४ वैशाख, गुल्मी । हवाई इन्धनको मूल्य वृद्धि भएपछि रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि भएको छ ।
बढेको भाडा दर अनुसार अब गुल्मीबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ भाडा कायम भएको रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए ।
यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा रहेको थियो । हाल गुल्मीमा नेपाल एअरलाइन्सको टुइनेटर जहाजले साप्ताहिक तीन उडान गर्दै आएको छ ।
रेसुङ्गा विमानस्थलबाट यात्रुको चापलाई मध्यनजर गर्दै हप्ताको तीन पटक उडान गरिएको छ । विमानस्थलबाट आइतबार, मंगलबार र बिहीबार उडान हुँदै आएको छ ।
गुल्मीबाट हवाई सेवा लिनेहरुमा वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिएको स्टेशन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।
जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा, रुरुक्षेत्र, धुर्कोटको विचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र मालिकाको मालिका पिस पार्कमा पर्यटक घुम्न जान थालेका हुन् । जिल्लामा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।
रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर-१० को सिमीचौरमा रहेको छ ।
प्रतिक्रिया 4