको समयभित्र नयाँ मापदण्ड पालना नगर्ने उद्योगीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ ।
प्रतिक्रिया 4