+
+
Shares

टर्कीविरुद्ध इजरायलले किन गर्‍यो यस्तो टिप्पणी ?  

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफको एउटा अभिव्यक्तिमा इजरायलले जवाफ दिएको केही दिनपछि टर्की र दक्षिण कोरियाका राष्ट्रपतिले इजरायलको कडा टिप्पणीको सामना गर्नुपरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १९:१२

३० चैत, काठमाडौं । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफको एउटा अभिव्यक्तिमा इजरायलले जवाफ दिएको केही दिनपछि टर्की र दक्षिण कोरियाका राष्ट्रपतिले इजरायलको कडा टिप्पणीको सामना गर्नुपरेको छ।

सामाजिक सञ्जालमा इजरायली प्रधानमन्त्री नेतन्याहु र देशका अन्य नेताहरूले टर्कीका राष्ट्रपतिको उक्त अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले भनेका थिए, ‘यदि पाकिस्तानले मध्यस्थता नगरेको भए टर्की इजरायलविरुद्धको युद्धमा सामेल हुने थियो।’

टर्कीका राष्ट्रपतिको मात्र होइन, इजरायलले दक्षिण कोरियाका राष्ट्रपतिको सामाजिक सञ्जाल पोस्टविरुद्ध पनि कडा आलोचना गरेको छ।

यसै सन्दर्भमा, सामाजिक सञ्जाल एक्समा यूजीआईका निर्देशक प्रोफेसर फ्रान्कोइस बेलोले लेखेका छन्, ‘गत हप्तादेखि इजरायल स्पेन, फ्रान्स, इटाली, दक्षिण कोरिया, पाकिस्तान र टर्कीसँगको कूटनीतिक विवादमा अल्झिएको छ। यो स्थिति लामो टिक्ने देखिँदैन र यो अझै बिग्रने सम्भावना छ।’

उनले थपेका छन्, ‘विश्वव्यापी जनमत धेरै हदसम्म इजरायलको विरुद्धमा गएको छ र लोकतान्त्रिक सरकारहरूले अन्ततः आफ्ना जनताको रायलाई ध्यानमा राख्नैपर्ने हुन्छ।’

कोरियाली राष्ट्रपतिको निन्दा

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङको सामाजिक सञ्जालमा इजरायली सेनाद्वारा कथित रूपमा मानवअधिकार उल्लंघन गरिएको एउटा भिडियो पोस्ट भएपछि इजरायल उनीप्रति आक्रोशित भएको हो।

जवाफमा इजरायली विदेशमन्त्रीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरियाली राष्ट्रपति ली जे-म्युङको इजरायलमा ‘होलोकस्ट रिमेम्बरेन्स डे’ भन्दा एक दिनअघि यहूदीहरूको नरसंहारलाई सामान्य रूपमा प्रस्तुत गरिएको अभिव्यक्ति स्वीकार्य छैन र त्यसको कडा निन्दा गरिनुपर्छ।’

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङ

विज्ञप्तिअनुसार, ‘राष्ट्रपति ली जे-म्युङले कुनै अनौठो कारणले सन् २०२४ को एउटा कथालाई रिट्वीट गरे र एउटा नक्कली एकाउन्टको चर्चा गरे, जसले यसलाई गलत तरिकाले अहिलेको घटना भन्दै प्रस्तुत गरेको थियो। उक्त एकाउन्ट इजरायलका विरुद्ध गलत सूचना र झुट फैलाउनका लागि कुख्यात  छ।’

विज्ञप्तिमा भनिएको छ, ‘जुन घटनाको कुरा भइरहेको छ, त्यो आतंकवादीहरू विरुद्धको एउटा अपरेसनका क्रममा भएको थियो, जतिबेला इजरायली सैनिकहरूलाई आफ्नो ज्यानको प्रत्यक्ष र तत्काल खतरा थियो। उक्त घटनाको दुई वर्षअघि नै पूर्ण रूपमा अनुसन्धान गरी टुङ्गो लगाइएको थियो।’

विज्ञप्तिमा कोरियाली राष्ट्रपतिलाई लक्षित गर्दै भनिएको छ, ‘यति हुँदाहुँदै पनि, हामीले राष्ट्रपतिबाट ती आतंकवादीहरूका बारेमा एक शब्द पनि सुनेका छैनौं जो यस घटनाको केन्द्रमा थिए। न त हामीले राष्ट्रपतिबाट हालै इजरायली नागरिकहरूमाथि भएका इरानी र हिजबुल्लाह आतंकवादी हमलाहरूका बारेमा नै कुनै शब्द सुन्न पाएका छौँ।’

विज्ञप्तिको अन्त्यमा कोरियाली राष्ट्रपतिलाई पोस्ट गर्नुअघि तथ्य जाँच गर्न सल्लाह दिइएको छ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले यसको जवाफ दिँदै इजरायली विदेश मन्त्रालयले ‘दक्षिण कोरियाली राष्ट्रपतिको अभिव्यक्तिलाई गलत रूपमा बुझेको, जसको उद्देश्य मौलिक मानवअधिकारप्रतिको उनको दृढ विश्वासलाई व्यक्त गर्नु मात्र थियो’ भनेको छ। दक्षिण कोरियाले आफू हरप्रकारका हिंसात्मक कार्यहरूको निन्दा गर्ने कुरा समेत स्पष्ट पारेको छ।

‘पाकिस्तानको मध्यस्थता नभएको भए हामी युद्धमा सामेल हुने थियौँ’

टर्कीले इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुलाई ‘आजको युगको हिटलर’ भन्दै उनी इरान र अमेरिकाबीचको शान्ति वार्तालाई बिथोल्न चाहन्छन् भन्ने आरोप लगाएको छ।

टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, जसलाई उनले गरेका अपराधहरूका कारण हाम्रो समयको हिटलर भनिन्छ, उनी एक परिचित व्यक्ति हुन् र उनको विगतको रेकर्ड सबैका सामु छर्लङ्ग छ।’

विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतन्याहुविरुद्ध युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ। नेतन्याहुको सरकार मातहत इजरायलमाथि अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मा नरसंहारको आरोप समेत लागेको छ।’

‘नेतन्याहुको लक्ष्य अहिले चलिरहेको शान्ति वार्तालाई बिथोल्नु र यस क्षेत्रमा आफ्नो विस्तारवादी नीतिलाई निरन्तरता दिनु हो। यदि उनी यसमा असफल भए भने, उनले आफ्नै देशमा मुद्दाको सामना गर्नुपर्ने हुन सक्छ र सायद जेल पनि जानुपर्ने हुन सक्छ।’

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहु

टर्कीको विदेश मन्त्रालयका अनुसार, ‘हाम्रा राष्ट्रपतिमाथि इजरायली अधिकारीहरूले जुन आधारहीन, निर्लज्ज र झुटो आरोप लगाएका छन्, त्यो हामीले हरेक मञ्चमा निरन्तर उठाइरहेको सत्यबाट पैदा भएको चिन्ताको परिणाम हो।’

यो अभिव्यक्ति इजरायली प्रधानमन्त्रीले हालै टर्कीका राष्ट्रपति विरुद्ध व्यक्त गरेका भनाइहरूपछि आएको हो।

इजरायली प्रधानमन्त्रीले हालै एक्समा भनेका थिए, ‘मेरो नेतृत्वमा इजरायलले इरानको आतंकवादी शासन र त्यसका प्रतिनिधिहरूका विरुद्ध लडाइँ जारी राख्नेछ, एर्दोगानको विपरित जसले उनीहरूलाई स्वीकार गर्छन् र आफ्नै कुर्द नागरिकहरूको नरसंहार गर्छन्।’

टर्कीका राष्ट्रपतिले यसअघि एक अभिव्यक्ति दिएका थिए, ‘युद्धविरामको दिन इजरायलले सयौँ निर्दोष लेबनानीहरूको हत्या गर्‍यो। नेतन्याहु रगत र घृणामा आँखै नदेख्ने भएका छन्। यदि पाकिस्तानको मध्यस्थता नभएको भए हामी युद्धमा सामेल हुने थियौँ।’

विज्ञहरूका अनुसार टर्कीको सबैभन्दा ठूलो चिन्ता तेहरानको सरकार ढल्न सक्ने र इरान गृहयुद्ध तथा क्षेत्रीय अराजकतामा फस्न सक्ने कुरा हो। यसका अतिरिक्त, सिरिया पनि यी दुई देशबीच बढ्दो तनावको एउटा मुख्य कारण बनेको छ।

ख्वाजा आसिफको अभिव्यक्तिमा विवाद

यसअघि इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफको उक्त अभिव्यक्तिको निंदा गरेको थियो, जसमा उनले इजरायली सरकारलाई ‘क्यान्सर’ भनेका थिए।

पाकिस्तानी रक्षामन्त्रीले एक्समा एक पोस्ट गर्दै यस्तो आरोप लगाएका थिए, ‘जब इस्लामावादमा वार्ता भइरहेको छ, तब लेबनानमा नरसंहार भइरहेको छ। इजरायली अपरेसनमा निर्दोष नागरिकहरू मारिएका छन्, पहिले गाजामा, त्यसपछि इरानमा र अहिले लेबनानमा, रक्तपातको यस्तो सिलसिला चलिरहेको छ जसलाई रोक्न सकिँदैन।’

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफ

यस अभिव्यक्तिमा ख्वाजा आसिफले इजरायली सरकारलाई ‘क्यान्सर’ भनेका थिए र यसको स्थापनाका बारेमा कडा शब्दहरू प्रयोग गरेका थिए। तर, इजरायलका बारेमा पाकिस्तानी रक्षामन्त्रीको उक्त पोस्ट अहिले एक्समा उपलब्ध छैन।

ख्वाजा आसिफको उक्त अभिव्यक्तिको केही घण्टापछि इजरायली प्रधानमन्त्रीको कार्यालयले एक्समार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायललाई समाप्त पार्ने पाकिस्तानी रक्षामन्त्रीको आह्वान अत्यन्तै उत्तेजक छ।’

‘यो यस्तो अभिव्यक्ति हो जसलाई कुनै पनि सरकारले सहनै सक्दैन, विशेषगरी त्यस्तो सरकारले जसले शान्तिका लागि बिना कुनै भेदभाव मध्यस्थकर्ता हुने दाबी गर्दछ।’

इजरायली विदेशमन्त्री गिदोन सारले पनि पाकिस्तानी रक्षामन्त्रीको सामाजिक सञ्जाल पोस्टप्रति कडा प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘यहुदी देशलाई क्यान्सर भन्नु उसको विनाशको आह्वान गरे सरह हो।’

उनले कडा शब्दमा लेखेका छन्, ‘इजरायलले ती आतंकवादीहरूबाट आफ्नो रक्षा गर्नेछ, जो यसको विनाश चाहन्छन्।’

(बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?