नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ । केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग नक्कली लेटरप्याड प्रयोग गरेर प्रेस विज्ञप्ति निकालेको आरोपमा सात दिने स्पष्टीकरण मागेको छ ।
तर, खड्काले उक्त निर्णयलाई अवैधानिक, हास्यास्पद र अर्थहीन भन्दै अस्वीकार गरेका छन् । उनले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै आफूले सक्कली लेटरप्याड प्रयोग गरेको दाबी गरेका छन् ।
यो विवादले पार्टीभित्र अनुशासन र नेतृत्वको वैधतामाथि गम्भीर टकराव सिर्जना गरेको छ । यसै विषयमा कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको नक्कली लेटरप्याड प्रयोग गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको छ । यसलाई कसरी लिनुभएको छ ?
पूर्णजीलाई सोधेको जुन स्पष्टीकरण छ, त्यो स्वाभाविक छैन । १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाअधिवेशनबाट निर्वाचित कार्यसमितिको विवादको अन्तिम टुङ्गो लागिसकेको छैन ।
यो अहिले अदालतको निरूपणको विषय भएको हुनाले उहाँमाथि अनुशासनको कारबाही सान्दर्भिक छैन । अदालतमा विचाराधीन मुद्दाको बारेमा पार्टीभित्र विवाद गर्दा विभाजनलाई गति पुग्ने देखिन्छ ।
यसले नेपाली कांग्रेस पार्टीको विभाजनको प्रक्रियालाई बल पुर्याउँछ, यो कसैका लागि पनि राम्रो हुँदैन । नेपाली कांग्रेस एउटा ऐतिहासिक पार्टी हो ।
यसको एकता लोकतन्त्र र राष्ट्रियता दुवैका लागि महत्वपूर्ण छ । नेपाली कांग्रेस इतिहासको सबैभन्दा कमजोर भएको बेला एकताको सबैभन्दा ज्यादा आवश्यकता छ ।
कांग्रेसले सदस्यता अद्यावधिक गर्ने भन्दै १४ औं महाधिवेशनका सम्पूर्ण क्रियाशील सदस्यताहरू खारेज गरेको छ । आफूले सदस्यता लिएको वडामै पुगेर फारम नभरे सदस्यता अद्यावधिक नहुने भनिएको छ । यसमा तपाईंहरूको आपत्ति किन हो ?
क्रियाशील सदस्यतामा अध्यावधिकको नाममा गरिने फेरबदलले पार्टी भित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित हुन्छ ।
कुनै क्रियाशील सदस्यले निर्वाचनका क्रममा पार्टी अनुशासन र विधान उल्लंघन गरेको छ भने त्यो आत्मगत रुपमा अध्यावधिकको नाममा छानबिन वा निर्णयमा पुग्नु हुँदैन ।
त्यस्तो प्रवृतिलाई निरुत्साहन गर्न संस्थागत वैधानिक प्रक्रिया अबलम्बन गर्नु उपयुक्त हुन्छ । जरा अभियान, प्रादेशिक भेलाहरू र अन्य कार्यक्रमहरू पार्टीमा विमति भएको बेला सञ्चालन गर्नुले एकतामा बल पुर्याउँदैन ।
यस्ता कार्यक्रमहरू आपसी परामर्श र सहमतिले नहुँदा कुनै स्पष्ट दिशा दिन सक्दैनन् । पार्टीमा थप अन्यौलता बढ्छ ।
विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको हस्ताक्षर भएको टिकटमा चुनाव लड्न हुने तर, गगन थापालाई सभापति स्वीकार गर्न नसक्ने भनेर तपाईंहरू प्रति प्रश्न उठिरहेको छ नि ? तपाईं नियमित महाधिवेशन पक्षधरहरू समानान्तर गतिविधि किन गरिरहनुभएको छ ?
नेपाली कांग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित भएको छैन । नियमित रूपले सम्पन्न भएको १४ औं महाधिवेशन र चुनावपूर्व गरिएको विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिसम्बन्धी वैधानिक विषय अदालतमा कानुनी निरूपणमा छ ।
आफू संलग्न पार्टीबाट कसैले चुनाव लड्नु र पार्टीको वैधानिक अनि देशको कानुनी प्रबन्धमा न्यायिक उपचार खोज्नुमा विरोधाभास देख्दिनँ ।
कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएर प्रक्रिया अगाडि बढाइसकेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसअघि नै पारित गरेको वैशाखको मितिमा महाधिवेशन गर्ने आशय विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । तपाईंहरूले छुट्टै महाधिवेशन गर्ने भन्नुभएको हो ?
पार्टीको १४ औं महाधिवेशन सबै पक्षका लागि समान रूपले मान्य रहेको कुरामा कुनै विवाद छैन । तर, पार्टीको केन्द्रीय समिति (१४ औं महाधिवेशन र विशेष महाधिवेशन) विवादका दुईवटा महत्वपूर्ण पक्ष छन् ।
पहिलो, कानुनबमोजिम अदालतले निर्णय गर्दा यो प्रश्नको समाधान हुन्छ । जसको प्रक्रिया पनि सुरू पनि भइसकेको छ । दोश्रो, यो पार्टी भित्रको अन्तरविरोध र अन्तर संघर्षको जटिल नै भए पनि एउटा रूप भएकोले आपसी विमर्श र सहमतिबाट टुंग्याउन सकिन्छ ।
हामी पार्टीको १५ औं महाधिवेशन विभाजनबाट होइन, एकताका साथ गर्न चाहन्छौं । निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित र एकताबद्ध किसिमले गर्ने सम्भावना टरि सकेको छैन ।
कांग्रेसको पछिल्लो समय बढ्दै गएको विवाद समाधान गरेर पार्टीलाई एकतावद्ध बनाउने बाटो के देख्नुहुन्छ ?
नेपाली कांग्रेसमा बृहत्तर एकता, रुपान्तरण र नियमित वैधानिक प्रक्रियालाई अगाडि बढाएर मात्र पार्टीलाई सुदृढ बनाउन सकिन्छ । जसबाट नेपाली कांग्रेसले आफूलाई भरपर्दो पार्टीका रुपमा मात्र होइन, लोकतन्त्र, स्थिरता, शान्ति, विकास र अन्तर्राष्ट्रिय विश्वसनीयताको पुनस्र्थापन गर्न सक्दछ । छलफल र संवादबाट कुनै पनि जटिल समस्याको समाधान निस्कन सक्दछ ।
प्रतिक्रिया 4