+
+
Shares

नेप्सेमा सूचीकृत सेयरको मूल्य अब दैनिक १५ प्रतिशतसम्म घटबढ हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले सेयर मूल्य एक दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने व्यवस्था सोमबारदेखि लागू गर्ने निर्णय गरेको छ।
  • कारोबार सञ्चालन विनियमावली, २०८२ को चौथो संशोधनअनुसार प्रारम्भिक सत्रमा अर्डर अघिल्लो दिनको मूल्यको पाँच प्रतिशत भित्र मात्र प्रविष्ट गर्न सकिने व्यवस्था गरिएको छ।
  • नेप्से परिसूचकमा पहिलो सर्किट ब्रेक पाँच प्रतिशत र दोस्रो सर्किट ब्रेक आठ प्रतिशतले बढ्दा वा घट्दा लाग्ने व्यवस्था गरिएको छ।

४ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घट्ने वा बढ्ने व्यवस्था भएको छ ।

नेप्सेले कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि यस्तो व्यवस्था कार्यान्वयमा ल्याउन लागेको हो ।

हालसम्म नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्य एक दिनमा अधिकतम १० प्रतिशतसम्म बढ्न वा घट्ने व्यवस्था थियो । नेप्सेले विनियमावली नै संशोधन गरी १० प्रतिशतको अधिकत सीमालाई ५ प्रतिशत बिन्दुले बढाएर १५ पुर्याएको हो ।

कारोबार सञ्चालन विनियमावली, २०८२ को चौथो संशोधन आगामी सोमबारदेखि लागु गर्ने निर्णय नेप्से सञ्चालक समितिले गरेको छ ।

संशोधित विनियमावलीअनुसार नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले प्रणाली (टीएमएस)मा आदेश दिएमा त्यस्तो आदेशलाई समय प्राथमिकताका क्रममा राख्ने व्यवस्था गरी कारोबार समय सुरु हुनासाथ क्रमशः नेप्सेको प्रणालीमा प्रविष्टि हुनेछ । आदेश प्रविष्टि गर्दा पछिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्ने व्यवस्था भएको छ ।

त्यसैगरी प्रारम्भिक कारोबार सत्र (१० : ३० बजेदेखि १० : ४५ बजेसम्म) अर्डर प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस सत्रमा कारोबार भएका आदेशलाई नियमित सत्रमा प्रविष्ट गरी कारोबार हुने व्यवस्था गर्नुपर्नेछ । नियमित कारोबार सत्रमा भने मूल्यको तीन प्रतिशत घटी वा बढीको सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्ने व्यवस्था भएको छ । यसअघिसम्म यसमा २ प्रतिशतको सीमा थियो ।

नियमित कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचकको अंक कारोबार सुरु भएको दुई घण्टाभित्र पाँच प्रतिशतले बढेमा वा घटेमा अब पहिलो सर्किट ब्रेक लाग्नेछ । त्यसपछि पन्ध्र मिनेटका लागि कारोबार स्थगित हुनेछ ।

१५ मिनेटपछि खुलेको कारोबारमा फेरि नेप्से परिसूचक ८ प्रतिशतले बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुनेछ । अब यहीं दुई सर्किट ब्रेक मात्रै लाग्नेछ ।

हालसम्म तीन सर्किट ब्रेकको व्यवस्था थियो । पहिलो एक घण्टाभित्र ४ प्रतिशत, त्यसपछि खुलेको कारोबारमा ५ प्रतिशत र अन्तिममा ६ प्रतिशतसम्म नेप्से परिसूचक बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?