News Summary
Generated by OK AI. Editorially reviewed.- समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित जग्गामा भाडा नतिर्ने संघ-संस्था र व्यवसायीका पसलमा सोमबार ताला लगाएको छ।
- परिषद्ले १० करोड ५४ लाख रुपैयाँ भाडा नतिरेको संस्था र व्यवसायीहरूको नाम र रकम सार्वजनिक गरेको छ।
- काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयले सबैभन्दा धेरै १ करोड ७६ लाख रुपैयाँ भाडा तिर्न बाँकी रहेको परिषद्ले जनाएको छ।
३० चैत, काठमाडौं । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गामा बसेर वर्षौंदेखि भाडा नतिर्ने संघ-संस्था, निजी व्यवसायीका पसल तथा मिडियाका कार्यालयमा सोमबार ताला लगाइयो ।
परिषद्ले भाडा सम्झौता गरेर यो वर्षको अन्तिम दिन (आज) सम्म चुक्ता नगर्ने संस्था तथा व्यवसायीहरूको नाम र भाडा वापतको वक्यौता रकमसमेत सार्वजनिक गरेको छ ।
परिषद्का सदस्यसचिव सरोजकुमार शर्माका अनुसार सामाजिक संस्था, खाजा पसल, जुत्ता पसल, मिडिया कार्यालय, विद्यार्थी संगठन लगायतले १० करोड ५४ लाख रकम चुक्ता गरेका छैनन् । विगतमा पटकपटक पत्रचार र पत्रपत्रिकाबाट सूचना प्रकाशित गर्दासमेत भाडा तिर्न अटेरी गर्दै आएको सदस्यसचिव शर्माले जानकारी दिए ।
पटकपटक भाडा वापतको रकम बुझाउन ताकेता गर्दासमेत अटेरी गरेपछि सोमबार ताला लगाउनु परेको परिषद्ले स्पष्ट पारेको छ ।
२१ चैत २०८१ मा ३५ दिने म्याद, गत माघमा पत्रचार र गत फागुनमा १५ दिने म्यादलाई समेत बेवास्ता गरिएपछि ताला लगाउनु परेको सरकारी पक्षले जानकारी गराएको छ ।
परिषद्ले २०५४ सालदेखि भाडा नतिर्नेको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार हरि अमात्यको नाममा रहेको ४३ नम्बर स्टलले २०५४ साउनदेखिको भाडा तिरेको छैन । ऋषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लबले ७३ लाख ४० हजार ९०१ रुपैयाँ समाज कल्याण परिषद्लाई तिर्न बाँकी छ ।

सदस्यसचिव शर्माका अनुसार ५६ स्टलले भाडा तिरेका छैनन् । तीमध्ये ३६ वटाले भाडा नतिरी स्थान अर्को व्यक्ति वा संस्थालाई हस्तान्तरण गरेका छन् । विगतमा समाज कल्याण परिषद्सँग सम्झौता गर्ने व्यक्तिले भाडा वापतको रकम चुक्ता नगरी पसल अर्को व्यक्तिलाई हस्तान्तरण गर्दा थप समस्या उत्पन्न भएको छ ।
सोमबार दलबलसहित ताला लगाउन गएका परिषद्का कर्मचारीसँग केही व्यवसायीको भनाभनसमेत भएको थियो । परिषद्सँग सम्झौता गर्ने व्यक्ति र हाल पसल सञ्चालन गर्ने व्यक्ति फरक-फरक हुँदा ताला लगाउने क्रममा विवाद भएको थियो ।
पसलको स्वामित्व परिवर्तन भएको जानकारी व्यवसायीले परिषद्लाई जानकारी नदिने र परिषद्ले समेत नयाँ व्यक्तिसँग पुनः सम्झौता नगर्दा भाडा असुल उपर गर्न समस्या रहेको पसलेहरूले जानकारी गराएका छन् ।
ताला लगाउने टोलीसँग व्यवसायीको गुनासो थियो, ‘पसलको स्वामित्व फेरिएकाहरूको अद्यावधिक गर्न सूचना किन निकाल्नु हुन्न ?’ पसल र संघसंस्था सञ्चालन गर्नेहरूबाट २ करोड ७४ लाख रुपैयाँ भाडा उठाउन बाँकी रहेको परिषद्ले जानकारी दियो ।
भृकुटीमण्डपमा रहेको परिषद् मातहतमा २१४ रोपनीमा भवन, स्टल, बुथहरू सञ्चालित छन् । परिषद्ले टहराहरूको लागि प्रति वर्गफिट ८६ रुपैयाँ र पक्की भवनहरूको हकमा प्रति वर्ग फिट ९६ रुपैयाँ तोकेको छ ।
को-कोले तिरेनन् भाडा
सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको संस्था काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय रहेको समाज कल्याण परिषद्ले जानकारी दिएको छ । यो संस्थाले सञ्चालन गरेको ६८ नम्बर स्टलको १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । अर्को स्टल ३४ नम्बरले १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ ।
उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ तिरेको छैन । उपभोक्ता मञ्च नेपाल स्टल १ र २, सामाजिक संस्था उपभोक्ता मञ्चले २०५४ माघ २ गतेदेखि भाडामा लिएको थियो । तीन वर्ष अवधि थपेरसमेत २०५७ माघ १ गते अवधि सकिएको थियो ।
असुल उपर गर्न ६ पटक प्रयास गरिए पनि सम्भव नभएको परिषद्ले जानकारी गराएको छ । दुई स्टल लिएको उपभोक्ता मञ्चले परिषद्को स्वीकृति विना एउटा स्टल अर्कै व्यक्तिलाई खाजा पसल सञ्चालन गर्न दिएको छ ।
लोकतान्त्रिक शहीद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७० तिर्नुपर्ने रकम पाँच पटक पत्राचार गर्दा पनि चुक्ता नगरेको समाज कल्याण परिषद्ले जनाएको छ । यस संस्थाले पनि परिषद्को स्वीकृति विना खाजा पसल सञ्चालन गर्न व्यक्तिलाई भाडामा लगाएको छ ।
राष्ट्रिय अपांग महासंघले पनि १ करोड १६ लाख ३२ हार २७ रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ । बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल स्टल नम्बर ७४ ले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ भाडा तिरेको छैन ।

समाज कल्याण मातहत रहेको भवनमा प्रयोग गरेर भाडा नतिर्नेमा नेकपा एमालेको विद्यार्थी संगठन पनि छ । अनेरास्ववियुले स्टल नम्बर ६० र ६१ भाडामा लिएको र २०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको परिषद्ले जनाएको छ ।
नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार ९५७ रुपैयाँ तिर्न बाँकी छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले २०६२ माघ १९ देखिको ३३ लाख ७ हजार ४२१ रुपैयाँ तिरेको छैन । हालसम्म पाँच पटक पत्राचार एवं सार्वजनिक सूचना जारी गर्दासमेत महासंघ काठमाडौंले अटेरी गरेको परिषद्ले जनाएको छ ।
सेन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्सले १० लाख, मनकला श्रेष्ठ जुत्ता पसलले ७ लाख ४६ हजार २३, टीकाराम सिटौला जुत्ता पसलले ११ लाख ८० हजार ६२५, कृष्णप्रसाद लामिछाने जुत्ता पसलले ८ लाख ९८ हजार १६३, यशोदाकुमारी सेठी खाजा पसलले १० लाख ५९ लाख १५६ रुपैयाँ, हरि हमात्य खाजा पसलले ५ लाख १५ हजार ६६४ रुपैयाँ भाडा तिर्न बाँकी छ ।
नारायणकुमारी निरौला खाजा पसलले २ लाख ७३ हजार १३, बुद्धिराम भुसाल खाजा पसलले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिना खाजा पसलले ९ लाख ७ हजार ७१०, चित्रबहादुर पण्डित क्षेत्री खाजा पसलले २ लाख १९ हजार ५६७, नेपाल फोटो पत्रकार महासंघले २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ ।
समाज कल्याण परिषद्का सदस्य सचिव शर्माले विगतमा राजनीतिक दलको आडमा भाडा नतिरेको आशंका गरे । ‘राज्यलाई टेरेनन् । राजनीतिक संरक्षण पनि भयो होला । ताला लगाएपछि चुक्ता गर्नका लागि एक साताको अवधि दिन्छौं,’ सदस्य सचिव शर्माले भने, ‘त्यो अवधिमा पनि तिरेनन् भने असुल गर्न राज्यले अर्को कदम चाल्छ ।’
ताला लगाउन लाइब्रेरी छिरेपछि…
ताला लगाउने क्रममा अन्यको हकमा भन्दा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको दृथ्य भिन्न रह्यो । समाज कल्याण परिषद्का सदस्यसचिव शर्माको नेतृत्वमा दलबलसहित पुस्तकालयमा ताला लगाउन पुगेका थिए ।
सुरक्षाकर्मीसहित ठूलो संख्यामा पुस्तकालयको कक्षमा प्रवेश गरेपछि पाठकहरू आक्रोशित र भयभित भए । विद्यालय तह, उच्च शिक्षा अध्ययन गर्नेसहित करिब दुई दर्जन पाठक पुस्तकालयमा थिए । शान्त वातावरणमा अध्ययन गरिरहेका उनीहरू सुरक्षाकर्मीसहित ठूलो दलबल देखेपछि आक्रोशित बने । शान्त वातारण हुने पुस्तकालयमा होहल्ला सुरु भयो ।

भाडा उठाउनका लागि सरकारले गुण्डागर्दी शैली अपनाएको भन्दै केही पाठकले आक्रोश पोखे । एक जनाले भने, ‘पढिरहेको बेला किन आउनुभएको ? गुण्डागर्दी शैलीमा । भोलि हाम्रो परीक्षा छ । पढ्न लागेका बेला हामीलाई उठाएर भाडाको समस्या समाधान हुन्छ ? पाठकलाई टर्चर दिने ? व्यवस्थापकसँग कुरा गर्नु ? भाडा दोस्रो कुरा हो । पढाइ पहिलो कुरा हो ।’
पुस्तकालयका पाठकहरू आक्रोशित बनेपछि समाज कल्याण परिषद्का कर्मचारीहरू बाहिर आए । पुस्तकालयको गेटमा परिषद्का सदस्यसचिव सिंहले पुस्तकालयका व्यवस्थापक लिला भट्टराईलाई भाडा तिर्न ताकेता गरे । उनीहरू बीचमा केही समय भनाभन भयो ।
सदस्यसचिव सिंहले पुस्तकालयका व्यवस्थापक आफूलाई भेट्न नआएर मन्त्री र प्रधानमन्त्री कहाँ धाएको भन्दै त्यसो नगर्न चेतावनी दिए । विद्यार्थी एवं अन्य पाठकहरू अध्ययन गरिरहेको हुँदा पाँच बजेपछि पुस्तकालय बन्द गर्ने भन्दै सिंह सहितको टोली बाहिरियो ।
पछिल्लो समय गत माघ ८ गते समाज कल्याण परिषद्ले काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजलाई बक्यौता रकम बुझाउन पत्राचार गरेको थियो । ६८ नम्बर स्टलमा सञ्चालित पुस्तकालयका व्यवस्थापक लिला भट्टराईका अनुसार ७५ प्रतिशत छुट दरमा भाडा सम्झौता भएको थियो । पूर्वसम्झौता अनुसार भाडा तिरिरहेको तर हाल अकस्मात छुटभन्दा बाहिर भाडा रकम सार्वजनिक गरिएको भट्टराईले अनलाइनखबरसँग बताए ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइखबर
प्रतिक्रिया 4