News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि 'बिग स्कूल' मोडेलमा ४२ विद्यालयलाई मर्ज गरी ३६ कायम गरेको छ।
- नगरपालिकाले कम्तीमा एउटा कक्षामा १५ जना विद्यार्थी हुनु पर्ने मापदण्ड लागू गरी साना विद्यालयलाई ठूला विद्यालयमा समायोजन गरेको छ।
- संस्थागत विद्यालयमा २३ सय बढी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था पारदर्शी र लक्षित वर्गलाई प्राथमिकता दिँदै गरिएको छ।
५ वैशाख, बुटवल । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘बिग स्कूल मोडेल’मा अघि बढ्न शुरु गरेको छ ।
अति न्यून विद्यार्थी संख्याका विद्यालयको शैक्षिक गुणस्तर कमजोर र राज्यको लगानीको प्रतिफल नआएको ठहर सहित तिलोत्तमा ठूला विद्यालय (बिग स्कूल) मोडेलमा अघि बढेको हो ।
तिलोत्तमा भित्र हाल एक गुठी सहित ४२ सरकारी विद्यालयमा १९ हजारभन्दा बढी र ४२ संस्थागत विद्यालयमा २३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
विशेषगरी आधारभूत तहमा विद्यार्थी संख्या न्यून हुँदा राज्यको लगानी अनुसार शैक्षिक गुणस्तर ज्यादै कमजोर देखिएपछि शिक्षा विज्ञ, प्रधानाध्यापक, व्यवस्थापन समितिसँग विभिन्न चरणमा छलफल र अध्ययनपछि कानून नै बनाएर साना विद्यालयहरु एकीकरण (मर्ज) र केही विद्यालयमा तह मिलान गरी ठूला विद्यालयमा रुपान्तरण गर्न शुरु गरेको छ ।
नगरपालिकाले विद्यालय मर्जसँगै शैक्षिक सुधार गर्न मापदण्ड तयार गरी लागू गरेको छ । मापदण्डअनुसार कम्तीमा एउटा कक्षामा १५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरिएको छ । मापदण्ड नपुगेका विद्यालयहरूलाई समायोजन गरिएको छ भने मापदण्ड पूरा गरेका विद्यालयहरूलाई यथावत राखिएको छ ।
पहिलो चरणमा नगरभित्रका एक गुठी सहित ४२ वटा सरकारी विद्यालयमध्ये ६ वटा साना विद्यालयलाई नजिकका ठूला विद्यालयमा गाभेर ३६ वटा कायम भएका छन् । यस्तै सात वटा विद्यालयहरुमा तह मिलान गरिएको छ ।
‘नगरभित्र कतिपय विद्यालयमा ६ जना विद्यार्थी र ५ जना शिक्षक थिए, तीन धुर जग्गामा विद्यालय भवन थियो,’ नगरपालिकाका सामाजिक विकास शाखा संयोजक रवि सेन्चुरीले भने, ‘विद्यार्थीको प्रार्थना गर्ने र खेल्ने ठाउँ सडक थियो, यस्तो अवस्थाले कस्तो शैक्षिक गुणस्तरको कल्पना गर्ने ? त्यसैले बिग स्कूल मोडलमा गयौं ।’
बिग स्कूल मोडेलमा जाँदा विद्यार्थीलाई नि:शुल्क यातायातका लागि विद्यालयको आफ्नै बस व्यवस्था हुने, विद्यालय र विद्यार्थीहरुमा शैक्षिक गुणस्तर सुधारको प्रतिस्पर्धा बढ्ने विज्ञहरुसँगको सुझावका आधारमा बिग स्कूल मोडल उपयुक्त लागेको सेन्चुरीले बताए ।
नगर प्रमुख रामकृष्ण खांणले बिग स्कूल मोडेलमा गएर सरकारी विद्यालयको गुणस्तरमा आमूल सुधार ल्याउने उद्देश्यले ९ सदस्यीय कार्यदलले दुई महिना स्थलगत अध्ययन गरेर आएको रिपोर्ट अनुसार विद्यालय मर्ज गर्ने रुपान्तरणकारी निर्णय गरेको बताए । ‘लगातार घट्दो विद्यार्थी संख्या, कमजोर शैक्षिक उपलब्धि, शिक्षक–विद्यार्थी अनुपातको असन्तुलन, अभिभावकको घट्दो चासो र राज्यका तर्फबाट प्रति विद्यार्थी उच्च लागतजस्ता समस्या हटाएर बिग स्कूल मोडेलमा सरकारी विद्यालयप्रति आकर्षण बढाउन यो कदम चालिएको हो’ उनले भने ।
समायोजन (मर्ज) अन्तर्गत तिलोत्तमा–१६ का बोहिया आधारभूत विद्यालय र कोटहिमाई मिसुजु आधारभूत विद्यालयलाई समेट्दै कोटहिमाई मिसुजु आधारभूत विद्यालयमा एकीकृत गरिएको छ ।
तिलोत्तमा–१२ का कोटियामाई आधारभूत विद्यालयलाई सरस्वती आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

त्यस्तै तिलोत्तमा–६ को मेदिनी आधारभूत विद्यालयलाई तिलोत्तमा–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा गाभिएको छ । तिलोत्तमाको मणिग्रामस्थित नेपालकै ठूलो मध्येको एक शान्ति नमुना माविमा ५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्षको एसईईमा यो विद्यालयबाट १८ जनाले चार जीपीए ल्याएका थिए ।
तिलोत्तमा–१४ को नमुना महिला आधारभूत विद्यालयलाई सोही वडाको टिकुलिगढ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
तिलोत्तमा–११ को नवज्योति शंकरमान आधारभूत विद्यालयलाई भुल्के माध्यमिक विद्यालयमा र तिलोत्तमा–१३ को सेमरी आधारभूत विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक रवि सेन्चुरीले बताए ।
तह मिलानतर्फ तिलोत्तमा–१७ को बाल विकास आधारभूत विद्यालय र तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयलाई कक्षा ८ बाट घटाएर कक्षा ५ सम्म सीमित गरिएको छ ।
तिलोत्तमा–११ को शिवपुर माध्यमिक विद्यालयमा कक्षा १२ बाट कक्षा १० सम्म झारिएको छ भने सोही वडाको गणेश आधारभूत विद्यालयलाई पनि कक्षा ८ बाट कक्षा ५ मा सीमित गरिएको छ ।
तिलोत्तमा–१३ को बभनी आधारभूत विद्यालय र तिलोत्तमा–१२ को सरस्वती आधारभूत विद्यालयलाई कक्षा ५ बाट कक्षा ३ सम्म सीमित गरिएको छ ।
यसैगरी तिलोत्तमा–६ को सत्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि कक्षा ५ बाट कक्षा ३ सम्म झारिएको छ ।
मर्ज भएका विद्यालयहरुमा सेक्टर विद्यालयको रुपमा भौतिक संरचना प्रयोग गरेर अझै व्यवस्थित बनाइने नगरपालिकाका सामाजिक विकास शाखा संयोजक सेन्चुरीले बताए ।
निजी विद्यालयको छात्रवृतिमा कडाइ
समग्र शैक्षिक सुधारका लागि संस्थागत विद्यालयमा दिइने छात्रवृत्तिमा कडाइ गर्दै पारदर्शी बनाउने निर्णय नगरपालिकाले गरेको छ । निजी विद्यालयमा अध्ययन गरिरहेका २३ सय बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सुनिश्चित गरिएको वडा नं ६ का अध्यक्ष गणेश पाठकले बताए । ‘संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरणलाई थप व्यवस्थित बनाइएको छ, कुल २३ हजारभन्दा बढी विद्यार्थीमध्ये २३ सय भन्दा बढीले पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्’, वडाध्यक्ष पाठकले भने, ‘छात्रवृत्तिलाई पारदर्शी र लक्षित वर्गले पाउनुपर्ने नीति बनाउन धेरै मेहेनत र संघर्ष गर्नुपर्यो ।’
छात्रवृत्तिमा भर्ना शुल्क, मासिक शुल्क र यातायात खर्चसमेत समावेश हुनेछ । छात्रवृत्तिलाई समावेशी बनाउँदै जेहेन्दार, विपन्न, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक समुदायलाई प्राथमिकता दिइएको छ । छात्रवृत्तिमा पारदर्शिताका लागि पालिकाले आफैं प्रश्नपत्र तयार पार्नेलगायतका कार्यहरु गर्ने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।
यो पनि पढ्नुहोस्–
प्रतिक्रिया 4