News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको मुख्य बजारमा २५ चैत साँझ सिर्जना पौडेल केसीको हत्या सौतेनी छोरा गौरवको योजनामा भएको प्रहरीले निष्कर्ष निकालेको छ।
- हत्या योजनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने गौरवलाई कारागारबाट ल्याएर थप अनुसन्धान भइरहेको छ।
- सिर्जनाको हत्या पारिवारिक कलह, सम्पत्ति विवाद र अंश मुद्दाका कारण भएको प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताउनुभयो।
३ वैशाख, पोखरा । पोखराको मुख्य बजारमा खुँडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गर्न सौतेनी छोरा संलग्न भएको निष्कर्ष प्रहरीले निकालेको छ । २५ चैत साँझ सभागृह चोकनजिकै ४२ वर्षीया एकल महिला सिर्जनाको खुँडा प्रहार गरी हत्या भएको थियो ।
स्कुटरमा आएका दुई जनाले उनको कन्चटमा खुँडा प्रहार गरी फरार भएका थिए । प्रहरीले खुँडा प्रहार गर्ने र स्कुटर चलाउने दुवै जनालाई पक्राउ गरी २७ चैतमा सार्वजनिक गरेको थियो ।
खुँडा प्रहार गर्ने सिर्जनाकै भान्जा २७ वर्षीय सन्तोष भनिने शिशिर केसी र सहयोगी स्कुटर चालक ३२ वर्षीय कुशल परियारलाई प्रहरीले सुरुमै पक्राउ गरेको थियो । थप तीन जनालाई भने प्रहरीले वैशाख १ गते सार्वजनिक गर्यो ।
पक्राउ पर्नेमा सिर्जनाका भान्जा पर्वत कुश्मा नगरपालिका–११ घर भई पोखरा महानगरपालिका–५ जिरो किलो बस्ने वर्ष २४ का वसन्त केसी र छोरीज्वाइँ पर्वत फलेवास नगरपालिका–९ भंगारा घर भई पोखरा–१६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्री छन् । वसन्त शिशिरका आफ्नै भाइ हुन् ।
माइजु सिर्जनाको हत्यामा भान्जाका दाजुभाइ र ज्वाइँसमेत गरी ४ जना पक्राउ परे पनि प्रहरीले अनुसन्धान अझै फराकिलो बनाउँदै लग्यो । किनकि, सुरुदेखि नै यो घटना घरकै परिवारबाट बुनिएको योजनामा भएको प्रहरीको अनुमान थियो । हुन पनि पारिवारिक घटनाक्रम नै शंकास्पद थियो भने परिवारमा अंश मुद्दा, बकस र सम्पत्तिका विषयमा कलह थियो ।
सूक्ष्म अनुसन्धान गरेको प्रहरीले अन्तत: सिर्जनाको हत्या जिल्ला कारागार कास्कीमा रहेका छोरा गौरवकै योजनामा भएको निष्कर्ष निकालेको छ । छोरा गौरव सिर्जनाको सौतेनी छोरा हुन् ।
‘पारिवारिक पृष्ठभूमि, परिवारबीचको सम्बन्ध घटनाको प्रकृति र घटनामा संलग्नलाई पक्राउ गरी सूक्ष्म अनुसन्धान गर्दै जाँदा कास्की कारागारमै रहेका छोरा गौरवसँग गएर योजना बुनेको प्रमाणहरू भेटिए,’ कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, ‘गौरवले ६ महिनाभन्दा अगाडि नै हत्याको योजना बुनेको पाइएको छ ।’
सिर्जनालाई खुँडा प्रहार गर्ने भान्जा शिशिरले गौरवलाई कारागारमै गएर भेटेका थिए । वसन्त पनि यसअघि लागुऔषध मुद्दामै कारागार बसेर छुटेका थिए । दाजुभाइ (मामा–फुपूका छोरा) बीचको भेटपछि नै गौरवले भनेअनुसार हत्याका लागि शिशिरले योजना बुन्न थालेका थिए ।
कारागार भित्र रहेका गौरवले नै शिशिरलाई आफ्नो स्कुटर दिँदै ‘जसरी हुन्छ गर । मैले जे गर्नुपर्छ तेरो निम्ति गर्छु’ भनेर हौस्याएका थिए । यसअघि घरमा ठूलो झगडा हुँदा पनि भान्जा शिशिरघरमै थिए ।
‘झगडा हुँदा नै ‘यसलाई कसैले मारिदिए पनि हुन्थ्यो’ भनेको कुरा वसन्तको मनमा बिझिरहेको थियो । लागुऔषध सेवन गर्ने वसन्त स्वयंलाई ट्यापे भनेर गाली गरेको इगो थियो,’ प्रहरी अनुसन्धान भन्छ, ‘कास्की कारागारमा भेट्न जाँदा गौरवले वसन्तलाई भनेछन्, ‘हेर, केही गर्न सक्छस् भने गर्ने तैंले नै हो, गर यार । मार्न सक्ने तैंले नै हो । तेरो लागि केके गर्नुपर्छ म गर्छु । यहीँ भित्रै (जेल) परेछस् भने पनि वकिलदेखि यहाँको व्यवस्था म मिलाउँछु । चिन्ता नगर तेरो जिन्दगी म हेर्छु । तर तैंले नै हान भनेको खुल्न आएको छ ।’

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार गौरवलाई कारागारबाट ल्याएर थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट बुधबार नै अनुमति लिइसकिइएको छ । गौरव ६ महिना अगाडि लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनलाई ३ महिना हिरासत र ३ महिना कारागारमा राखिएको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए । गौरव यसअघि पनि लागुऔषध, अभद्र व्यवहार जस्ता मुद्दामा परेका थिए ।
अंश मुद्दा, बकस र सम्पत्ति विवादले एकल जीवन बिताइरहेकी सिर्जनाको जीवन समाप्त भएको छ भने ४ वर्षीय छोरीको बिचल्ली भएको छ । सिर्जनाको हत्यामा छोरा, भान्जा, ज्वाइँ र सहयोगी गरी ५ जना संलग्न रहेको भन्दै प्रहरीले मुद्दा अगाडि बढाएको छ । एउटा मात्रै होइन, आफन्तसहित ३ वटा परिवार नै तहसनहस भएको छ ।
सिर्जनाका श्रीमान्ले जिरो किलोमिटर नजिकै मालेपाटनमा लामो समयदेखि खसीको मासु बेच्दै आएका थिए । उनलाई ‘खसी कृष्णे’को नाममा मालेपाटन क्षेत्रमा धेरैले चिन्थे । कृष्णकी जेठी श्रीमतीले एक दशकअघि विष सेवन गरी आत्महत्या गरिन् । जेठीतर्फका १ छोरा र २ छोरी छन् । छोरा गौरव लागुऔषध मुद्दामा अहिले कारागारमा छन् भने ठूली छोरी शान्तिको विवाह भइसकेको छ । कान्छी छोरी घरमै थिइन् ।
श्रीमतीले आत्महत्या गरेपछि ९ वर्षअघि कृष्णले सिर्जनालाई विवाह गरेका थिए । आफ्नो बाबुको तिनै महिलासँग सम्बन्ध भएकै कारण आमाले आत्महत्या गरेको भन्ने जेठीतर्फका सन्तानलाई परेको थियो । सिर्जनासँग विवाह भएलगत्तै परिवारमा कलह भइरहन्थ्यो भने सम्पत्तिको विवादसमेत हुने गरेको थियो ।
४ वर्ष अगाडि सिर्जनाबाट छोरीको जन्म भयो । ३ वर्ष अगाडि कृष्णको पनि मृत्यु भयो । कृष्णको मृत्यु भएर काजकिरिया सकिने १३औं दिनमै परिवारमा ठूलो झगडा परेको प्रहरीको भनाइ छ ।
कृष्णले पोखरामा खसीको मासु बेचेरै ठाउँठाउँमा सम्पत्ति जोडेका थिए । कृष्णले आफ्नो सम्पत्ति शेषपछि बकस गरेर जिरो किलोमिटरमा रहेको घर र मालेपाटनमा जग्गा छोरा गौरव र छोरी शान्तिको नाममा गराइदिएका थिए । यो थाहा पाएपछि परिवारमा थप विवाद भइरहेको थियो ।
सेदीमा रहेको ७ आना जग्गामा रहेको सानो घरमा सिर्जना बस्दै आएकी थिइन् । सो घर पनि कृष्णको आमाको नाममा भएको उनले थाहा पाइन् । पोखरा–१७ बिरौटा पनि जग्गा थियो ।
सिर्जनाले जिल्ला अदालत कास्कीमा बकस बदरको माग गर्दै हालेको मुद्दामा शेषपछिको बकस बदर हुने र ३ भाग लाग्ने फैसला भएको थियो । कृष्णबाट भएका जेठीतर्फका छोराछोरी र आफूले मात्र भाग पाउने तर ३ वर्षको छोरीलाई समेत गरी ६ भाग लगाउनुपर्ने माग गर्दै उच्च अदालतमासमेत सिर्जनाले मुद्दा हालेकी थिइन् ।

यो विषयले परिवारमा ठूलो तनाव र कलह सिर्जना गरेको थियो । सिर्जनाले पोखराको पृथ्वीचोक नजिकै नागढुंगामा जुत्ता पसल गर्दै आएकी थिइन् । सिर्जनाकै कारण उत्पन्न तनावले आफ्ना बाबुआमाको ज्यान गएको र आफूहरूले पनि दु:ख पाइरहेको निष्कर्ष गौरवलगायत परिवारले निकालेका थिए । त्यही रिस, झोकमा आमाको हत्या गर्ने योजना गौरवले बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
‘यो घटनाले पारिवारिक कलह, विवादले उत्पन्न गर्ने तनाव र जघन्य अपराधलाई विभिन्न कोणबाट हेर्नुपर्ने देखाएको छ । आमाको हत्या गर्न छोराले योजना बनाउँछन्, भान्जा खुँडा उध्याएर बस्छन्, भाञ्जाका दाजुभाइ र ज्वाइँसमेत घटनामा जोडिन्छन् । स्कुटर चलाउने मानिस खोज्छन् र दिनदहाडै बीच बजारमा एक महिलामाथि खुँडा प्रहार गरिन्छ,’ प्रहरी प्रमुख कार्की भन्छन्, ‘४८ घन्टा भित्रै हामीले खुँडा प्रहार गर्ने र सहयोगीलाई समायौं । अहिलेसम्म यसमा ५ संलग्न देखिएका छन् । अनुसन्धान र मुद्दा अगाडि बढाएका छौं ।’
प्रतिक्रिया 4