News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ।
- तनहुँ, रुपन्देही र प्युठानका स्थानीय तहहरूले केन्द्रको निर्णयविपरीत वैशाख २ देखि भर्ना र पठनपाठन सुरु गरेका छन्।
- प्याब्सनले शिक्षा मन्त्रीलाई भेटेर १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णयमा ध्यानाकर्षण गराएको छ।
२ वैशाख, काठमाडौं । संघ सरकारको निर्णयविपरीत केही स्थानीय तहले विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गरेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर स्थानीय तहले उक्त निर्णयविपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले २ वैशाख (आज) देखि भर्ना र पठनपाठन सञ्चालन गर्ने सूचना निकालेको छ । संविधानअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएकाले शैक्षिक सत्र सुरु गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
‘यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालले वैशाख २ गतेदेखि भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न/गराउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिका अध्यक्ष शुक्र चुमानले जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै, तनहुँको बन्दीपुर गाउँपालिकाले २ वैशाखदेखि ८ गतेसम्म भर्ना र ९ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘सिकाइ उपलब्धिको तयारी, वार्षिक कार्ययोजना लगायतका सबै तयारी ८ गतेसम्म पूरा हुन्छ । आजदेखि भर्ना सुरु गरेका छौँ,’ गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भने, ‘९ गतेबाट पठनपाठन हुन्छ ।’
शैक्षिक क्यालेन्डर तयार भइसेकाले शैक्षिक सत्र सुरु गरिएको उनले बताए । ‘क्यालेन्डरअनुसार पठनपाठन भएन भने कोर्स पूरा गर्न सकिँदैन । नजिकैका अरू विद्यालयले पनि सुरु गरेका छन्,’ उनले भने, ‘विद्यार्थी तानातान छ । बोर्डिङले भित्रभित्र भर्ना गरेका छन् । जसका कारण हाम्रोमा विद्यार्थी नहुने अवस्था आउँछ ।’

विद्यार्थी आफ्नो गाउँपालिकाबाट अर्को ठाउँमा जान नदिन भर्ना अभियान सुरु गरिएको उनको भनाइ छ । ‘शिक्षकहरू आएर काम सुरु गर्नुभएको छ । आइतबार पनि बिदा हुने भएपछि कोर्स पूरा गर्न गाह्रो हुन्छ,’ अध्यक्ष थापाले भने ।
यसैगरी, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७ गतेदेखि विद्यालयमा विद्यार्थी भर्ना कार्यक्रम सुरु र १० गतेदेखि नियमित पठनपाठनका कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख रामकृष्ण खाणले जारी गरेको विज्ञप्तिमा २ गतेदेखि शैक्षिक गतिविधिलगायत विभिन्न प्रबर्धनात्मक र रचनात्मक शैक्षिक कार्यहरू गर्ने भनिएको छ ।
प्युठानको झिमरुक गाउँपालिकाले पनि विद्यार्थी भर्ना सुरु गरेको छ । ‘आजदेखि भर्ना सुरु गरेका छौँ । १० गतेबाट पठनपाठन सुरु हुन्छ,’ गाउँपालिका अध्यक्ष पितबहादुर महताराले भने, ‘शैक्षिक क्यालेन्डरअनुसार भर्ना सुरु गरिएको हो ।’
गत चैत १० गते नै विद्यार्थीको परीक्षा सकिएको र लामो समय बिदा हुँदा विद्यार्थी अन्यत्र जाने भएकाले पनि भर्ना सुरु गरिएको उनले बताए । ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनले माविसम्मको अधिकार स्थानीय तहलाई दिएको छ । त्यहीअनुसार क्यालेन्डर बनाएर कार्यान्वयन गरेका हौँ,’ उनले भने ।

यद्यपि, संघ सरकारले १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न परिपत्र गरेको छ । ‘१५ गतेदेखि भर्ना गर्ने भनेर निर्देशन दिएका छौँ । परिपत्र पनि जारी गरेका छौँ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले भने । कसैले सरकारको निर्णयविपरीत सञ्चालन गरेको आधिकारिक पत्र आएमा थप प्रक्रिया अगाडि बढाउने उनले बताए ।
निजी विद्यालयहरूले पनि भित्रभित्रै विद्यार्थी भर्ना गरेको गुनासो आइरहेको छ । प्याब्सन काठमाडौंले वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने, वैशाख ७ गतेबाट विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर पूर्वतयारी कक्षाहरू सञ्चालन गर्ने र वैशाख १५ बाट नियमित कक्षाहरू सञ्चालन गर्ने सूचना जारी गरेको छ ।
यसैबीच बुधबार नै प्याब्सनको टोलीले शिक्षा मन्त्री सस्मित पोखरेललाई भेटेर ध्यानकर्षण गराएको छ । आइतबार बिदा र शैक्षिक सत्र ढिलाइ हुँदा क्यालेन्डर प्रभावित हुने निष्कर्ष निजी विद्यालय सञ्चालकहरूको छ । ‘मन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौँ । उहाँले १५ गतेदेखि नै सञ्चालन गर्ने भन्नुभयो । यो बीचमा विद्यार्थीलाई वार्मअप गराउनु भन्नुभएको छ,’ प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले भने ।
इन्धनमा आएको समस्याका कारण आइतबार बिदा र शैक्षिक सत्र १५ गतेबाट सञ्चालन गर्ने निर्णय केन्द्र सरकारले गरेको थियो । सरकारको यो निर्णयमा शैक्षिक संघसंस्था सन्तुष्ट छैनन् । यसअघि २ वैशाखबाट विद्यार्थी भर्ना सुरु गरिन्थ्यो ।
प्रतिक्रिया 4