+
+
Shares

कविता : आमाको मुख हेर्ने दिन रहेछ !

कैलाश लिम्बु कैलाश लिम्बु
२०८३ वैशाख ४ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविताले आङीको आँखामा हराएका सपनाहरू र समयसँगै नफेरिएको आँखा रङको कथा सुनाएको छ।
  • आस्याङले छोडेको फूलबुट्टे झोला आँसु, अपहेलना र सङ्घर्षले भरिएको छ र आज चितामाथिको बाटो भएर बिदा भएको छ।
  • नयाँ साल र ऋतु परिवर्तनले प्रकृतिमा नयाँ जीवन ल्याए पनि आङीको आँखाको रङ फेरिएको छैन भन्ने भाव कवितामा व्यक्त गरिएको छ।

आफ्नै उज्यालोभित्र

गुमनाम,

एउटा आशाको दीप–

झ्याप्प निभेको

कठ्याङ्ग्रिँदो

रात !

 

आङीको धमिलो

आँखाभित्र

नुनिला सपनाहरू,

बादलभित्र

हराएको एक्लो जुनझैँ,

हराएर गयो,

अनकन्टार चिसा

बस्तीहरूमा,

छरिएर बतासका

झोक्काहरूमा !

हरेक वर्ष

नयाँ साल,

पृथ्वीको एक

चक्कर काटेर

आङीको आँगनको

चौकोसमा आइपुग्छ

ऋतुहरू बदलिएर

बारीका डिलहरूमा

वसन्त आइझुल्छन्,

आकाशका बादल लामो

सुस्केरा हाल्दै

धर्तीलाई भेट्न

आउँछन्,

दूधिलो र

कुटमिरोका हाँगाहरूले पनि

नयाँ पालुवा फेरिसके

तर फेरिएन,

फेरिएन आङीको

आँखाको रङ !

कुन साल, के याम ?

धेरै समय भइसकेछ,

आस्याङले– त्यो

नासो

एउटा फूलबुट्टे

झोला

छोडेर गएको !

आँसु, अपहेलना र सङ्घर्षले भरिएको,

निकै गरुङ्गो

त्यो फूलबुट्टे झोला

विश्राम नै

नलिई–नलिई,

उकाली र ओराली

गर्दै,

बिसौँ कोस दूर

आइपुगिसकेछ

र आज अनायासै,

आङीलाई नै नसोधी–

कहिल्यै नफर्किने

चितामाथिको बाटो

भएर,

बिदा भएछ !

आज आमाको मुख

हेर्ने दिन रहेछ !

(इलाका प्रहरी कार्यालय, सिजुवाका प्रमुख)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?