News Summary
Generated by OK AI. Editorially reviewed.- पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्समाथि ५४ रनले जित निकाल्दै अपराजित यात्रा जारी राखेको छ।
- पन्जाबले २५४ रन बनाएको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा २०० रन मात्र बनाएको छ।
- पन्जाब ६ खेलमा ११ अंकसहित शीर्षस्थानमा छ भने लखनउ ४ अंकसहित आठौं स्थानमा छ।
६ वैशाख, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको शानदार जित निकाल्दै पन्जाब शीर्षस्थानमा यथावत् रहेको हो ।
मुल्लानपुरमा पन्जाबले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनायो । कप्तान रिषभ पन्तले सर्वाधिक ४३ रन बनाए भने एइडेन मार्क्रमले ४२ रन बनाए ।
पन्जाबका लागि मार्को यानसेनले २ विकेट लिए भने अर्शदीप सिंह, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले प्रियान्श आर्या र कूपर कोनोलीको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
आर्याले ३७ बलमा ९३ रनको शानदार पारी खेले । उनले ४ चौका र ९ छक्का हिर्काए । यस्तै कोनोलीले ४६ बलमा ८ चौका र ७ छक्कासहित ८७ रन बनाए । ३ रनमै पहिलो विकेट गुमेपछि यी दुई मिलेर दोस्रो विकेटका लागि १८२ रनको साझेदारी गरेका थिए ।
यद्यपी दुवै ब्याटर शतकको नजिक पुगेर चुके । मार्कस स्टोइनिसले २९ तथा शशांक सिंहले १७ रन बनाए । नेहाल वधेराले १३ रन बनाए ।
लखनउका प्रिन्स यादव र मनिमरन सिद्धार्थले २-२ विकेट लिए भने मोहम्मद शामी र मोहसिन खानले १-१ विकेट लिए ।
योसँगै ६ खेलमा पाँचौं जित निकालेको पन्जाब ११ अंकका साथ शीर्षस्थानमा यथावत् छ । पराजित लखनउ ६ खेलमा ४ अंक जोडेर आठौं स्थानमा छ ।
प्रतिक्रिया 4