४, वैशाख, तेह्रथुम । तेह्रथुमको पहाडी भूगोलमा लुकेर रहेका मौलिक कला, परम्परा र सांस्कृतिक सम्पदालाई उजागर गर्ने उद्देश्यसहित यहाँ आयोजित तीन दिने हस्तकला गोष्ठी तथा चित्रकला कार्यशालाले स्थानीय तहमा सिर्जनात्मक चेतनाको नयाँ लहर ल्याएको छ ।
परम्परागत सीप र रैथाने पहिचानलाई आधुनिक अभिव्यक्तिसँग जोड्ने प्रयासस्वरूप सञ्चालन गरिएको यस कार्यक्रमले कला केवल सिर्जनाको माध्यम मात्र नभई समाज र पहिचानको दर्पण पनि हो भन्ने सन्देश दिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल काठमाडौंको आयोजनामा तथा म्याङ्लुङ नगरपालिकाको सहकार्यमा सम्पन्न भएको कार्यशालामा जिल्लाका विभिन्न स्थानबाट कलाकार, विद्यार्थी तथा कला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता सहभागिता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमले स्थानीय स्रोत–साधनको प्रयोगमार्फत हस्तकला निर्माण र चित्रकलाको व्यावहारिक अभ्यासमा केन्द्रित हुँदै सहभागीहरूलाई सीप र सिर्जनशीलतामा अभिवृद्धि गर्ने अवसर प्रदान गरेको छ ।
तेह्रथुमका ऐतिहासिक स्थल, ग्रामीण जीवनशैली र मौलिक संस्कृतिलाई क्यानभासमा उतार्ने अभ्यासले सहभागीहरुले गरेका छन् । यस सन्दर्भमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभागका सदस्य जंग पहाडीले स्थानीय कला, सीप र ऐतिहासिक सम्पदालाई चित्रमार्फत प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार, यस्ता गतिविधिले ओझेलमा परेका सम्भावनालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला सामाजिक एकता र सांस्कृतिक संरक्षणको सशक्त माध्यम भएको उल्लेख गर्दै कलामार्फत समाजलाई जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको धारणा व्यक्त गरे । उनका अनुसार, परम्परागत मूल्य र आधुनिक सिर्जनशीलताको संयोजनले मात्र दिगो सांस्कृतिक विकास सम्भव हुन्छ ।
कार्यशालाको अर्को महत्वपूर्ण पक्ष भनेको रैथाने विषयवस्तुको प्रवर्द्धन हो । प्रतिष्ठानका चित्रकला विभागका प्रमुख संजय बान्तावाका अनुसार, स्थानीय परिवेश, संस्कृति र जीवनशैलीमा आधारित सिर्जनाले मात्र समुदायको वास्तविक पहिचान झल्काउन सक्छ । ‘रैथाने विषयवस्तुमा आधारित कला सिर्जनाले हाम्रो मौलिकता जोगाउँछ र आगामी पुस्तासम्म हस्तान्तरण गर्न मद्दत गर्छ’, उनले भने ।
यस कार्यशालाले केवल सीप विकासमा मात्र सीमित नभई तेह्रथुममा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा पनि काम गरेको छ । स्थानीय स्तरमै यस्ता कार्यक्रमहरूको निरन्तरता रहँदा कला र संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
-प्रकाश पाक्साँवाबाट
प्रतिक्रिया 4