News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले राष्ट्रिय प्रतिबद्धतामा साहसिक खेलकुद र अल्ट्रा म्याराथनलाई प्राथमिकतामा राखेर समावेश गरेको छ ।
- नेपालमा अल्ट्रा, ट्रेल रनिङ खेलकुदको ठूलो सम्भावना भए पनि पहिले सरकारको पहल कम थियो ।
- नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले दीर्घकालीन योजना बनाएर खेलकुदलाई विकास गर्नुपर्ने बताए ।
२ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो समयम अल्ट्रा, ट्रेस रनिङको राम्रो सम्भावना छ । देशभित्रै विभिन्न प्रतियोगिताहरू आयोजना हुने देखि नेपाली ट्रेल रनरहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदै उच्च सफलता समेत हात पारिसकेका छन् ।
विश्वकै चर्चित अल्ट्रा, ट्रेल रेस युटीएमबीमा सहभागी हुनेदेखि वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङमा ऐतिहासिक पदक जित्ने अनि वर्ल्ड ट्रेल मेजरको उपाधि जित्ने खेलाडीहरू नेपालभित्रै छन् ।
नेपालमा यो खेललाई सुहाउने ट्रेनिङ गर्ने ठाउँ रहेको र इभेन्ट आयोजनाका लागि पनि राम्रो ट्रेलहरू रहेकोले नेपालमा यो खेलको ठूलो सम्भावना छ ।
पछिल्लो समयमा सुनमाया बुढा, रसिला तामाङ, प्रिया राई,सुनल कुलुङ, अर्जुन कुलुङ राई, मनकुमार रोका मगरले अन्तर्राष्ट्रिय स्तरमा नेपालका लागि ठूलो सफलता हात पारेका छन् । तर उनीहरू ओझेलमा छन् ।
यो खेल खासै प्राथमिकतामा पर्न सकेको छैन । वर्ष २०८२ मा पनि नेपालले अन्तर्राष्ट्रिय इभेन्टहरूमा राम्रो सफलता हात पारेको थियो ।

यसैबीच नेपाल सरकारले राष्ट्रिय प्रतिबद्धतामा अल्ट्रा म्याराथन, साहसिक खेलकुद जस्ता विषयलाई समावेश गरेपछि भने सरकारको पनि यो खेलमा ध्यान गएको आभास भएको छ ।
सरकारले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा खेलकुद अन्तर्गत साहसिक खेलकुददेखि अल्ट्रा म्याराथन जस्ता विषय समावेश भएपछि अहिले नेपालको अल्ट्रा/ट्रेल र साहसिक खेलकुद कर्मीहरू उत्साहित भएका छन् ।
नेपालमा ठूलो सम्भावना भएर पनि ओझेलमा पर्दै आएको साहसिक खेलकुद गतिविधि मध्ये अल्ट्रा, ट्रेल रनिङहरूमा यसअघि सरकारको तर्फबाट खासै कुनै पहल हुन सकेको थिएन ।
तर वालेन्द्र शाहको नेतृत्वको नयाँ सरकारले अहिले यो विषयमा खेलकुद भित्र समावेश गर्दै अल्ट्रा म्यारथनको प्रवर्द्धन गर्ने र साहसिक खेलकुदमा निजी क्षेत्रको लगानीलाई भित्र्याउन पहल गर्ने प्रयास गरेको हो ।
सरकारले गत चैत २१ मा शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर ३ मा उल्लेख भएअनुसार निर्वाचनमा सहभागी राष्ट्रिय मान्यता पाएका ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिवद्धताहरूलाई समेटेर तयार पारिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता सोमबार सार्वजनिक गरिएको छ ।
जसमा बुँदा नम्बर १६ मा खेलकुद विषयलाई समावेश गर्दै खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, मानव विकास, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको मेरुदण्डको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।

त्यसमा विशेषगरी साहसिक खेलकुद र अल्ट्रा म्याराथन देखि क्रिकेट कुटनीति लगायत विषयमा समावेश गरिएको छ । राष्ट्रिय प्रतिबद्धतामा साहसिक खेलकुद र अल्ट्रा म्याराथनलाई प्राथमिकता दिएर समावेश गरिएको छ ।
‘साहसिक खेल र अल्ट्रा म्याराथन जस्ता नेपालका मौलिक सम्भावनाहरूलाई राष्ट्रिय गौरवको रुपमा प्रवर्द्धन गर्दै निजी लगानी प्रोत्साहित गरिनेछ’ राष्ट्रिय प्रतिबद्धतामा उल्लेख छ ।
सरकारको प्रतिबद्धता सार्वजनिक भएपछि नेपालमा अल्ट्रा, ट्रेल रनिङ जस्ता साहसिक खेलकुद हेर्ने खेल संघ नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले यसलाई स्वागत गर्दै अब यो खेललाई विकास गर्न सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।
यस्तै अल्ट्रा, ट्रेल रनिङका रनर धिरज बुढाले पनि सामाजिक सञ्जालमा स्ट्याटस राख्दै नयाँ सरकारको यो कदमले खुसी बनाएको उल्लेख गरेका छन् । ‘यो हामी ट्रेल रनरहरूको लागि खुसीको खबर हो । अहिलेसम्म नेपाल सरकारले यो साहसिक दौडलाई चिन्न सकेन । अब नयाँ जेन्जी सरकारले बुझिदिएकोमा हृदयदेखि नै धन्यवाद छ ।’
ट्रेल रनर तथा अञ्जुश्री ट्रेल रेसकी ब्राण्ड एम्बासडर समेत रहेकी रशिला तामाङ पनि सरकारको प्रतिवद्धताबाट केही हौसला मिलेको बताउँछिन् । ‘हामी पनि धेरै खुसी छौं । हामीले सुविधाहरू पाउन सक्छौं’ उनले भनिन् ।

नेपालमा पछिल्लो समयमा मञ्जुश्री ट्रेल रेस (एमटीआर), जुम्ला रारा अल्ट्रा ट्रेल रेस, फिस्टेल ट्रेल जस्ता विभिन्न अल्ट्रा, रेसहरू आयोजना हुँदै आएका छन् ।
नेपाली खेलकुदमा साहसिक खेलकुद ट्रेल रनको अथाह सम्भावना भएर पनि यसलाई सरकारले चिन्न नसक्दा र नीजि क्षेत्रको साथ र सहयोग आवश्यक मात्रमा पाउन नसक्दा त्यो परिश्रम र मेहनतले एउटा सार्थक रुपमा पाउन सकेको छैन ।
तर वालेन्द्र शाहको नेतृत्वमा आएको नयाँ सरकारले ने साहसिक खेलकुद ट्रेल रन जस्ता खेलकुदलाई अब प्राथमकितामा राखेर अघि बढाउने सम्भावना देखाएको छ ।
पाँचौ जुम्ला अल्ट्रा म्याराथनको पुरुषतर्फको विजेता समेत रहेका धावक धिरज बुढाले अल्ट्रा म्याराथनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्राथमिकता दिनुपर्ने र यस खेलका खेलाडीहरूलाई पनि अन्य खेल सरह सेवा र सुविधा दिनुपर्ने माग राखेका छन् ।
‘अबको नेपाल सरकारले खेलाडीहरूबीच विभेद नगरोस् । जस्तै: क्रिकेट, फुटबलका खेलाडीहरूलाई मात्रै र्याङकिङको आधारमा सेवा सुविधा दिने गरेको छ । विश्वकै साहसिक अल्ट्रा दौड वा ट्रेल रनरहरू अथवा अन्य विधामा रहेका सम्पूर्ण खेल र खेलाडीहरूलाई नयाँ जेन्जी सरकारले सेवा सुविधा दिनुपर्छ । यो हामी सम्पूर्ण खेलप्रेमीहरूको माग र आवाज हो । यो नयाँ सरकारलाई हेक्का रहोस् । जय खेलकुद’ उनले भने ।
दीर्घकालीन योजना बनाउनुपर्छ
मञ्जुश्री ट्रेल रेसका रेस डिरेक्टर आदर्श मिश्रले सरकारबाटै अल्ट्रा ट्रेलको विषयमा प्रतिवद्धता आउनु धेरै राम्रो विषय भएको बताए । ‘मैले पनि न्युजहरू देखें । सरकारबाटै यो कुराहरू आउनु धेरै राम्रो कुरा हो । सायद सरकारबाट पहिलो पटक यस्तो प्रतिबद्धता आएको होला’ मिश्रले भने ।
सरकारले प्रतिबद्धाता सार्वजनिक गरेपनि यसमा योजनाबद्ध तरिकाले काम गर्नुपर्ने मिश्रले बताए । ‘सरकारले तत्कालै आफैँ यसमा प्ल्याटपर्म बनाउने भन्दा पनि निजी क्षेत्रबाट भएका इभेन्टहरूमा सरकारले पुस गरेर अझ राम्रो हुन्छ । सरकारले भोली गएर अन्तर्राष्ट्रिय रुपमा लामो समय जान सक्ने नेपालको मुख्य ट्रेल इभेन्टहरू पहिचान गरेर अघि बढ्नुपर्छ । यस्तै खेलाडीहरूलाई रेसको लागि मात्र नभएर करियर डेपलभमेन्टको लागि पनि सोच्नुपर्छ’ उनले भने, ‘अल्ट्रा म्याराथन भनेको एन्डुरेन्स खेल हो । त्यसैले यसमा लामो समयमका लागि योजना बनाएर लगानी गर्यो भने राम्रो हुन्छ ।’
सरकारको प्रतिबद्धतापछि इभेन्टहरूमा प्रायोजकसम्म पुग्न र सहयोगीहरू भित्र्याउन केही सहज हुने अल्ट्र ट्रेल रेस इभेन्ट आयोजकहरूको अपेक्षा छ । सरकारले पनि केही सहयोग गरेमा राम्रो हुने मिश्रले बताए । ‘आयोजकहरूलाई आर्थिक सपोर्ट गर्ने र सोस्रोतहरू खोज्नका लागि सरकारले सहयोग गर्यो भने इभेन्टहरू आयोजना गर्न सजिलो हुन्छ’ उनले भने ।
यस्तै अल्ट्रा ट्रेल इभेन्टहरू आयोजना गर्दा पारदर्शीता हुनुपर्ने र सरकारी नीतिदेखि लिएर इभेन्टका लागि स्वीकृति लिने देखि सम्पुर्ण प्रक्रियाहरू सहज र छिटो हुनुपर्ने पनि मिश्रले बताए ।
कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले सरकारको प्रतिवद्धता आउनु खुशीको विषय भएको र अल्ट्रा म्याराथनहरूलाई ब्राण्डिङ गरेर अघि बढ्नुपर्ने बताए ।

‘यसले उत्साहित त बनाएको छ तर धेरै काम गर्नुपर्छ यसमा । मुख्य कुरा इभेन्टको ब्राण्डिङ गर्नुपर्छ । कर्णाली क्षेत्रमा हुने जुम्ला रारा अल्ट्रा म्याराथनबाट यो क्षेत्रको र इभेन्टको ब्राण्डिङ गर्न सकिन्छ’ उनले भने, ‘नयाँ प्रतिभावान खेलाडीहरू छन् । उनीहरूको लागि खेलेर करियर बनाउने वातावरण बनाउनुपर्छ ।’
यस्तै नेपाल एड्भेन्चर रनिङ फेडेरेसनले पनि अल्ट्रा ट्रेल रनिङहरूका दीर्घकालीन रूपमै राम्रो योजना बनाएर अघि बढ्नुपर्ने बताए । मुख्य रेसहरूका फेडेरेसनले प्राथकितामा राख्नुपर्ने फेडेरेसनको भनाई छ ।
२०८० साल चैत ५ गते एकेन्द्र कुँवरको नेतृत्वमा नेपाल एडभेन्चर रनिङ फेडेरेसन नामक खेल संघ गठन भएको थियो । राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय खेल संघको रुपमा दर्ता भएको यस महासंघले आफ्नै राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरेपनि सफल हुन सकेको छैन ।
फेडेरेसनका अध्यक्ष कुँवरले पनि अब दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताए । साहसिक खेलकुदमा इभेन्टहरू खेलकुद मात्र नभएर पर्यटनसँग पनि जोडिएको हुन्नछ । नेपालमा प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय धावकहरू आउँदा आर्थिक रुपमा पनि नेपाललाई फाइदा हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रचारमा सहयोग पुग्नेछ ।
मञ्जुश्री ट्रेल रेसका रेस डिरेक्टर आदर्श मिश्रले अल्ट्रा, ट्रेल रनिङ खेल मात्र नभएर पर्यटनसँग पनि जोड्न सकिने बताए । ‘अल्ट्रा म्याराथनबाट खेलकुद मात्र नभएर टुरिजममा पनि धेरै काम गर्न सकिन्छ । जसबाट नेपाल र नेपालको इभेन्टहरूको प्रमोसन अन्तर्राष्ट्रिय स्तरमै गर्न सकिन्छ’ उनले भने ।
प्रतिक्रिया 4