+
+
Shares

प्रेमिकाको शरीरमा प्रेमीले बनाइदिए २५० ट्याटू, अन्तिममा ब्रेकअप

अनुहारका धेरैजसो दाग मेटिइसकेका छन् र उनी आफ्नो हराएको पहिचान पुनः फर्काउने प्रयासमा छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्यान्ड्सकी जोक नामकी महिलाको शरीरको ९० प्रतिशत भागमा पूर्वप्रेमीले जबरजस्ती २५० वटा ट्याटू बनाएका थिए।
  • पूर्वप्रेमीले मानसिक र शारीरिक हिंसा गर्दै ट्याटूहरू बनाएको र पीडितले प्रहरीमा उजुरी दिएको भए पनि कानुनी प्रमाणित गर्न कठिन भएको छ।

कुनै मान्छे आफ्नो पार्टनरप्रति कति हदसम्म क्रूर तथा अमानवीय हुन्छ र अधिकार जमाउन खोज्छ भन्ने कुरा नेदरल्यान्ड्सकी एक महिलाको कथाले देखाएको छ ।

जोक नामकी ती महिलाको शरीरको झण्डै ९० प्रतिशत भागमा उनका पूर्वप्रेमीले जबरजस्ती २५० वटा ट्याटू बनाइदिएका थिए । त्यस्ता ट्याटूहरू महिलाको अनुहार, घाँटी, छाती र संवेदनशील अंगहरूमा समेत बनाइएका थिए । त्यसमा धेरैजसो ती प्रेमीको नाम वा नामको अक्षर कुँदिएको थियो ।

जोकका अनुसार प्रेम सम्बन्धमा रहेको बेला उनी लामो समयसम्म मानसिक र शारीरिक हिंसाको शिकार भइन् । उनका पूर्वप्रेमीले सस्तो ट्याटू मेसिन प्रयोग गरेर प्रेमीको नाम अनि नामको अक्षरका ट्याटू बारम्बार महिलाको शरीरमा कुँदेका थिए । यस प्रक्रियामा प्रेमीले उनलाई धाकम्की तथा दबाब दिएका थिए ।

जोकलाई उनका पूर्वप्रेमीले लगातार धम्क्याउने, डर देखाउने र नियन्त्रणमा राख्ने गर्थे। समयसँगै उनी मानसिक रूपमा यति कमजोर भइन् कि उनले आफूलाई मदिरा र लागुऔषधको नशामा डुबाइन् । त्यस अवस्थामा उनी आफ्ना लागि आवाज उठाउनसमेत असमर्थ भइन् ।

यो घटनालाई केवल ट्याटू बनाएको घटना मात्र नभई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासको रूपमा लिइएको छ । नेदरल्याण्डस्थित ट्याटू रिग्रेट नामक संस्थासँग आबद्ध एन्डी हानका अनुसार ट्याटूहरू ती महिलाको शरीरका त्यस्ता भागहरूमा समेत बनाइएका थिए जहाँ अरू कसैले छोएको हुनसक्ने शंका ती पुरुषलाई थियो । जसले गर्दा घटनालाई अझ गम्भीर बनाएको छ ।

पीडितले प्रहरीमा उजुरी दिए पनि कानुनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको बताइएको छ । आरोपीले ती ट्याटूहरू सहमतिमै बनाइएको दाबी गरेका छन् । यसले अनुसन्धान प्रक्रियालाई जटिल बनाएको छ ।

यो दर्दनाक अवस्थाबीच ट्याटू रिग्रेट नामक संस्था जोकका लागि आशाको किरण बनेको छ । संस्थाले सहयोग अभियान चलाएर ३५ हजार डलरभन्दा बढी रकम संकलन गर्‍यो । अहिले जोकको उपचार भइरहेको छ र बिस्तारै उनको शरीरबाट ट्याटू हटाइँदै छन् ।

अनुहारका धेरैजसो दाग मेटिइसकेका छन् र उनी आफ्नो हराएको पहिचान पुनः फर्काउने प्रयासमा छिन् । उनले आफूजस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै गम्भीर आघातपछि पनि नयाँ सुरुवात सम्भव रहेको सन्देश दिएकी छिन्।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?