+

भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा

२०८३ वैशाख  २ गते १७:४२ २०८३ वैशाख २ गते १७:४२
भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिताको पहिलो चरण सकिएको छ।
  • भुवन नगरकोटी, निरज तामाङ, रामे मगर लगायत आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
  • प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ र विजेताले १ लाख प्राप्त गर्नेछ।

२ वैशाख, काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ ।

लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंक बहादुर कार्की क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा आज दोस्रो सिडेड भुवनले सबैभन्दा सहज जित निकाले । उनले पन्ध्रौं सिडेड कृष्णमान राजबाहकलाई ७/६ ले हराए । १२औं होलमा जित हात पारेका भुवनले क्वाटरफाइनलमा टंक बहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् ।

दशौं सिडेड टंकले सातौं सिडेड धनलाई २/० ले हराए। यी दुईबीच कडा प्रतिस्पर्धा चल्दा टंकले १८औं होलमा जित निकाले ।

नेपाल नम्बर एक गल्फर निरजले सोर्हौं सिडेड सूर्य प्रसाद शर्मालाई ३/२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे । १६औं होलमा जित निकालेका निरजले क्वाटरफाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन् । नवौं सिडेड रामेले आठौं सिडेड भुवन कुमार रोक्कालाई १/० ले हराए ।

तेस्रो सिडेड दिनेश प्रजापतिले चौधौं सिडेड बलभद्र राईलाई सहजै ६/४ ले हराए । दिनेशले क्वाटरफाइनलमा रवि खड्कासँग खेल्नेछन् । छैटौं सिडेड रविले ११औं सिडेड दीपक मगरलाई ४/२ ले हराए ।

चौथो सिडेड सञ्जयले तेर्हौ वरियताका रमेश अधिकारीलाई ३/२ ले पराजित गरे । सञ्जयले भोलि सेमिफाइनल प्रवेशका लागि जयराम श्रेष्ठसँग खेल्नेछन् । जयराम वाक ओभर पाएर अन्तिम आठमा पुगे। बार्हौं वरियताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले वाइ पाएका हुन् ।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ । विजेताले १ लाख प्राप्त गर्नेछ । दोस्रो,तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन् ।

यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरूले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीहरूले जनही १० हजार प्राप्त गर्नेछन् ।

सूर्य नेपाल एनपीजीए म्याच प्ले
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय