News Summary
Generated by OK AI. Editorially reviewed.- यस वसन्त ऋतुमा ७ सय आरोहीले हिमाल आरोहण अनुमति लिएका छन् जसमा सगरमाथाका लागि २ सय ९७ आरोही छन्।
- पर्यटन विभागले २५ हिमालमा अनुमति जारी गरेको र ७५ करोड ५८ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।
- सगरमाथा आरोहण अनुमति लिएर सबैभन्दा बढी ६५ करोड २६ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ।
२ वैशाख, काठमाडौं । यसपालि वसन्त ऋतुमा हिमाल आरोहण गर्न बुधबारसम्म ७ सय आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार यस सिजनका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथाका लागि कुल ३० समूहका २ सय ९७ आरोहीले अनुमति लिएका छन् । जसमा ६३ महिला छन् ।
कुल हिमालमा भने ८५ समूहका ७ सय आरोहीले अनुमति लिएको विभागले जनाएको छ । जसमा १ सय ७७ महिला छन् । विभागका अनुसार अमादब्लम आरोहण गर्न ६ समूहका ७० जनाले अनुमति लिएका छन् ।
त्यस्तै मकालु प्रथममा ८ समूहका ५४ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । कञ्चनजंघामा २ समूहका २२ आरोहीले अनुमति लिएका छन् ।
यस सिजनका लागि कुल २५ हिमालमा अनुमति जारी भएको देखिएको छ । जसमा ८ हजार मिटरमाथिका अधिकांश हिमाल चढ्न अनुमति जारी भएको विभागको तथ्यांक छ ।
बुधबारसम्म जारी अनुमतिपत्रबाट पर्यटन विभागले ७५ करोड ५८ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ । यसमध्ये सगरमाथाबाट मात्र ६५ करोड २६ लाख रोयल्टी संकलन भएको छ । सगरमाथा आरोहणका लागि अन्य सिजनको तुलनामा वसन्त ऋतुमा महँगो पर्छ ।
यस सिजनमा जारी अनुमतिमध्ये धेरैजसो आरोही चीन, युरोप र अमेरिकाबाट आएका छन् । चीनका ८९, अमेरिका ७१, जर्मनी ५५, भारत ४९, बेलायत ४८, रुस ४५ र क्यानडाका ३० आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4