News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले यूएई जाने नेपालीको राहदानीमा \'रोजगारी पूर्णरूपमा निषेध\' लेखिएको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ।
- विभागले गैरकानुनी कार्य गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको र कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
- नेपाल सरकारको निर्णय अनुसार कम्तीमा ६ महिना वैधता भएको राहदानी, हवाई टिकट र भिसा भए स्वघोषणा सहित विदेश जान पाइने व्यवस्था लागु गरिएको छ।
३ वैशाख, काठमाडौं । गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा ‘इम्प्लोयमेन्ट इज स्ट्रिक्ट्ली प्रोहिबिटेड टिल १०/६/२०२६’ (१०/६/२०२६ सम्म रोजगारी पूर्णरूपमा निषेध) जस्ता टिप्पणी लेखिएको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
यूएई जाने नेपालीको पासपोर्ट (राहदानी) मा ‘रोजगारी पूर्णरूपमा निषेध’ भनेर लेख्ने गरेको पाइएको थियो । उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले त्यस्ता गैरकानुनी कार्य गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको हो ।
विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्ति अनुसार विभागले यात्रु आवागमन झन्झट रहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीको आधुनिकीकरणमा समेत काम भइरहेको छ ।
कुनै पनि नेपालीलाई कानुन बाहिर गई अतिरिक्त सर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नरहेको विभागले स्पष्ट पारेको छ । त्यस्तो गैरकानुनी अभ्यासमा संलग्न कर्मचारीमाथि कारबाहीका लागि आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
वैदेशिक यात्रा नेपाली नागरिकका लागि केवल रहर नभई धेरैका लागि बाध्यता समेत भएको उल्लेख गर्दै विभागले यस्तो अवस्थाको दुरुपयोग गरी हुने ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले प्रयास गरिरहेको जनाएको छ ।
अनावश्यक कागजात माग गर्ने र तजबिजीका आधारमा निर्णय गर्ने प्रवृत्ति नियन्त्रण गर्न नेपाल सरकारको १३ कात्तिक २०८२ को निर्णय अनुसार भिजिट भिसामा विदेश जाने नेपालीका लागि प्रस्थान प्रक्रिया सहजीकरण गरिएको विभागले जनाएको छ ।
उक्त व्यवस्था अनुसार कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भए स्वघोषणा सहित विदेश जान पाइने व्यवस्था लागु गरिएको छ ।

प्रतिक्रिया 4