News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको सिमाना खोरुङ्वा खोलाको किनारमा काठकुंदने परम्परागत सिप जीवित छ।
- कुमार विकले स्थानीय प्रविधि प्रयोग गरी काठका परम्परागत सामग्री उत्पादन गर्दै आएका छन् र बजार विस्तार गर्दै छन्।
- परम्परागत काठकुंदने सिप संरक्षणका लागि संरचनागत पहल र युवालाई आकर्षित गर्ने योजना आवश्यक छ।
६ वैशाख, तेह्रथुम । बिहानको पहिलो घामले पहाडका काख उज्यालो पार्दै गर्दा खोरुङ्वा खोलाको किनारमा एउटा फरक दृश्य देखिन्छ ।
पानीको सुस्केरा, चिसो हावाको स्पर्श र काठमा ठोक्किने औजारको ताल मिलेर यहाँ श्रमको जीवित संगीत बजिरहेको हुन्छ । यही संगीतसँगै केही हातहरू आफ्नो जीवन, सपना र भविष्य काठमा कुँदिरहेका हुन्छन्– निरन्तर, निःस्वार्थ र मौन ।
तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको सिमाना खोरुङ्वा खोला किनारमा बिहानको पहिलो घामसँगै एउटा अलग संसार जाग्छ ।
थाक लगाइएका काठका मुढा, तिनलाई आकार दिने हातहरू र दिनभरि चलिरहने सिपको अभ्यास– यी सबै मिलेर एउटा जीवित परम्पराको कथा भन्छन् । यही परिवेशमा विगत दुई दशकभन्दा बढी समयदेखि आफ्नो जीवन काठसँगै गाँस्दै आएका छन्, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका कुमार विक ।
उनका लागि काठ केवल कच्चा पदार्थ होइन, सम्भावनाको स्रोत हो । खोलाको पानीको बहावलाई उपयोग गरेर मोटर चलाउँदै काठ कुँद्ने उनको तरिका स्थानीय प्रविधिको उत्कृष्ट उदाहरण हो । सीमित स्रोत–साधनका बीच पनि सिर्जनात्मक सोच र अभ्यासले कसरी उत्पादनशील काम गर्न सकिन्छ भन्ने उनीबाट सिक्न सकिन्छ ।
कुमार बिहान झिसमिसेदेखि बेलुकीसम्मै काठसँगै रमाइरहेका हुन्छन्, कहिले खोप्दै, कहिले घोट्दै, कहिले नयाँ आकार दिँदै । यही निरन्तर अभ्यासले उनलाई जिल्लामै निपूर्ण काठ कुद्ने हस्तकर्मीको रूपमा चिनाएको छ ।
उनका हातबाट निस्किने सामग्रीहरू ग्रामीण जीवनशैलीसँग गहिरो रूपमा गाँसिएका छन् । दूध जमाउने ठेकी, तेल राख्ने चौथा, तोङ्वा राख्ने भाँडा, खुर्पेटा जस्ता सामग्रीमा दैनिक प्रयोगको आवश्यकता मात्र होइन, सांस्कृतिक पहिचान पनि जोडिएको छ ।
विशेषगरी तोङ्वासँग सम्बन्धित सामग्रीहरूको माग अझै पनि बलियो छ, किनकि यसले पूर्वी पहाडी समाजको जीवनशैली र आतिथ्य संस्कृतिलाई झल्काउँछ ।
यही कारणले उनका उत्पादनहरू स्थानीय बजारबाट सुरु भएर ताप्लेजुङको फुङलिङ हुँदै तराईका विभिन्न ठाउँसम्म पुगिरहेका छन् । फोनमार्फत अर्डर आउने क्रम बढ्दै जाँदा बजारको पहुँच विस्तार भएको छ र यही पेसाबाट आएको आम्दानीले उनको परिवारलाई स्थायित्व दिएको छ ।
तर, यो यात्रामा चुनौतीहरू पनि कम छैनन् । समयसँगै प्लास्टिक, स्टिल र अन्य आधुनिक सामग्रीहरूको प्रयोग बढ्दै जाँदा काठका परम्परागत सामग्रीहरूको प्रयोग घट्दै गएको छ । सस्तो, सजिलो र टिकाउ विकल्पको रूपमा आएका यी सामग्रीले पुराना सिपलाई ओझेल पारिरहेका छन् । त्यसमाथि, गाउँका युवा पुस्ता रोजगारीको खोजीमा शहर वा विदेशतिर लाग्ने क्रम तीव्र छ । यसले गर्दा परम्परागत पेसा सिक्ने र निरन्तरता दिने जनशक्ति झन् घट्दै गएको छ ।

कुमार विक जस्ता अनुभवी हस्तकर्मीपछि नयाँ पुस्ताले यस्ता सिपप्रति रुचि नदेखाउने हो भने वर्षौंदेखि सञ्चित ज्ञान, अभ्यास र अनुभवसँगै यो पेसा हराउने खतरा छ । कुमार आफैंलाई पनि यही चिन्ताले सताइरहेको छ ।
पुस्तान्तरणका लागि केवल व्यक्तिगत प्रयास पर्याप्त हुँदैन, संरचनागत पहल आवश्यक हुन्छ । गाउँमै सिपमूलक तालिम सञ्चालन गर्ने, विद्यालय स्तरदेखि नै स्थानीय पेसा र सिपसँग विद्यार्थीलाई परिचित गराउने र युवाहरूलाई आर्थिक रूपमा आकर्षित गर्ने योजना ल्याउने काम जरुरी देखिन्छ ।
साथै, परम्परागत सिपलाई आधुनिक डिजाइन, बजार र प्रविधिसँग जोड्न सके यसले नयाँ पुस्तालाई पनि आकर्षित गर्न सक्छ । उदाहरणका लागि, काठका सामग्रीलाई आधुनिक जीवनशैलीअनुसार परिमार्जन गरेर बजारमा ल्याउन सकियो भने यसको माग अझै बढ्न सक्छ ।
यससँगै, ग्रामीण पर्यटनसँग यस्ता सिपलाई जोड्ने सम्भावना पनि उत्तिकै बलियो छ । पर्यटकहरूलाई स्थानीय उत्पादन, हस्तकला र निर्माण प्रक्रियासँग प्रत्यक्ष अनुभव गराउने व्यवस्था गर्न सकियो भने यसले आम्दानीको नयाँ ढोका खोल्न सक्छ ।
हातले बनाएको र स्थानीय उत्पादनप्रति बढ्दो आकर्षणले पनि यस्तो पेसालाई पुनर्जीवित गर्ने आधार तयार गरिरहेको छ । कुमार विकका हातहरूले कुँदिरहेका प्रत्येक आकृतिमा आत्मनिर्भरता र पहिचानको गहिरो अर्थ लुकेको छ ।
उनी केवल काठका सामग्री बनाइरहेका छैनन्, एउटा परम्परा जोगाइरहेका छन, एउटा जीवनशैली बचाइरहेका छन् र भावी पुस्ताका लागि एउटा सन्देश छोडिरहेका छन्– मिहिनेत, सिप र समर्पणले आफ्नै माटोमा पनि भविष्य निर्माण गर्न सकिन्छ ।
यदि समयमै यस्ता सिपहरूको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा ध्यान दिइयो भने खोरुङ्वा खोलाको किनारमा बज्ने यो श्रमको संगीत कहिल्यै रोकिँदैन । बरु, अझ धेरै हातहरूबाट यो धुन विस्तार हुँदै जानेछ, जसले परम्परा र आधुनिकताको सुन्दर संगम सिर्जना गर्नेछ ।
प्रतिक्रिया 4