+
+
Shares

दुई वर्षदेखि अलपत्र सल्यान जिल्ला अस्पतालका भवन निर्माण सुरु

अहिले भने स्वास्थ्य मन्त्रालयबाट म्याद थप भएसँगै २०८३ असार १० गतेसम्म निर्माण सम्पन्न गर्ने नयाँ समयसीमा तोकिएको छ ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ वैशाख ३ गते २१:१८

३ वैशाख, सल्यान । दुई वर्षदेखि अलपत्र परेको जिल्ला अस्पताल सल्यानका निर्माणाधीन दुई वटा भवनको काम पुन: सुरु भएको छ । जिल्लामै विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएका ती भवन निर्माणको ठेक्का आरोग्य-सुवेदी जेभीले लिएको छ ।

उसले २०७८ वैशाखमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर निर्माण सुरु भएदेखि नै पटक-पटक अवरुद्ध हुँदै आएको निर्माण कार्य अन्तिम चरणमा पुग्दा रोकिन पुगेको थियो ।

म्याद थप नहुँदा दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको निर्माण कार्य अहिले म्याद थप भएपछि पुन: सुरु भएको हो । लामो समय रोकिएको निर्माण प्रक्रिया अघि बढेसँगै स्थानीय नागरिक खुसी देखिन्छन् ।

अस्पताल परिसरमा उपचार गर्न पुगेकी सिद्ध कुमाख गाउँपालिका–३ की मनिषा रेउलेले पहिले अलपत्र परेको भवन निर्माण कार्य सुरु भएको देख्दा खुसी लागेको बताइन् ।

‘पाँच महिना अघि अस्पताल आएकी थिएँ, त्यतिबेला भवन अलपत्र देखेर मन दुखेको थियो,’ उनले भनिन्, ‘अहिले काम सुरु भएको रहेछ, खुसी लाग्यो ।’

दुई वर्षयता अलपत्र परेको भवनको निर्माण कार्य सुरु भएको खबर सुनेपछि बनगाड कुपिण्डे नगरपालिका-१२ निगालचुलाका नवीन वलीले खुसी हुँदै विशेषज्ञ उपचार सेवा सुरु हुनेमा आशा जनाए ।

भवन बनिसकेपछि जिल्लामै विशेषज्ञ सेवा सञ्चालन हुने र जिल्ला बाहिर महँगो शुल्क तिर्नुपर्ने समस्याको अन्त्य हुने उनको अपेक्षा छ ।

संघीय सरकारको करिब १८ करोड रुपैयाँ लागतमा सुरु गरिएको यो परियोजना ५० शैयाको अस्पताल सञ्चालनमा ल्याउने उद्देश्यले अघि बढाइएको थियो । निर्माण सुरु भएको एक वर्षपछि पेटी ठेकेदारमार्फत काम गराइएको र करिब ७५ प्रतिशत काम सम्पन्न भए पनि बाँकी काम समयमै काम पूरा हुन सकेन ।

अहिले भने स्वास्थ्य मन्त्रालयबाट म्याद थप भएसँगै २०८३ असार १० गतेसम्म निर्माण सम्पन्न गर्ने नयाँ समयसीमा तोकिएको छ । यता निर्माण कम्पनीले भने बाँकी बिल समयमै पास भए र कुनै बाधा नआए ६ महिनाभित्र काम सक्ने लक्ष्य लिएको छ ।

अहिले जिल्ला अस्पताल सल्यानमा सल्यानसँगै छिमेकी जिल्ला रोल्पा र रुकुमका गरी दैनिक १२० भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् । १५ शैयाको क्षमतामा सञ्चालन भइरहेको अस्पतालले बिरामीको चाप बढेपछि हाल ५० शैयामा सेवा दिइरहेको छ । तर आवश्यक भवन र पूर्वाधार अभावका कारण सेवा विस्तारमा कठिनाइ भइरहेको छ ।

अस्पतालमा इमरजेन्सी, ल्याब लगायतका सेवा थप गरिए पनि पर्याप्त संरचना अभावले ती सेवाहरू प्रभावकारी रूपमा विस्तार हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले बताए ।

‘अहिले सीमित संरचनामा सेवा प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘इमरजेन्सी, ल्याब, वार्ड सबैमा विभिन्न सेवा थप गरेका छौं ।’ भवन निर्माणले पूर्णता पाए थप विशेषज्ञ सेवा विस्तार गर्न सहज हुने उनले बताए ।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?