News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्ताङको कागबेनी–छुसाङ खण्डमा कालिगण्डकी करिडोरअन्तर्गत सडक स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ।
- कोरला नाका जोड्ने उक्त सडकको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- सडक निर्माणमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाइसकिएको छ।
६ वैशाख, मुस्ताङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ ।
हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो ।
नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ–४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।
नेपाल–चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सोही लक्ष्यलाई अघि बढाउनका लागि गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो ।
मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।
ठेक्का सम्झौताअनुसार कागबेनी–छुसाङ सडक विसं २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति कार्य चालु आवको साउनदेखि सुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उनले बताए ।
आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको बताए । उनका अनुसार निर्माणाधीन कागबेनी–छुसाङ खण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । करिब ११ मिटर चौडा सडक रहने गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिने उनले जानकारी दिए ।
कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे क्षेत्रमा कालोपत्र सडक स्टक्चरको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिए ।
सडक स्तरोन्नतिका लागि उक्त खण्डमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाउने कार्य सकिएको उहाँले बताए ।
सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण, ग्याबिनवाल र रेटेर्निङ वाललगायत काम भइरहेको छ ।
इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी–तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए । उनका अनुसार कागबेनी–छुसाङ सडकको कामलाई तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन भइसकेको छ ।
‘सडकको स्टक्चर निर्माण तथा कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था गरिसकेका छौं, जतिसक्दो छिटो निर्माणलाई तीव्रता दिइनेछ’, प्रतिनिधि श्रेष्ठले भने, ‘हिउँदयाममा चिसोका कारण काम गर्न सकिँदैन, यहाँ काम गर्ने भनेको सात महिना मात्रै हो ।’
यहाँको बारागुङ मुक्तिक्षेत्र–३ स्थित कागबेनी–छुसाङ सडकखण्डमा गत असार र साउन महिनाको बाढीपहिरोले आशिंक क्षति पुर्याएको थियो । बाढीपहिरोले उक्त सडकको केही स्थान भाँसिएकोे छ भने केही स्थानमा सडकको बेसमा क्षति पुगेको छ ।
नेपाल–चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यसहित छुसाङ–घमी र घमी–कोरला खण्डलाई दुई चरणमा गरी प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडकमा कालोपत्रका लागि बजेट विनियोजन हुन सकेमा उपल्लो मुस्ताङको सडकमार्ग निकै सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे ।
आयोजनाले छुसाङ–कोरला सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न करिब पाँच अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ ।
प्रतिक्रिया 4