News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला भलिबल टिमले काभा महिला भलिबल च्याम्पियनसिप खेल्न लागेको छ, तर कप्तान अरुणा शाही अस्ट्रेलिया गएपछि नयाँ कप्तानको खोजी भइरहेको छ।
- अरुणा शाहीले सन् २०१९ देखि कप्तानी गर्दै नेपाललाई एसियाली खेलकुदमा पहिलोपटक सहभागी गराएकी थिइन्, तर अहिले टिमको नेतृत्वमा छैनन्।
- नेपाल भलिबल संघका अनुसार नयाँ कप्तान टिम छनोटपछि चयन गरिनेछ र मुख्य प्रशिक्षक जगदिश भट्टले अन्तिम टोली छनोट गरिसकेपछि निर्णय लिने बताउनुभएको छ।
६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले ठिक एक महिनापछि घरेलु कोर्टमा काभा महिला भलिबल च्याम्पियनसिप खेल्दैछ । तर नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै उपलब्धि दिलाउने टिमको नेतृत्व गर्दै सफल कप्तान बनेकी अरुणा शाही अस्ट्रेलिया लागेपछि अहिले नेपाली टिमको कप्तानी कसले गर्ला भन्ने कौतुहलता जागेको छ ।
काभा महिला भलिबलको लागि क्याम्पमा रहेका २० खेलाडीको सूचीमै अरुणा नरहेपछि नेपाली टिमले नयाँ कप्तान पाउने लगभग पक्का पक्की छ । अब घरेलु कोर्टमा नेपाली महिला टोलीको नेतृत्व कसले गर्ला ? यो अहिलेको मुख्य प्रश्न छ
अरुणाले सन् २०१९ देखि नेपाली महिला टिमको कप्तानी सम्हाल्दै नेपाललाई दक्षिण एसिया देखी सेन्ट्रल एसियासम्म ऐतिहासिक उपलब्धि दिलाइन् । उनकै कप्तानीमा नेपालले पहिलो पटक एसियाली खेलकुदमा समेत खेलेको थियो ।
तर करिब ७ वर्ष नेपाली टोलीको कप्तानी गरेपछि करियरको उत्तरार्धमा रहेकी अरुणा अहिले नेसनल टिमको सेटअपमै छैनन् । पछिल्लो समय नेपाली भलिबल खेलाडीको गन्तव्य पनि अस्ट्रेलिया बन्दै गर्दा अनुभवी खेलाडी विदेशिने क्रम जारी छ ।
कुनै बेलाका नेपाली टोलीका स्टार सरस्वती चौधरी, प्रतिभा माली जस्ता खेलाडी अहिले अस्ट्रेलियामै छन् । यस्तै पछिल्लो समय राष्ट्रिय टिममा खेल्दै आएका साफिया पुन र कविता भट्टले पनि विदेश नै रोजे ।

नेपाल भलिबल संघले काभा महिला भलिबलको लागि क्याम्प राख्नुअघि नै अरुणा फेरि अर्को प्रतियोगिताका लागि अस्ट्रेलिया गइन् । यस पटक अरुणाले भलिबल संघलाई कुनै जानकारी नदिई गएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले एनभीए लिगको पत्रकार सम्मेलन र एनभीए अवार्ड कार्यक्रममा बताएका थिए ।
अरुणाले यसपटक नवौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पनि खेलिनन् । उनी त्यसबेला पहिल्यै तय भएको एक प्रतियोगिताका लागि अस्ट्रेलिया गइन् । यस्तै क्याम्पमै रहेकी पुनम चन्द पनि क्याम्पकै बीचमा अस्ट्रेलियामा खेल्न गएकी छिन् ।
सन् २०१९ मा नेपाल भलिबल संघले महिला टिममा आमुल परिवर्तन गर्दै ६ पुराना खेलाडीको स्थानमा ६ नयाँ खेलाडी समावेश गरेको थियो । त्यसबेला सिनियर खेलाडीको रुपमा रहेका अरुणा प्रतिभा माली सरस्वती चौधरी जस्ता खेलाडीबाट अरुणालाई नयाँ कप्तान बनाइएको छ ।
सुरुमा अलराउण्डर खेल्ने अरुणाले २०१९ देखि कप्तानीसँगै नयाँ भूमिका सेटरको रुपमा खेलिन् र नेपाललाई दुई काभा उपाधि सहित विभिन्न प्रतियोगितामा पदकहरू दिलाइन् ।
त्यही समय नयाँ खेलाडीको रुपमा टिममा भित्रिएका खेलाडीहरू नै अहिले नेपाली राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् ।

कप्तानको दाबेदार को ?
टिमकै सिनियर खेलाडी, सफल कप्तान र सेटर अरुणा शाही नहुने भएपछि अहिले कप्तानको दाबेदार देखि नयाँ सेटरको लागि पनि केही दाबेदार खेलाडीहरू छन् ।
अरुणाले राष्ट्रिय टिममा कप्तानको जिम्मेवारी पाउँदा राष्ट्रिय टिममा इन्ट्री मारेका केही खेलाडी नै अहिले कप्तानको दाबेदारमा अघि छन् ।
सन् २०१९ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलका लागि नेपाली टोलीमा फेरबदल हुँदा अरुणा कप्तान बनिन् । त्यसबेला अरुणासँगै सुरस्वती, प्रतिभा, मनिषा जस्ता पुराना खेलाडी बाँकी थिए ।
सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सलिना श्रेष्ठ, जानकी भण्डारी र सफिया पुन जस्ता खेलाडी टिममा भित्रिएका थिए । यस्तै २०१९ कै १३औं सागमा उषा भण्डारीले पनि राष्ट्रिय टिममा डेब्यू गरिन् ।
निरुता, उषा, सलिना र पुनम अहिले राष्ट्रिय टिममा नियमित सदस्य छन् भने सुनिता र जानकी राष्ट्रिय टिमको सेटअपबाट बाहिरिसकेका छन् । साफिया विदेश लागिसकिन् ।

निरुताले बीचमा एक प्रतियोगिता गुमाएपनि निरन्तर सदस्य छिन् । सन् २०२३ मा चीनमा भएको १९औं एसियन गेम्समा पनि निरुता, उषा, सलिना लगायतले खेलेका थिए ।
यस्तै सन् २०२१ मा भएको एभिसी महिला च्यालेन्ज कप भलिबलमा कामना विष्ट, लक्ष्मी चन्द र शान्ति थारुले राष्ट्रिय टिममा स्थान बनाएका थिए ।
त्यसपछि प्रगति नाथ, रिमा कुँवर, सुनिता रेग्मी, आरती सुवेदी जस्ता खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।
यी खेलाडीमध्ये अहिले कप्तानको सम्भावित दाबेदारमा निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ छिन् । तीनै खेलाडीले घरेलु महिला भलिबलमा फ्रेन्चाइज टोलीको कप्तानी गरिसकेका छन् । तीनै खेलाडीले सन् २०१९ मा नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।
न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको कप्तानी गरिरहेकी लिबेरो सलिनाको कप्तानीमा ललितपुर क्विन्स दुई पटक एभरेष्ट महिला भलिबल लिगको फाइनलमा पुगेको थियो ।

यस्तै फ्रेन्चाइज लिगमा कर्णाली यशविसलाई लगातार दुई पटक च्याम्पियन बनाएकी सुमित्रा रेग्मी पनि छोटो समयमै नेपाली भलिबलमा सफल खेलाडी बनिसकेकी छिन् ।
यसबाहेक सेटर प्रगति नाथले पनि फ्रेन्चाइज टिमको कप्तानी गरिसकेकी छिन् । तर अहिलेको मुख्य प्रश्न भनेको नेपालको नयाँ कप्तान को बन्छ भन्ने नै छ ।
जसरी यसअघि विनिता बुढाथोकीसहित सिनियर खेलाडीलाई हटाउँदा अरुणा नयाँ कप्तान बनेकी थिइन् । यसपटक भने अरुणा आफैं विदेश जाँदा नेपाल भलिबल संघले नयाँ कप्तान छान्नुपर्ने अवस्था छ ।
यसपटक नेपालको मुख्य प्रशिक्षकको जिम्मा नेपालका सफल भलिबल प्रशिक्षक जगदिश भट्टको काँधमा छ । भट्टले काभाको लागि अन्तिम टिम छनोट गरिसकेपछि मात्रै कप्तान चयन गरिने जानकारी दिए । अन्तिम टोलीमा छनोट भएका खेलाडीमध्येबाट नै कप्तान छनोट हुनेछ ।
यस विषयमा यस्तै नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया 4